१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
भुवन न्यौपाने
२o८१ बैशाख २१ शुक्रबार o९:४o:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

स्वप्नदर्शी नेतृत्वको जनअपेक्षा

Read Time : > 5 मिनेट
भुवन न्यौपाने
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:४o:oo

निश्चित समय र सीमित स्रोतसाधनबाट मुलुकको एक युगको आकांक्षालाई अगाडि बढाएर नयाँ व्यवस्था स्थापित गर्न सक्नु नेतृत्वको सफलता हो

प्रसिद्ध कूटनीतिज्ञ एवम् अमेरिकी पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको हालै प्रकाशित पुस्तक ‘लिडरसिप’मा विश्वका प्रतिष्ठित राजनीतिज्ञमध्ये ६ जनाले देश, काल र परिस्थितिमा निर्वाह गरेको भूमिकालाई विश्लेषण गरेका छन् । किसिन्जरले पुस्तकमा विभिन्न उपशीर्षकमा विश्लेषण गर्दै नेतृत्वले देखाएको शासकीय कौशलबारे चर्चा गरेका छन् । कोनार्ड एडेनाउर (जर्मनी), चाल्र्स डी गाउल्ले (फ्रान्स), रिचार्ड निक्सन (अमेरिका), अनवार सदात (मध्य अरब), ली क्वान यू (सिंगापुर) र मार्गरेट थ्याचर (बेलायत) बारे किसिन्जरले चर्चा गरेका छन् । 

विभिन्न समयमा विश्वका फरक मुलुकका शीर्ष तहमा पुगेका नेतृत्वको शासकीय कौशलका माध्यमबाट मुलुकको राजनीतिमा प्रभावशाली योगदान दिन सफल नेतृत्वको विश्लेषण रोचक छ । पुस्तकमार्फत भावी नेतृत्व परिकल्पना कस्तो होला भन्ने निकै सान्दर्भिक र महत्वाकांक्षी विषयलाई उठाएका छन् किसिन्जरले । राजनीतिमा मात्र होइन, कुशल नेतृत्व हरेक बहुआयामिक पक्षमा अनिवार्य आवश्यकता हो । तर, नीतिहरूको सर्वश्रेष्ठ र मूल राजनीतिले त्यस्ता बहुआयामलाई प्रत्यक्ष रूपमा प्रभाव पार्ने हुँदा राजनीतिक नेतृत्वका सन्दर्भमा विश्वभर निकै चासोसाथ हेरिन्छ । राजनीति, समाज र आर्थिक रूपान्तरणका लागि कुशल मियोको भूमिका अद्वितीय रहन्छ । हामीले अन्य आयाममा भन्दा पनि राजनीतिमा कुशल नेतृत्वको अपेक्षा बढी गर्छौं । 

कस्तो हो कुशल नेतृत्व : आदर्श राज्य र कुशल नेतृत्वको कल्पना निकै गहिरो छ । अथवा कल्पनाको राज्य युटोपियन, रामराज्य अयोध्यापुरी, महाभारतका श्रीकृष्णको वृन्दावन, गोकुलधाम कि मथुरा, युधिष्ठिरको हस्तिनापुर कि इन्द्रप्रस्थ, रावणको लंका, यशुको भ्याटिकन सिटी, मोहम्मदको मक्का मदिना, कुन हो आदर्श राज्य ? को थिए आदर्श नेतृत्व ? के हुन् आदर्श राज्यका मानकहरू ? प्राचीन पश्चिमा राजनीतिक दार्शनिक सुकरात, प्लेटो, अरस्तु या पूर्वीय दार्शनिक मनु, कौटिल्य र कन्फयुसियस, आखिर को थिए आदर्श नेतृत्व ? मध्ययुगका म्याकियावेलीदेखि जोन लक, इमान्युयल कान्ट, रुसो, कार्ल माक्र्स, लेनिन र माओ आधुनिक राजनीतिक दार्शनिक गान्धी, मन्डेला, को थिए त प्रभावशाली नेतृत्व ? यो समग्र राजनीतिशास्त्रकै निम्ति महत्वपूर्ण प्रश्न हुन सक्छ । हामी हरेक कल्पनामा सर्वगुण सम्पन्न नेतृत्वको खोजी गर्छौं । यही हाम्रो कमजोरी छ कि सर्वगुण सम्पन्न नेतृत्व आदर्शमा मात्र हुन सक्छ । तर, यथार्थ र व्यवहारवादी राजनीतिमा सम्भव छैन । पर्फेक्ट लिडर कल्पनाको दुनियाँ युटोपियनमा मात्र सम्भव छ भन्ने तर्क आधुनिक राजनीतिक दार्शनिकले गर्छन् । मानिसका तर्क, वितर्क र सोचअनुसार नेतृत्व फरक–फरक शैली र गुणको हुन सक्छ । साँच्चैै सर्वमान्य नेतृत्वचाहिँ कस्तो होला त ? पक्कै पनि राजनीतिको नेतृत्व मात्र सर्वमान्य नहुन सक्छ । विश्वव्यापी व्यापारको सञ्जालबाट आफ्नो इम्पायर खडा गरेका धनाढ्य पनि त कुशल नेतृत्वकै परिणाम होलान् । खेल जीवनमा पटक–पटक उच्च मानपदवी जितेका हस्तीको कलालाई कसरी लिने ? वर्तमान उत्तर–आधुनिक समयमा निश्चित भूगोल, निश्चित संघ, संस्थालाई मात्र होइन, विश्वलाई नै ‘म्यानिपुलेट’ गरेर शासन गरिरहेका सोसल मिडियाका मालिक पनि कुशल नेतृत्वको हकदार हुन नसक्लान् त ? 

