१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १o:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बाँकेमा बन्यो तीन हजार क्षमताको कारागार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १o:१o:oo

बाल सुधारगृह सञ्चालन गर्न सरकारले दियो स्वीकृति

बैजनाथ गाउँपालिका– ३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागारलाई नेपाल सरकारले बाल सुधारगृह स्थापना तथा सञ्चालन गर्न स्वीकृति दिएको छ । पहिलो चरणको संरचना निर्माण पूरा भएको एक वर्षपछि क्षेत्रीय कारागारलाई बाल सुधारगृह स्थापना तथा सञ्चालन गर्न स्वीकृति दिएको हो । 

करिब नौ बिघा क्षेत्रफलमा फैलिएको उक्त कारागार तीन हजार कैदी अट्ने क्षमताको छ । भ्याटबाहेक ४६ करोड ४४ लाख ७० हजार सात सय ९५ रुपैयाँ लागतमा सम्झौता भएकोमा कुल ४६ करोड २२ लाख सात हजार ६ सय ७६ रुपैयाँमा निर्माण सम्पन्न भएको भवन डिभिजन कार्यालय नेपालगन्जका प्रमुख विजयकेशर खनालले जानकारी दिए । उक्त भौतिक संरचना इलाका प्रहरी कार्यालय चिसापानीले रेखदेख गर्दै आएको छ । दिउँसोको समयमा एकजना र रातको समयमा दुईजना प्रहरीले ड्युटी दिँदै आएको सुरक्षार्थ खटिएका एक प्रहरीले बताए । 

८ कात्तिक ०७३ मा सम्झौता भई २३ कात्तिक ०७९ मा निर्माण सम्पन्न भएको उक्त कारागारमा कैदीबन्दीका लागि आठवटा ब्लक निर्माण गरिएको छ । त्यसैगरी, कैदीबन्दीका लागि चारवटा वर्कसप, चार किचेन तथा डाइनिङ, चार शौचालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि एक–एकवटा भवन, १० वटा सेन्ट्री पोस्ट, चार भिजिटर ब्लक र एउटा भेटघाट भवन निर्माण गरिएको छ । 

सुरक्षाका लागि अग्लो पर्खाल र खानेपानी ट्यांकी पनि निर्माण भएको छ । पहिलो चरणमा कैदीबन्दी राख्न मिल्ने भौतिक संरचना निर्माण भइसकेको खनालले बताए । उनले अस्पताल, विद्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि अर्को भवन निर्माण गर्न बाँकी रहेको उल्लेख गरे । ‘नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन सयजना बस्ने ब्यारेक, मुख्य कारागार भवन, प्रशासनिक भवन, भान्सा, आठवटा जेल युनिटलगायत विभिन्न २५ वटा संरचना तयार भएका छन्,’ खनालले भने । 

मुद्दा फैसला भइसकेका कैदीलाई नौबस्ता कारागार र अपराधको प्रकृतिअनुसार खुला कारागारमा राखिने नीतिअनुसार निर्माण भएको बाँके कारागारका जेलर अर्जुनजंग शाहले बताए । नौबस्ताको कारागार सञ्चालनमा आएपछि पनि मुद्दा फैसला नभएका, मुद्दा सुनुवाइका लागि अदालत लैजानुपर्ने थुनुवा, उपचार गराउनुपर्ने बिरामी, ज्येष्ठ नागरिक थुनुवालाई नेपालगन्जस्थित पुरानै कारागारमा राखिने उनले बताए ।

क्षेत्रीय कारागारमा के–के छन् सुविधा ?
नयाँ निर्माण भएको क्षेत्रीय कारागार मानवोचित व्यवहार र आधारभूत मानव अधिकार उपभोग गर्न पाउने व्यवस्थासहित निर्माण गरिएको छ । आर्थिक उपार्जन गर्ने खालका सीपको व्यवस्था, मनोरञ्जन, खेलकुद, शिक्षा, स्वास्थ्य, खानपानलगायत आधारभूत मापदण्ड पूरा गरिएको छ । 

‘कारागारलाई सुधार केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले नयाँ संरचना निर्माण गरिएको हो । यो कारागारमा कैदीबन्दीले तालिम लिन मिल्ने ठूला हलको व्यवस्था गरिएको छ । सीपमूलक तालिमलगायत अन्य तालिम दिन सकिनेछ । कारागारको नियम उल्लंघन गर्नेलाई कष्टकर सजाय दिन अलग्गै दुईवटा अँध्यारा साँघुरा कोठा पनि निर्माण गरिएको छ,’ जेलर शाहले भने ।

नौबस्तास्थित क्षेत्रीय कारागारको भौतिक संरचना त्यसै खेर जानु दुर्भाग्य भएको मानव अधिकारकर्मी वसन्त गौतमले बताए । निर्माण भएका संरचना प्रयोगका लागि राज्यले पहल गर्नुपर्ने उनको भनाइ छ । ‘कैदीबन्दीको हक अधिकारको संरक्षण गरी सेवा–सुविधा सरल, सहज र प्रभावकारी बनाउन पनि नौबस्ताको क्षेत्रीय कारागारलाई शीघ्र सञ्चालनमा ल्याउनुपर्छ,’ उनले भने ।

ad
ad