
चीनमा १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)को उद्घाटन शनिबार हुँदै छ । उद्घाटनअगाडि पुरुष फुटबल, महिला क्रिकेट र पुरुष भलिबल प्रतियोगिताका खेल सुरु भइसकेका छन् । नेपाल पुरुष भलिबलतर्फ लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
चीनले सन् २०१० पछि प्रतियोगिता आयोजना गर्न लागेको हो । दक्षिण एसियाली राष्ट्र भारतले सन् १९५१ मा पहिलोपटक प्रतियोगिताको पहिलो संस्करण आयोजना गरेको थियो । पहिलो संस्करणमा ६ खेलमा खेलाडीले भाग लिए । यसपटक चीनको हाङ्झाउ सहरमा हुने एसियाडमा ४५ देशका खेलाडीले ४० खेलमा चार सय ८१ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।
कोभिडका कारण प्रतियोगिता निर्धारित समयभन्दा एक वर्षपछि हुन गइरहेको छ । तेस्रोपटक प्रतियोगिता आयोजना गर्न अवसर पाएको चीनले अहिलेसम्म सर्वाधिक एक हजार चार सय ७३ स्वर्ण जितेको छ । नेपालले पहिलो संस्करणदेखि नै प्रतियोगितामा भाग लिएको छ । नेपालले सन् १९८६ को दक्षिण कोरियाको सोलमा भएको १०औँ एसियाडमा पहिलोपटक पदक जितेको थियो ।
१. सन् १९५१ नयाँदिल्ली (भारत)
एसियाली राष्ट्रहरूको मिनी ओलम्पिक मानिने एसियाडको पहिलो संस्करण भारतमा भएको थियो । सन् १९५१ मा तत्कालीन एसियन गेम्स फेडेरेसनले भारतलाई एसियाड आयोजना गर्ने अवसर दियो । सन् १९८२ देखि ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले एसियाड गरिरहेको छ । भारतले तयारीमा ढिलो गर्दा निर्धारित समयभन्दा एक वर्षपछि प्रतियोगिताको आयोजना गर्यो । पहिलो संस्करणमा ११ राष्ट्रका खेलाडीले भाग लिए । नेपालले समेत डेब्यु गरेको एसियाडमा विभिन्न ६ खेलमा एक सय ६९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गरे । जापानले सर्वाधिक २४ स्वर्ण जित्यो । भारत १५ स्वर्णसहित दोस्रो भयो ।
२. सन् १९५४ मनिला (फिलिपिन्स)
फिलिपिन्सको मनिलामा १९५४ मे १ देखि ९ सम्म दोस्रो संस्करण भयो । यसपटक खेलाडीले आठ खेलमा भाग लिए । मनिलामा १९ राष्ट्रका नौ सय ७० खेलाडी दुई सय २९ पदकका लागि भिडे । लगातार दोस्रोपटक पनि पदक तालिकाको शीर्ष स्थानमा रहेको जापानले सर्वाधिक ३८ स्वर्ण जित्यो । फिलिपिन्स १८ स्वर्णका साथ दोस्रो भयो ।
३. १९५८ टोकियो (जापान)
जापानको टोकियोमा सन् १९५८ मे २४ देखि जुन १ सम्म भएको तेस्रो संस्करणमा २० राष्ट्रका एक हजार आठ सय २० खेलाडीले भाग लिएका थिए । आयोजक जापानले यसपटक चार खेल थप गरेको थियो । खेलाडीले १२ खेलमा तीन सय ५० पदकका लागि प्रतिस्पर्धा गरे । जापानले लगातार तेस्रोपटक पदक तालिकाको शीर्ष स्थानमाथि कब्जा जमायो । जापानले ६७ स्वर्ण हात पारेको थियो ।
४. सन् १९६२ जाकार्ता (इन्डोनेसिया)
