१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o८:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

आजदेखि ललितपुर नगर प्रहरी ‘छडी’ बोकेर ड्युटीमा खटिने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:१३:oo

ललितपुर महानगरपालिकाअन्तर्गतको नगर प्रहरी आजदेखि छडीसहित ड्युटीमा खटिने भएको छ । आत्मसुरक्षाका लागि नगर प्रहरीलाई छडीसहित ड्युटीमा खटाउन थालिएको हो । 

नगर प्रहरी प्रमुख सीताराम हाछेथूले यस नियमले नगरक्षेत्रमा शान्तिसुरक्षा कायम राख्न थप मद्दत पुग्ने बताए । ‘नगर प्रहरीमाथि आक्रमण भयो वा कतै झडपको अवस्था भयो भने झडप नियन्त्रण गर्न वा आत्मसुरक्षा गर्न पनि कठिन भइरहेको छ,’ उनले भने, ‘त्यसैले अब ललितपुरको नगर प्रहरी छडीसहित ड्युटीमा खटिन्छन्, अवस्थाअनुसार छडी प्रयोग गर्छन् । म नगर प्रहरी प्रमुखको भूमिकामा नियुक्त हुनुअघि पनि लौरो बोक्ने नियम थियो । त्यसपछि लौरो बोक्ने नियम केही समय हटाइयो र अब आवश्यकताअनुसार पुनः छडी बोकेर ड्युटीमा खटिनुपर्नेछ ।’

सीताराम हाछेथू, नगर प्रहरी प्रमुख, ललितपुर महानगरपालिका

नगर प्रहरीको भूमिका धेरै छ, तर नगर प्रहरीलाई आवश्यक औजार नदिएर हातका भरमा शान्तिसुरक्षा कायम हुँदैन, अवस्था र समयअनुसारको सुविधा दिनुपर्छ । 

२४सै घन्टा सेवा 
हाल ललितपुरको नगर प्रहरी २४सै घन्टा सुरक्षामा खटिँदै आएको छ । तर, कुनै पनि औजार नबोकी नगर क्षेत्रको सुरक्षामा खटिँदा आफूमाथि नै जोखिम हुने देखिएकाले नगर प्रमुख चिरिबाबु महर्जनले नै छडी बोक्न अनुमति दिएका थिए । यसअघि शनिबार भक्तपुरको मध्यपुरथिमि नगरपालिकाका एक नगर प्रहरीमाथि आक्रमणसमेत भएको थियो । तर, आत्मसुरक्षा गर्ने कुनै पनि औजार उनीसँग थिएन । त्यस्ता आक्रमण रोक्न नगर प्रहरीलाई पनि आवश्यक औजार दिनुपर्ने ललितपुरका नगर प्रहरी प्रुमख हाछेथूले बताए । उनका अनुसार रातिको समयमा ड्युटी बस्दा सम्भावित आक्रमण तथा जोखिमबाट बच्न पनि छडीले सहयोग गर्छ । त्यस्तै, कतिपय ठाउँमा हुने आक्रमण र झडप नियन्त्रण गर्न पनि छडीको प्रयोग गर्न सकिन्छ । 

नेपालको संविधान ०७२ को धारा २९६ को उपधारा (१) बमोजिम तयार भएको स्थानीय सरकार सञ्चालन ऐन, ०७४ ले नगर प्रहरीको काम र कर्तव्यसम्बन्धी व्यवस्था गरेको छ । सोअनुसार नगरपालिकाको सम्पत्तिको सुरक्षा गर्ने, सभा–समारोह, परम्परा र जात्रापर्वको व्यवस्थापन गर्ने, स्थानीय बजारको व्यवस्थापन गर्ने, ट्राफिक र पार्किङ व्यवस्थापन, सरसफाइ, सार्वजनिक सम्पत्तिको संरक्षण र सुरक्षा, विपद् व्यवस्थापन, खोजी उद्धार, अनधिकृत निर्माण, पार्किङ र होर्डिङबोर्ड नियन्त्रणलगायत कार्यपालिकाले तोकेका अन्य कार्य नगर प्रहरीले गर्नुपर्छ । सोहीअनुसार नै नगर प्रहरी चलायमान भएको हाछेथूले जानकारी दिए । ‘नगर प्रहरीको भूमिका धेरै छ, तर नगर प्रहरीलाई आवश्यक औजार नदिएर हातका भरमा शान्तिसुरक्षा कायम हुँदैन, अवस्था र समयअनुसारको सुविधा दिनुपर्छ, यसमा नेपाल प्रहरीले पनि सघाउन जरुरी छ,’ उनले भने । उनले आफू नियुक्ति भएपछि तीन वर्ष विनाछडी नगर प्रहरी खटिँदा कतिपयले अटेरी गरेको, नगर प्रहरीमाथि नै झम्टिएको र उसको सुरक्षा कमजोर हुने देखिएको अनुभव सुनाए ।  

ad
ad