Skip This
नेपाललाई साफ यू–१९ च्याम्पियनसिपमा, तेस्रोपटक ट्रफी उचाल्ने अवसर
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
बिहीबारदेखि सुरु हुने साफ यू–१९ च्याम्पियनसिपको तयारीबारे जानकारी दिँदै आयोजक एन्फा पदाधिकारी । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:२८:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाललाई साफ यू–१९ च्याम्पियनसिपमा, तेस्रोपटक ट्रफी उचाल्ने अवसर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:२८:oo

दुई संस्करणको विजेता नेपालले दशरथ रंगशालामा बिहीबारदेखि सुरु हुने च्याम्पियनसिपमा घरेलु मैदानको फाइदा लिन सक्छ

दशरथ रंगशालामा बिहीबारदेखि दक्षिण एसियाली यू–१९ फुटबल च्याम्पियनसिप (साफ) सुरु हुँदै छ । दुईपटकको विजेता नेपालले घरेलु मैदानमा पुनः एकपटक उपाधि जित्ने अवसर मिलेको छ । सन् २०१५ मा साफ यू–१९ च्याम्पियनसिप नेपालबाटै सुरु भएको हो । नेपालले सुरुवाती दुई संस्करण हात पारेको थियो । तेस्रो र चौथो संस्करणमा नेपालको प्रदर्शन गतिलो रहेन । तेस्रो संस्करणमा उपाधिमाथि ह्याट्रिक गर्ने लक्ष्य राखेको नेपाल समूह चरणबाटै बाहिरिएको थियो । गत संस्करणमा नेपाल तेस्रो भएको थियो । घरेलु मैदानमा आयोजना हुने प्रतियोगितामा नेपाललाई दर्शकको साथ रहनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक सुनील श्रेष्ठले यसपटक उपाधि जित्ने राम्रो अवसर भएको बताएका छन् । उनी पहिलो संस्करणमा उपाधि जित्दा टोलीका सहायक प्रशिक्षक थिए । यसपटक उनले मुख्य प्रशिक्षकको भूमिका पाएका छन् । 

प्रतियोगिताअगाडि मंगलबार भएको प्रि–म्याच कन्फरेन्समा मुख्य प्रशिक्षक श्रेष्ठले पछिल्लो नतिजाअनुसार पाँचौँ संस्करणमा उपाधि जित्न सक्ने दाबी गरेका छन् । युवा खेलाडीले यसका लागि राम्रो तयारी गरेको उनको भनाइ छ । ‘हामीले राम्रो तयारी गरेका छौँ, खेलाडीले पनि प्रतियोगिताका लागि निकै मिहिनेत गरेका छन्, हाम्रो तर्फबाट तयारी पूरा भइसकेको छ ।’ 

प्रतियोगितामा पाकिस्तान, माल्दिभ्स, भारत, भुटान र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् । नेपाल रहेको समूह ‘ए’मा पाकिस्तान र माल्दिभ्स छन् । समूह ‘बी’मा भारत, बंगलादेश र भुटान छन् । दुवै समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनल स्थान बनाउनेछन् । 

यू–१९ साफ च्याम्पियनसिपमा सहभागी सबै टोलीको स्तर एकै भएको नेपालका मुख्य प्रशिक्षक श्रेष्ठको बुझाइ छ । दक्षिण एसियाली राष्ट्रहरूले युवा खेलाडीलाई एक्सपोजर गरेका कारण नै सबै टोलीलाई कम आँक्न नमिल्ने उनले बताए । यद्यपि, युवा समूहमा अन्य राष्ट्रको तुलनामा नेपाल कमजोर नै छ । तर, घरेलु मैदानको फाइदा नेपालले लिन सक्ने श्रेष्ठले बताए । ‘यद्यपि, हामीले राम्रो तयारी गरेका छौँ, तर सहभागी अन्य राष्ट्रले युवा समूहमा राम्रो लगानी गरेका छन्,’ उनले भने, ‘कुनै समय हामी उमेरसमूहमा बलिया थियौँ, अहिले तुलनात्मक रूपमा हामी कमजोर बनेका छौँ ।’ 