इन्डोनेसियाले भौतिक पूर्वाधारमा सुधार गरेपछि सन् १९६२ अगस्ट २४ देखि सेप्टेम्बर ४ सम्म चौथो संस्करणको एसियाड आयोजना गर्न अवसर पायो । यसपटक एक खेल मात्र थप हुँदा १३ खेलमा खेलाडीले तीन सय ७२ पदकका लागि प्रतिस्पर्धा गरेका थिए । जाकार्ताको मुख्य रंगशाला बुङ कार्लो रंगशालामा उद्घाटन र समापन भएको थियो । १७ राष्ट्रबाट एक हजार चार सय ६० खेलाडी सहभागी थिए । जापान ७३ स्वर्णका साथ शीर्ष स्थानमा रह्यो । आयोजक इन्डोनेसिया ११ स्वर्णका साथ दोस्रो स्थानमा रह्यो ।
सन् १९५१ को पहिलो एसियाडदेखि सहभागी नेपालले १०औँ संस्करणमा आएर पदक जितेको थियो । तेक्वान्दोकी सविता राजभण्डारीले सन् १९९८ मा नेपाललार्ई पहिलोपटक रजतपदक दिलाएकी थिइन् । पाँच वर्षअघि इन्डोनेसियामा प्याराग्लाइडिङको टिम इभेन्ट्समा नेपाली टोलीले दोस्रोपटक रजत हात पार्यो ।
५. सन् १९६६ बैंकक (थाइल्यान्ड)
थाइल्यान्डका राजा भुमिबोलले सन् १९६६ डिसेम्बर ९ मा एसियाडको उद्घाटन गरेका थिए । २० डिसेम्बरसम्म बैंककमा चलेको एसियाडमा १८ राष्ट्रका एक हजार नौ सय ४५ खेलाडीले भाग लिए । पाँचौँ संस्करणमा १४ खेलमा चार सय ६० पदकका लागि प्रतिस्पर्धा भएको थियो । जापान ७८ स्वर्णका साथ शीर्ष स्थानमा रह्यो । दक्षिण कोरिया १२ स्वर्ण जित्दै दोस्रो भयो । समान १२ स्वर्ण जितेको थाइल्यान्ड रजतमा पछि पर्दा तेस्रो भयो ।
६. सन् १९७० बैंकक (थाइल्यान्ड)
एसियाडको इतिहासमा ब्याक टु ब्याक प्रतियोगिता आयोजना गर्ने थाइल्यान्ड पहिलो राष्ट्र हो । दक्षिण कोरियाले छैटौँ संस्करण गर्नुपर्ने थियो । तर, दक्षिण र उत्तर कोरियाबीचको अन्तरिक द्वन्द्वसँगै सुरक्षा व्यवस्थामा प्रश्न उठेपछि थाइल्यान्डले प्रतियोगिता आयोजना गर्यो । यसपटक १५ खेलमा खेलाडीहरूले चार सय २३ पदकका लागि भिडे । १८ राष्ट्रका २४ सय खेलाडीले भाग लिए । पुनः एकपटक जापान ७४ स्वर्णका साथ शीर्ष स्थानमा रह्यो ।
७. सन् १९७४ तेहरान (इरान)
पहिलोपटक एसियन खेलकुद मध्यपूर्वी एसियामा भयो । इरानको तेहरानमा सन् १९७४ सेप्टेम्बर १ देखि १६ सम्म प्रतियोगिता आयोजना भयो । इरानका मोहमद रेजाले प्रतियोगिताको उद्घाटन गरेका थिए । सातौँ संस्करणमा १८ खेलमा ६ सय नौ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गरेका थिए । लगातार जापानले पदक तालिकामा एकछत्र राज गर्दै ७५ स्वर्णका साथ शीर्ष स्थानमा रह्यो । आयोजक इरान दोस्रो स्थानमा रहँदा ३६ स्वर्ण हात पारेको थियो ।
८. सन् १९७८ बैंकक (थाइल्यान्ड)
त्यसवेला पूर्वी एसियामा भौतिक, आर्थिक तथा खेलकुद संरचनामा थाइल्यान्ड निकै बलियो देखियो । थाइल्यान्डले आठ वर्षपछि एसियाड आयोजना गर्दै ह्याट्रिक गर्यो । छोटो समयमै तेस्रोपटक प्रतियोगिता आयोजना गर्न अवसर पाउने थाइल्यान्ड पहिलो राष्ट्र हो । यसअघि सिंगापुरले प्रतियोगिता आयोजना गर्ने भनिएको थियो । तर, सिंगापुरमा पनि सुरक्षाका कारण प्रतियोगिता गर्न नमिलेपछि छिमेकी राष्ट्र थाइल्यान्डले आयोजना गर्ने अवसर पायो । यसपटक १९ खेलमा खेलाडीहरूले ६ सय २६ पदकका लागि प्रतिस्पर्धा गरे । प्रतियोगितामा २५ राष्ट्रका तीन हजार आठ सय ४२ खेलाडीले सहभागिता जनाए । जापान ७० स्वर्णका साथ शीर्ष स्थानमा रह्यो ।
