१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० असोज ३ बुधबार ०७:३७:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

लोकतान्त्रिक समाजवादी पार्टीका नेता सुरेन्द्रकुमार झालाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० असोज ३ बुधबार ०७:३७:००

संविधान दिवस (३ असोज) लाई कसरी मनाउँदै हुनुहुन्छ ?
वर्तमान संविधानको कार्यान्वयन बिस्तारै अघि बढ्दै छ । तर, मधेसी, आदिवासी जनजाति तथा उपेक्षित वर्गका लागि भने यो संविधान सोचेजस्तो बन्न सकेन । यो उनीहरूका लागि खुसीको दिन होइन । त्यसैले, यस दिनलाई हामीले कालो दिवसका रूपमा मनाउँदै आएका छौँ र यसपालि पनि त्यसै गर्छौँ । 

संविधानअन्तर्गत नै रहेर निर्वाचनमा भाग लिने, सांसद, मन्त्री बन्ने अनि त्यही संविधानको विरोध गर्ने, किन ?
हामीले यो संविधान मान्दैनौँ भनेका छैनौँ । यो संविधान निर्माणमा हाम्रो पनि सक्रिय सहभागिता रह्यो । तर, घोषणाको दिनसम्म पुग्दा हाम्रा केही ‘रिजर्भेसन’ रहे । घोषणाकै दिनमा भएको विरोध कार्यक्रममा हाम्रा तर्फका शत्रुघन पटेलले सहादत नै प्राप्त गर्नुभयो । उहाँहरूलाई सम्झिँदै हामी कसरी खुसी मनाउन सक्छौँ ? त्यसैले, यो दिन हाम्रा लागि कालो दिवस नै हो ।

देशभर खुसियालीसाथ संविधान दिवस मनाउन संविधानमा के–के विषय संशोधन हुनु आवश्यक छ ? 
यो संविधान राम्रो हुँदाहुँदै पनि यसमा कैयौँ कमीकमजोरी छन् । प्रधानमन्त्री नियुक्तिलगायत विषयमा अदालतसम्म गुहार्नुपर्ने अवस्था त्यत्तिकै आएको होइन । यो संविधान प्रत्यक्ष कार्यकारीमूलक पनि छैन र परम्परागत संसदीय चरित्रको पनि छैन । पूर्ण समानुपातिक समावेशी पनि छैन । सामथ्र्य र पहिचानका आधारमा प्रदेश संरचना छैनन् । यी विषयमा संशोधन जरुरी छ । संशोधनमार्फत सबैले यो देश मेरो पनि हो भनेर गौरव गर्न सक्ने अवस्था बन्यो भने मात्र खुसीसाथ संविधान दिवस मनाउने वातावरण बन्छ ।