यस्तो रह्यो नेपालको तयारी
प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले खुला छनोटका माध्यमबाट टोली बनाएको हो । जिल्ला, प्रदेश हुँदै केन्द्रीयबाट छनोट भएका ३५ खेलाडीलाई क्लोज क्याम्पमा राखिएको थियो । यसबाट उत्कृष्ट २५ खेलाडी छनोट भए । त्यसपछि भएका क्लोज क्याम्प र प्रशिक्षणका आधारमा एन्फाले अन्तिम २३ जना खेलाडीको राष्ट्रिय यू–१९ टोली घोषणा गरेको हो । प्रशिक्षणका क्रममा नेपालले सिनयर टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो । ‘सिनियर खेलाडीसँग अभ्यास खेल खेल्यौँ, यसले खेलाडीको आत्मविश्वास बढेको छ,’ प्रशिक्षक श्रेष्ठले भने । नेपाली टोलीमा ए डिभिजन लिग खेलेका खेलाडी छन् । यसैगरी, टोलीमा यू–१७ साफ खेलेका खेलाडी पनि छन् । नेपाली टोलीलाई जियारथले कप्तानी गर्नेछन् । प्रशिक्षक श्रेष्ठले युवा खेलाडीले चुनौती सामना गर्नुपर्ने बताए । 

घरेलु मैदानको साथ
साफ च्याम्पियनसिप नेपालले तेस्रोपटक आयोजना गर्न लागेको हो । घरेलु मैदानमा नेपालको प्रदर्शन सधैँ राम्रो हुने गरेको छ । घरेलु दर्शकअगाडि खेलाडीको मनोबल उच्च हुने गरेको छ । उनीहरूले आत्मविश्वासका साथ प्रदर्शन गर्ने प्रशिक्षक श्रेष्ठको भनाइ छ । ‘घरेलु मैदानमा खेल्दा दर्शकको साथ राम्रो हुन्छ,’ उनले भने, ‘घरेलु मैदानको फाइदा भनेको यही नै हो ।’ उनले समूह चरणदेखि उत्कृष्ट प्रदर्शन गरी उपाधि जित्ने बताए । नेपालले २१ सेप्टेम्बरमा पाकिस्तानको सामना गर्नेछ । ‘हामी पहिलो खेलमै पाकिस्तानमाथि दबाब राख्छौँ र प्रतियोगितामा सुखद सुरुवातको लक्ष्य राखेका छौँ,’ उनले भने, ‘यद्यपि, कसैलाई पनि कमजोर मान्नुहुन्न ।’ 

तयारी राम्रो छ : सुनील श्रेष्ठ, मुख्य प्रशिक्षक, नेपाल
प्रतियोगिताका लागि हाम्रो तयारी निकै राम्रो छ । नेपालले सबै तयारी पूरा गरिसकेको छ । यू–१९ टोलीको तयारीअनुरूप हामीले नेपालको सिनियर टोलीसँग मैत्रीपूर्ण खेल खेलेका थियौँ । यसबाट खेलाडीले एक्सपोजर प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागी अन्य राष्ट्र पनि उत्तिकै बलिया छन् । हामीले सहभागी टोलीलाई कमजोर आँक्नु मिल्दैन । सबैलाई एकै स्तरमा हेर्नुपर्छ । यद्यपि, नेपाललाई घरेलु मैदानको फाइदा हुनेछ । दशरथ रंगशालामा खेलाडीले राम्रो नतिजा निकाल्ने अपेक्षा छ । यसैअनुसार खेलाडीले अभ्यास गरेका छन् । दक्षिण एसियामा सबैभन्दा बलियो टोली भारत हो । तर, घरेलु दर्शकको साथ पाउँदा हामीलाई फाइदा हुन्छ । प्रतियोगिताको पहिलो खेलमा राम्रो नतिजा निकाल्न सक्यौँ भने पछिका खेलमा सहज हुनेछ । फुटबलमा मैदानमा उत्रिएपछि चुनौती सुरु हुन्छ । यसै कारण खेलमा केन्द्रित भएर खेल्नु आवश्यक छ । हाम्रो लक्ष्य उपाधि जित्ने नै हो । फुटबल टिमवर्क भएकाले खेलाडी, कोच, अफिसियल सबैको कम्बिनेसन राम्रो हुनुपर्छ । त्यसैले पनि च्याम्पियन बन्ने लक्ष्य हो ।