विश्व राजनीतिको वर्तमान परिवेशलाई विश्लेषण गर्ने हो भने सम्पन्नशाली मुलुकका शक्तिशाली नेतृत्वको योगदान पनि आफ्नै स्थानमा महत्वपूर्ण छ । फोब्र्स र टाइम म्यागजिनको सूचीमा सी जिनफिङ, भ्लादिमिर पुटिन, जो बाइडेन, ओल्फ सान्चोस, जेफ बेजोस, वारेन वफेट, विल गेट, नरेन्द्र मोदी, ल्यारी पेज, इमान्युयल म्याक्रोँ र ऋषि सुनकलाई विश्वकै प्रभावशाली नेतृत्वका रूपमा उल्लेख गरिएको छ । किसिन्जरले उल्लेख गरेजस्तै निश्चित मापदण्ड र सूचकबाट प्रभावशाली नेतृत्व चुन्नु निकै कठिन विषय हो । तर, निश्चित समय र सीमित स्रोतसाधनबाट मुलुकको एक युगको आकांक्षालाई अगाडि बढाएर नयाँ व्यवस्था स्थापित गर्न सक्नु नेतृत्वको सफलता हो । 

नेपाली राजनीतिमा नेतृत्व : नेपालको सन्दर्भमा भने हेनरी किसिन्जरले तुलना गरेजस्तै नेतृत्व विगत र वर्तमानमा कस्तो छ ? र, भविष्यमा कस्तो सम्भावना रहला ? के नेपालमा प्रभावशाली नेतृत्व उदयको संकेत वा लक्षण देखिन्छन् ? भन्ने अर्थपूर्ण खोज निकै चाखलाग्दो छ । नेपालको राजनीतिक कालखण्डका विभिन्न आरोह–अवरोहमा संघर्ष गरेका समकालीन नेतृत्व किसिन्जरका नजरमा परे या परेनन् ? हाम्रो इतिहासलाई किसिन्जरले महत्व दिए अथवा दिएनन् ? के नेपाली भूमिले इतिहासको कालखण्डमा त्यस्ता नेतृत्वको जन्म दिनै सकेन त ? 

नेपालको राजनीतिक कालखण्डलाई मुख्यतः तीन चरणमा राखेर चर्चा गर्न सकिन्छ । एक प्रजातन्त्र प्राप्तिपूर्वको समय, दोस्रो, प्रजातन्त्रपछिको समय र तेस्रो, जनआन्दोलनदेखि गणतन्त्र हुँदै हालसम्मको समय । यस लेखमा विशेषतः प्रजातन्त्र प्राप्तिपश्चात्को समयलाई जोड दिन खोजिएको छ । १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य र लामो विरासत बोकेको राजतन्त्र अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापनाका नायकलाई बिर्सन मिल्दैन । प्रजातन्त्रमार्फत नागरिकको अधिकार सुनिश्चित गर्ने नेतृत्वदायी भूमिकामा बिपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायत नेताको योगदान अविस्मरणीय छ । निरक्षरतामा निदाइरहेको समाजलाई राजनीतिक चेतनामार्फत बिउँझाएर व्यवस्थाकै परिवर्तन गर्नु सामान्य कर्म होइन । 

