Skip This
आश्रमका महिलाको खल्लो तिज, भन्छन्– परिवारले माया मार्‍यो, मन भक्कानिन्छ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १ सोमबार
  • Saturday, 27 July, 2024
२o८o असोज १ सोमबार १४:२o:oo
Read Time : > 2 मिनेट
फिचर डिजिटल संस्करण

आश्रमका महिलाको खल्लो तिज, भन्छन्– परिवारले माया मार्‍यो, मन भक्कानिन्छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o असोज १ सोमबार १४:२o:oo

सुर्खेतकी रत्ना शाही (४७ वर्ष) हरेक वर्षको तिजमा दिल खोलेर नाच्थिन् । वर्ष दिनपछि आएको तिजमा नाच्न पाउँदा मनभरिको पीडा हल्का हुन्थ्यो । उनी तिजको गीतबाटै मनको बह पोख्थिन् । साथीसंगीसँग दुःख पोख्न पाउँदा वर्षभरको पीडा भुल्थिन् उनी ।

नेपालगन्जस्थिल नीलसागर सेवा आश्रममा रहेकी उनले यसपालिको तिजमा आफ्ना साथीसंगीलाई भेट्न र उनीहरूसँग नाच्न नपाउने भएकी छिन्। त्यसैले उनको अनुहार मलीन छ । चाडपर्वमा पनि परिवारका सदस्य लिन नआएकोमा रत्ना दुःखी छिन्। ‘मेरो घर–परिवार पनि कस्तो निष्ठुरी भएका हुन्, तिजमा समेत लिन आएनन्,’ मन अमिलो बनाउँदै उनले भनिन्, ‘तिजमा नाच्न नपाउँदा शरीर भारी र मन उदास भएको छ ।’

तिजको गीतमा नाचगान गर्न नपाएकोमा उनको मन दुखेको छ । मादल बजाउन नपाएर हात चिलाइरहेको उनले बताइन् । आधुनिक गीत उनलाई पटक्कै मन पर्दैन । पछिल्लो समय लाउड स्पिकरमा बजाइने गीत र आधुनिक नाच देख्दा उनको मन दुख्छ । ‘मादलको तालमा गीत गाउन र नाच्न नपाउँदा मन चिसो भएको छ,’ उनले भनिन्, ‘लाउड स्पिकरमा बजेको गीतमा नाच्नुभन्दा कोठामा गएर मजाले सुत्छु ।’

सुर्खेतकी पार्वती पुनमगर (४५ वर्ष) पनि नीलसागर सेवा आश्रममा आश्रित छिन् । विगतका वर्षमा तिजको गीतमा मन खोलेर नाचेको उनलाई झल्को आइरहेको छ । यसपालिको तिजमा नाच्न नपाउँदा पर्नु पिर परेको उनले सुनाइन् । ‘अघिल्लो वर्षको तिजमा खुबै नाचियो । यसपालि त नाच्न नपाइने भयो । नाच्न र गाउन नपाउँदा मरेतुल्य भएकी छु,’ उनले भनिन् ।

पर्वतकी रूपा सुवेदी (३० वर्ष) यसपालिको तिजमा बाबुआमा र दाइहरू लिन आउनेमा ढुक्क थिइन् । परिवारका सदस्य लिन नआएपछि उनलाई पनि साह्रै पिर परेको छ । नीलसागर सेवा आश्रममा बस्दै आएकी उनले भनिन्, ‘मेरो दाइलाई लिन आउन भनिदिनुहोला है। तिजमा छमछमी नाच्ने विचार थियो, तर यसपालि नपाइने भयो ।’


काठमाडौंकी विस्मा खड्का पनि नीलसागर सेवा आश्रममै छिन् । उनलाई पनि यसपालिको तिज न्यास्रो लागेको छ । आश्रमले तिज गीतमा नाच्ने व्यवस्था मिलाए पनि उनलाई चित्त बुझेको छैन । गाउँमा साथीसँग नाचगान गरिरहेकी उनलाई पछि जोडिएका साथीहरूसँग तिज मनाउँदा रमाइलो लागेको छैन। ‘गाउँ भनेको गाउँ नै हो । यहाँ जति मिठो खाने कुरा र बाजागाजा बजाए पनि देखावटी रमाइलो मात्र हुन्छ,’ उनले भनिन्, ‘तिजको वास्तविक रमाइलो त गाउँमै हुन्छ । साथीसंगीसँग नाच्न र गाउन पाउँदाको मज्जा बेग्लै हुन्छ,’ उनले भनिन् ।

आश्रमले सडकबाट उद्धार गरेर ल्याएका उनीहरूको चाहना भने अधुरै रहने निश्चित छ। आश्रममा रहेका धेरैको परिवारको कुनै पत्तो छैन । यस्तोमा यो तिज पनि उनीहरूले चाहेजस्तो गरी मनाउन पाएनन्।

यद्यपि, उनीहरूलाई परिवारको न्यास्रो नलागोस् भनेर आश्रमले नाचगान गर्ने व्यवस्था मिलाएको आश्रमकी अध्यक्ष सरिता खनालले बताइन् । उनले गाउँघरको जस्तै रमाइलो गर्ने वातावरण मिलाउन नसके पनि न्यास्रो लाग्न नदिन हरसम्भव प्रयास गरेको बताइन् । ‘घरको जस्तै खानपान र रमाइलो गर्ने व्यवस्था आश्रमले गरेको छ,’ उनले भनिन् ।

यसैबीच, खजुरा गाउँपालिका– ३ का विकास काउचामगरले आफ्ना छोरा इभान काउचा मगरको दोस्रो जन्मदिन नीलसागर सेवा आश्रममा मनाइदिएका छन् । तिजमा सेवा आश्रममा रहेका ज्येष्ठ नागरिक, बालबालिका, महिला र असहायलाई न्यास्रो नलागोस् भन्ने उद्देश्यले खाना खाने र रमाइलो गर्ने व्यवस्था मिलाएको उनले बताए । ‘असहाय, अशक्त, ज्येष्ठ नागरिकको सेवामा लाग्ने प्रेरणा छोरालाई मिलोस् भन्ने मेरो पहिलो उद्देश्य हो,’ उनले भने ।

उनले बाहिरको होटेल, क्याफे, रेस्टुरेन्टमा गएर जन्मदिन मनाउनुभन्दा ज्येष्ठ नागरिक, असहाय, गरिब–गुरुवाका सेवामा खर्च गर्नु उपयुक्त हुने बताए । ‘जन्मदिनमा अनावश्यक खर्च गर्नुभन्दा समस्यामा परेका समुदाय र वर्गका लागि खर्च गर्नु महानता हो,’ उनले भने ।