९. सन् १९८२ नयाँदिल्ली (भारत)
इतिहासमै पहिलोपटक आयोजना गरेको भारतलाई दोस्रोपटक प्रतियोगिता गर्ने अवसर ३१ वर्षपछि जु¥यो । भारतले सन् १९८२ नोभेम्बर १९ देखि डिसेम्बर ४ सम्म नयाँदिल्लीमै एसियाड गर्यो । प्रतियोगितामा २१ खेलमा चार हजार पाँच सय ५९ खेलाडीले भाग लिएका थिए । ३३ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्दा गल्फ, ह्यान्डबल, हर्स राइडिङ र रोविङ नयाँ खेलका रूपमा रह्यो । लगातार आठौँ संस्करणसम्म पदक तालिकाको शीर्ष स्थानमा रहेको जापानको आधिपत्यलाई चीनले तोडेको थियो । चीन सर्वाधिक ६१ स्वर्णका साथ शीर्ष स्थानमा रह्यो । पहिलोपटक दोस्रो स्थानमा झरेको जापानले ५७ स्वर्ण हात पारेको थियो ।
१०. सन् १९८६ सोल (दक्षिण कोरिया)
अघिल्लोपटक प्रतियोगिता आयोजना गर्नबाट वञ्चित भएको दक्षिण कोरियाले सन् १९८६ को सेप्टेम्बर २० देखि अक्टोबर ५ सम्म दशौँ संस्करण गर्यो । २७ राष्ट्रका खेलाडीले २४ खेलमा आठ सय ४८ पदकका लागि प्रतिस्पर्धा गरेका थिए । यसपटक चार हजार आठ सय ३९ खेलाडीले भाग लिए । चीनले पदक तालिकामा लगातार दोस्रोपटक आफ्नो प्रभुत्व देखायो । चीनले सर्वाधिक ९४ पदक जित्यो । राम्रो तयारी गरेको दक्षिण कोरिया ९३ स्वर्णका साथ दोस्रो स्थानमा रह्यो । जापान पहिलोपटक शीर्ष दुईको रेसबाट टाढियो । अस्वाभाविक रूपमा नेपालले यसै एसियाडमा पहिलोपटक पदक जित्यो । बक्सिङ र तेक्वान्दोका खेलाडीले नेपाललाई पदक दिलाए ।
११. १९९० बेइजिङ (चीन)
एसियाली खेलकुद चीनले आयोजना गर्दा धेरैजसोले विरोध नै गरेका थिए । चीनले सन् १९९० को सेप्टेम्बर २२ देखि अक्टोबर ७ सम्म बेइजिङमा एसियाड आयोजना ग¥यो । यसपटक २७ खेलमा सर्वाधिक ३६ राष्ट्रका ६ हजार एक सय १२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । चीनले बेसबल र सफ्ट टेनिसलाई प्रदर्शनी खेलमा राखेको थियो । चीनले घरमै आयोजना गरेको प्रतियोगितामा सर्वाधिक एक सय ८३ स्वर्ण जितेको थियो ।
१२. सन् १९९४ हिरोसिमा (जापान)
सन् १९६४ पछि जापानले दोस्रोपटक एसियाड आयोजना गर्न ३० वर्ष प्रतीक्षा गर्यो । जापानले प्रतियोगिताको आयोजना दोस्रो विश्वयुद्धमा ध्वस्त भएको सहर हिरोसिमामा गरेको थियो । जापानले सन् १९९४ अक्टोबर २ देखि १६ सम्म आयोजना गरेको प्रतियोगितामा ४२ राष्ट्रका ६ हजार आठ सय २८ खेलाडी सहभागी थिए । ३४ खेलमा सर्वाधिक एक हजार ७९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गरे । चीनले लगातार शीर्ष स्थानमाथि कब्जा जमाउँदै एक सय २६ स्वर्ण जित्यो ।
१३. सन् १९९८ बैंकक (थाइल्यान्ड)
एसियाडको इतिहासमा चारपटक प्रतियोगिता गर्न अवसर पाउने पहिलो राष्ट्र थाइल्यान्ड हो । थाइल्यान्डले दुई दशकपछि १३औँ संस्करण आयोजना गर्दा ३६ खेल समावेश गरेको थियो । सन् १९९८ डिसेम्बर ६ देखि २० सम्म बैंककमा आयोजना भएको एसियाडमा ४१ राष्ट्रका ६ हजार पाँच सय ५४ खेलाडीले प्रतिस्पर्धा गरे । खेलाडीले एक हजार दुई सय २५ पदकका लागि प्रतिस्पर्धा गरे । चीनले पदक तालिकामा सर्वाधिक एक सय २९ स्वर्ण जित्यो ।