पञ्चायत शासन ढालेर जनआन्दोलनमार्फत बहुदलीय व्यवस्थाको स्थापना गर्ने अथक नायकलाई पनि यहाँ बिर्सन मिल्दैन । जनताको बहुदलीय जनवादलाई व्याख्या गर्ने मनमोहन अधिकारी, पुष्पलाल र मदन भण्डारीजस्ता स्वच्छ नेतृत्वले प्रतिपादन गरेका सिद्धान्त पनि युगीन छन् । राजनीतिक उतारचढावबीच दश वर्षसम्म सशस्त्र द्वन्द्व हाँकेका पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई, मोहन वैद्यलगायतले हाँकेको माओवादीलाई शान्तिवार्तामार्फत राजनीतिको मूल प्रवाहमा ल्याउने गिरिजाप्रसाद कोइरालाको नेतृत्व यहाँनेर स्मरणीय छ । अर्कातर्फ गणतन्त्र, संविधान, संघीयता, समावेशी, समानुपातिक व्यवस्था र सामाजिक न्यायका सूत्रधार प्रचण्ड–बाबुरामलाई नै मान्नुपर्छ । जनप्रतिनिधिले लेखेको संविधान जारी गर्ने नेतृत्वमा भने सुशील कोइराला अब्बल ठहरिए । समकालीन नेपली राजनीतिको नेतृत्वको चर्चा गर्ने हो भने शेरबहादुर देउवा, प्रचण्ड र केपी ओली शीर्ष स्थानमा देखिन्छन् । वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गर्ने हो भने यी नेतृत्वप्रति आमवितृष्णा चुलिँदो छ । विगत तीन दशकदेखि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा यिनै नेतृत्वले शासकीय बागडोर समालिरहेका छन् । तर, अपेक्षाकृत उपलब्धि हासिल हुन सकेको छैन । राजनीतिक परिवर्तनका लागि यिनको योगदान रहे पनि आममानिसमा भने वितृष्णा बढ्दो छ । राजनीतिक नेतृत्वमा शून्यताको यस्तो अवस्थालाई नवआधुनिक राजनीतिशास्त्रका विश्लेषकले ‘कलेक्टिभ फेलियर अफ लिडर’को संज्ञा दिन्छन् । नेतृत्वको देवत्वकरण, मपाईँत्वकरण र प्रियतावादी सोचका कारण सामाजिक रूपमा अपेक्षाकृत नेतृत्वविहीनताको परिस्थिति देखिन्छ । 

भावी नेतृत्वको अपेक्षा : नेपालमा पछिल्लो राजनीतिक व्यवस्था बदलिएपछि आमअपेक्षामा जनताको अवस्था पनि बदलिन्छ भन्ने थियो । राजनीतिक अधिकारको अथक लडाइँबाट संघीय लोकतान्त्रिक गणतन्त्रजस्तो जनकेन्द्रित व्यवस्था लागू भयो । तर, जनताका दिमागमा सञ्चार भएजस्तो महत्वाकांक्षी रूपान्तरण भने देखिएन । राजनीतिक स्थिरता कायम हुन सकेन । राजनीतिक, आर्थिक, सामाजिक आयाममा देखिएका वितृष्णा राजनीतिक नेतृत्वप्रति पोखिएको छ । फलस्वरूप, व्यवस्था राम्रो हुँदाहँुदै पनि अवस्था परिवर्तन नभएपछि सडकका चियापसलहरूमा ‘अटोक्रेटिक लिडर’ले केही दशक शासन गरिदिए पनि हुन्थ्यो भन्ने तर्क पनि सुनिन थालेका छन् । ‘ग्रेट लिडर्स ह्याभ नो रुल’का लेखक केभिन क्रुसले फोब्र्स म्यागजिनमा नेतृत्व भनेको के हो ? भन्ने प्रश्न गर्दै यसका ‘कम्प्लेक्ससिटी’ र ‘सिमप्लिसिटी’का आयामलाई केलाएका छन् । सबै मुलुकले वहन गर्ने कम्प्लेक्ससिटी उस्तै हुन सक्दैनन् । नेपालजस्तै भूपरिवेष्टित ४४ मुलुक पक्कै पनि उस्तै छैनन् । विश्वका अल्पविकसित मुलुकको विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रिया र चरण पनि भिन्नभिन्न नै छ । अझै राजनीतिक र कूटनीतिक संवेदनशीलताका हिसाबले त नेपाल अहिले निकै चासोपूर्ण भूराजनीतिक परिवेशमा देखिन्छ । क्रुसले भनेजस्तै कम्प्लेक्ससिटीमा कुशलतापूर्वक मुलुकको नेतृत्व गर्नु र सिमप्लिसिटीमा मुलुकको अवस्थालाई सामान्यीकृत रूपमै सार्वभौमिकता बचाइराख्नु नेतृत्वको राजनीतिक कौशल हो । 

