अमृतसरमा एक अनुभवी चिकित्सक बस्थे । उनी आफ्नो पेसाप्रति निकै इमानदार पनि थिए । एकपटक उनी गुरु गोविन्दसिंहको दर्शनका लागि आनन्दपुर पुगे । गुरुले उनलाई एक गुरुमन्त्र दिँदै भने– जाऊ, दीनदुःखीको सेवा गर । अन्य कुनै पनि कर्मभन्दा ठूलो र प्राथमिक दायित्व सेवा नै हो । यसैबाट जीवनमा सुखको द्वार खुल्छ । उनी घर फर्किए । पुनः चिकित्साकर्ममा संलग्न भए ।
जतिखेर जहाँबाट जस्तो अवस्थामा बिरामी आए पनि उनी आफ्नो धर्म सम्झेर सेवा गर्न तत्पर रहन्थे । सबैको प्रेमपूर्वक उपचार गर्थे । एकदिन बिहान सबेरै ती चिकित्सक पूजापाठ सकेर ध्यानमा बसेका थिए । गुरु गोविन्दसिंह उनलाई भेट्न भनी आनन्दपुरबाट उनको घरमै आइपुगे ।
उनी चुपचाप चिकित्सक ध्यानमा बसेको स्थानमै पुगे । चिकित्सकले गुरु आएको थाहा पाएनन् । उनी ध्यानमै लीन भइरहे । केहीबेरपछि बाहिरबाट कसैले उनको नाम लिएर बोलाए । आगन्तुकको आवाजले चिकित्सकको ध्यान टुट्यो । आगन्तुकले भने– काका गम्भीर बिरामी हुनुभएको छ । हजुरलाई लिन आएको छु । तत्काल जानुपर्यो हजुर !
चिकित्सकले आफ्नो अघिल्तिर गुरुलाई पाए । उनलाई विश्वासै भएन । जब, गुरु साँच्चै घरमै आएको विश्वास भयो, उनले गुरुलाई प्रणाम गरे । यति टाढाबाट आफैँलाई भेट्न आएका गुरुको स्वागत, सत्कार र खातिरदारी गर्नु कि बिरामीको उपचारमा जानु ? उनी धर्मसंकटमा परे । तर, एकैछिनमा उनले गुरुले दिएको मन्त्र सम्झिए ।
गुरुले भनेका थिए– दीनदुःखीको सेवा नै प्राथमिक दायित्व हो । त्यसैले, उनी गुरुसित अनुमति लिएर आगन्तुकसित गए । बिरामीको उपचार गरेर फर्किंदा केही घन्टा बितिसकेको थियो । गुरु उनलाई पर्खिरहेका थिए । घर पुगेपछि उनी गुरुको चरणमा परे । समय दिन नसकेकोमा माफी मागे ।
गुरुले उनलाई अँगालो हालेर हर्षित हुँदै भने– यसैगरी दीनदुःखी र बिरामीको सेवा नै गुरुको असली सेवा हो । शिष्यको यस्तो कर्मले नै गुरुलाई अधिक खुसी दिन्छ ।