१४. सन् २००२ बुसान (दक्षिण कोरिया)
दक्षिण कोरियाले बुसानलाई आधुनिक सहरका रूपमा परिचित गराउन एसियाड आयोजना गरेको थियो । सन् २००२ सेप्टेम्बर २९ देखि अक्टोबर १४ सम्म बुसानमा आयोजना भएको एसियाडमा ३८ खेलमा ४४ राष्ट्रका सात हजार सात सय ११ खेलाडीले भाग लिएका थिए । कोरियाले प्रतियोगितामा चार सय १९ इभेन्ट राखेको थियो । यसटक खेलाडीहरूले एक हजार तीन सय ५० पदकका लागि प्रतिस्पर्धा गरेका थिए । चीनले सर्वाधिक १५० स्वर्ण हात पारी शीर्ष स्थानमाथि कब्जा जमायो ।
१५. सन् २००६ दोहा (कतार)
पूर्वी मध्यएसियामा दोस्रोपटक एसियाड आयोजना गर्न तीन दशकभन्दा बढी समय लाग्यो । कतारको दोहामा सन् २००६ को १ डिसेम्बरदेखि १६ सम्म प्रतियोगिता आयोजना भएको थियो । दोहा एसियाडमा ओलम्पिक काउन्सिल अफ एसियामा आबद्ध सबै ४५ राष्ट्रले भाग लिए । यसपटक खेलसँगै खेलाडी संख्या पनि बढ्यो । ९ हजार पाँच सय २० खेलाडीले ३९ खेलमा एक हजार तीन सय ९३ पदकका लागि भाग लिए । चीनले सर्वाधिक एक सय ६५ स्वर्ण जित्यो । नेपालका दीपक विष्टले ब्याक टु ब्याक कांस्य पदक जित्दै नेपाली खेलकुदमा इतिहास बनाए ।
१६. सन् २०१० ग्वाङझाउ (चीन)
चीनले २० वर्षपछि पुनः एकपटक एसियाड आयोजना गर्न अवसर पायो । १६औँ संस्करणको आयोजक राष्ट्र बनेको चीनले प्रतियोगिता औद्योगिक सहर ग्वाङझाउमा सन् २०१० को नोभेम्बर २ देखि ११ सम्म ग¥यो । यसपटक ४२ खेलमा एक हजार पाँच सय ७७ पदकका लागि ४५ राष्ट्रका नौ हजार सात सय ४ खेलाडीले भाग लिए । आयोजक चीनले शीर्ष स्थानमा रहँदा एक सय ९९ स्वर्ण जित्यो ।
१७. सन् २०१४ इन्चोन (दक्षिण कोरिया)
दक्षिण कोरियाको इन्चोनमा १७औँ एसियाड भयो । कोरियाले सन् २०१४ सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म प्रतियोगिता आयोजना गर्दा ४५ राष्ट्रका नौ हजार पाँच सय एक खेलाडीले भाग लिए । यसपटक ३६ खेलमा एक हजार चार सय ५४ पदकका लागि प्रतिस्पर्धा भयो । अघिल्लो संस्करणको तुलनामा चीनको स्वर्ण संख्या कम हुँदा पनि शीर्ष स्थानमै रह्यो । चीनले सर्वाधिक एक सय ५१ स्वर्ण हात पार्यो ।
१८. सन् २०१८ जाकार्ता (इन्डोनेसिया)
सन् १९६२ पछि इन्डोनेसियाले दोस्रोपटक एसियाड आयोजना गर्न अवसर पायो । इन्डोनेसियाले पहिलोपटक दुई सहरमा प्रतियोगिता आयोजना गरेको थियो । १८औँ संस्करण सन् २०१८ अगस्ट १८ देखि सेप्टेम्बर २ सम्म भएको थियो । यसपटक ४० खेलमा ४५ राष्ट्रका खेलाडीले चार सय ६५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । चीनले शीर्ष स्थानमा रहन सर्वाधिक एक सय ३२ स्वर्ण जित्यो । पदक तालिकामा जापान दोस्रो र दक्षिण कोरिया तेस्रो भयो । आयोजक इन्डोनेसिया चौथो भयो । नेपालले २० वर्षपछि एसियाडमा दोस्रोपटक रजत जित्यो । प्याराग्लाइडिङको क्रसकन्ट्रीको टिम इभेन्टमा नेपालले रजत जितेको थियो ।