नेपालको भावी राजनीति यिनै कम्प्लेक्ससिटी र सिमप्लिसिटीका आयामलाई कसले कुशलतापूर्वक सञ्चालन गर्न सक्छ भन्ने विषयमा निर्भर रहन्छ । राजनीति संवेदनशीलता र सम्भावनामा दुवै अवसर र चुनौतीले भरिएको हुन्छ । एउटा कुशल राजनीतिज्ञले शासकीय नेतृत्व गर्न पायो भने जरैदेखि परिवर्तनको प्रयत्न गर्छ । त्यसले जग राख्छ । बलियो जग भनेको बलियो व्यवस्था हो । व्यक्तिको शक्तिले होइन कि व्यवस्थाको बलले मुलुकमा सुशासनको अभ्यास र समुन्नतिको जग बस्ने हो । भावी राजनीतिको ऐनामा कांग्रेसका गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, नेकपा एमालेका शंकर पोखरेल, योगेश भट्टराई, प्रदीप ज्ञवाली, माओवादी केन्द्रमा वर्षमान पुन, जनार्दन शर्मा, रास्वपामा रवि लामिछाने, स्वर्णिम वाग्लेजस्ता नेताको तुलनात्मक अध्ययनमा सबैभन्दा समयानुकूल नेतृत्व को छ भन्ने नै मूल चासोको प्रश्न हो । त्यस्तै, उदीयमान स्वतन्त्र नेतृत्व बालेन शाह, हर्क साम्पाङ, सागर ढकालजस्ता नेताको पनि समाजले परीक्षण गर्न चाहेको छ । 

नेपालमा पछिल्लो समय वैकल्पिक राजनीतिको वेगले अनपेक्षित नतिजा देखाइरहेका छन् । राजनीति र सामाजिक संरचनामा आएका परिवर्तनले प्रियतावादी नेतृत्वको स्वप्नदर्शिताको अपेक्षा बढ्दो छ । पुराना र ठूला दलहरूले केही पनि गरेनन्, भ्रष्टाचारको विकृति र अविकासका कारक यिनै हुन् त्यसैले हामी समाजमा जरैदेखि परिवर्तन ल्याउँछौँ भन्ने भाष्य सिर्जना गरेर राजनीतिक मैदानमा उत्रिएकाहरूको विगत र वर्तमानको कार्यशैलीबाट भविष्यमा कस्तो नेतृत्वको अपेक्षा गर्न सकिन्छ ? कानुनी शासन र सुशासनका नारा लगाउनेहरूका व्यवहारमा उस्तै प्रवृत्ति पाइन्छ त ? पर्फेक्ट लिडरका केही सूचक भएर नै समाजले मूल्यांकन गरेको छ कि वितृष्णाको आहालमा मौकाको खोजी गर्नेहरू धेरै छन् । 

राजनीतिक कौशल कति महत्वपूर्ण छ भन्ने कुरा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले नै बताउँछ । सामाजिक सञ्जालको स्वप्न शासनबाट यथार्थमा अवतरण हुने शासन कुन हो । नागरिकका अधिकार, सामाजिक सुरक्षा, सामाजिक न्याय, सुशासन र समुन्नतिसहितको लोककल्याणकारी शासन व्यवस्थाका लागि कस्तो नेतृत्व चाहिन्छ ? अपवादबाहेक युवावयमा राज्यसत्ताको नेतृत्व गरेका कति नेतृत्व सफल देखिन्छन् ? राजनीतिले गरेको समाजको परिकल्पना के हो ? समाजले निर्देश गरेको राजनीति कस्तो हुनुपर्ने हो ? समाजको माग राजनीतिज्ञमा किन पर्दैन ? राजनीतिमार्फत समाजमा के र कस्ता प्रभाव परेका छन् ? यस्ता प्रश्नले सार्थक उत्तरको खोजी गरिरहेका छन् । यसर्थ, स्वप्नदर्शी नेतृत्वको जनअपेक्षाले कतै लोकतन्त्र अयोग्यहरूको शासन त बनिरहेको छैन ? 

ad
ad