Skip This
ओपिडी सेवा बन्द हुँदा बिरामीलाई दिनभर सास्ती, साँझ सहमति
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १ सोमबार
  • Saturday, 27 July, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८o असोज १ सोमबार o७:५२:oo
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ओपिडी सेवा बन्द हुँदा बिरामीलाई दिनभर सास्ती, साँझ सहमति

Read Time : > 4 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज १ सोमबार o७:५२:oo

अत्यधिक ढाड दुख्ने समस्याका कारण त्रिवि शिक्षण अस्पताल पुगेका धनकुटाका वीरबहादुर तामाङलाई आइतबार ओपिडी सेवा बन्द छ भन्ने थाहा थिएन । उनी दुखाइ असह्य भएपछि शनिबार काठमाडौं आएका थिए । बिहानै त्रिवि शिक्षण अस्पतालको टिकट काउन्टरमा पुगेका उनले टिकट काटेर उपचार गर्न पाएनन् । तर, उपचार पाइन्छ कि भन्दै बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म ओपिडीबाहिर कुरिरहेका थिए । ‘ढाड दुखेर उपचारका लागि आएको थिएँ, तर अस्पताल बन्द रहेछ,’ उनले भने, ‘धनकुटामा धेरै अस्पतालमा जाँदा निको भएपछि काठमाडौं आएको हो, तर उपचार गर्नै पाइएन ।’ 

आन्द्रासम्बन्धी समस्याले दुुखाइ असह्य भएपछि धादिङका समीर बस्नेत आइतबार बिहानै त्रिवि शिक्षण अस्पतालमै पुगेका थिए । ओपिडी सेवा ठप्प भएपछि उनले पनि उपचार गराउन पाएनन् । ‘पेटमा समस्या छ, खाएको पच्दैन,’ उनले सुनाए, ‘दुखाइ धेरै भएपछि उपचारका लागि आएको हुँ, तर अस्पताल बन्द रहेछ ।’ 

नुवाकोटका सुमन तामाङले १५ वर्षीय छोरा स्याङ्बु तामाङलाई न्युरोसम्बन्धी समस्याले टाउको दुखेपछि नयाँ बानेश्वरस्थित सिभिल अस्पताल ल्याएका थिए । तर, उनले पनि उपचार गराउन पाएनन् । अस्पतालको इमर्जेन्सी कक्षसमेत बन्द भएपछि उनी आइतबार उपचार नगरी फर्किए । ‘छोराको टाउकोमा समस्या देखिएर आएको, अस्पताल नै बन्द रहेछ, अब सोमबार आउनुपर्ला,’ उनले सुनाए ।

घाँटीमा मासु पलाएर खानै नमिल्ने भएपछि दोलखाका राजु थापा आइतबार वीर अस्पताल पुगे । तर, ओपिडी सेवा बन्द रहेको थाहा पाएपछि चिन्तित बने । ‘घाँटीमा मासु पलाएर निल्न समस्या भएपछि आएको, अस्पताल नै बन्द रहेछ,’ उनले भने, ‘अब सोमबार देखाउन पाइन्छ कि !’

नेपाल चिकित्सक संघले आइतबार निजी र सरकारी स्वास्थ्य संस्थामा ओपिडी सेवा ठप्प पारेपछि आइतबार सयौँ बिरामी मारमा परे । देशभरकै बिरामीको भिड हुने उपत्यकाका ठूला अस्पतालले ओपिडी सेवा नै बन्द गरेपछि बिरामीले उपचार नपाएका हुन् । फलोअपका लागि आएका बिरामी पनि त्यसै घर फर्किनुपर्‍यो । न्युरोसँग सम्बन्धित, ग्यास्ट्रो, नाक, कान, घाँटी, ज्वरो, छाला, हाडजोर्नी, आँखा, भिडियो एक्सरे तथा अल्ट्रासाउन्ड, मुटु, छातीलगायत रोगसँग सम्बन्धित सेवा ठप्प भएका छन् । वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा करिब तीन–तीन हजार बिरामी ओपिडी सेवाबाट वञ्चित भए । निजामती कर्मचारी अस्पतालमा आठ सय, पाटन अस्पतालमा दुई हजारभन्दा बढी, कान्ति बाल अस्पतालमा ६ सयलगायत बिरामी उपचार सेवाबाट वञ्चित भए ।

त्रिवि शिक्षण अस्पताल देशभरकै सबैभन्दा बढी बिरामी आउने अस्पताल हो । तर, त्रिवि शिक्षण अस्पतालले इमर्जेन्सीबाहेकका उपचार सेवा ठप्प पारेपछि तीन हजार बिरामी उपचारबाट वञ्चित भएका थिए । सबैभन्दा बढी बिरामी आउने दिन आइतबार नै ओपिडी बन्द भएपछि बिरामीहरू उपचार नगरी घर फर्किएको अस्पताल प्रशासनले जनाएको छ । गम्भीर तथा जटिल समस्या भएका बिरामीले भने इमर्जेन्सी कक्षबाट उपचार पाएको प्रशासनको भनाइ छ । तर, फरक–फरक रोगसँग सम्बन्धित बिरामी जाँच्ने वार्ड नै बन्द भएपछि बिरामीहरू उपचार नै नगरी घर फर्किएको अस्पतालका प्रशासन प्रमुख वैकुण्ठप्रसाद थपलियाले जानकारी दिए ।‘अस्पताल आएका अधिकांश बिरामीको उपचारको सुरुवात ओपिडीबाटै हुने हो,’ उनले भने, ‘ओपिडी बन्द भएपछि बिरामीहरू घर फर्किए, अलि बढी समस्या भएका बिरामी इमर्जेन्सीबाटै भए पनि उपचार लिए ।’ 

 इमर्जेन्सीमा बिरामी खचाखच 
निजी तथा सबैखाले स्वास्थ्य संस्थाले आइतबार इमर्जेन्सीबाहेकका उपचार सेवा ठप्प पारेपछि अस्पतालहरूको इमर्जेन्सी कक्षमा बिरामीको चाप बढ्यो । अन्य समयभन्दा झन्डै दोब्बर बिरामी इमर्जेन्सी कक्षमा उपचार गर्न आएको अस्पतालहरूले जनाएका छन् । 

वीर अस्पतालमा अन्य समयमा डेढ सय बिरामी आउने गरेकोमा आइतबार तीन सय आए । त्यस्तै, त्रिवि शिक्षण अस्पतालमा पनि आइतबार तीन सय ५० बिरामीले इमर्जेन्सी कक्षबाट उपचार लिए । निजामती कर्मचारी अस्पतालमा अन्य वेला ५० जना इमर्जेन्सीका बिरामी आउने भए पनि अन्य सेवा बन्द हुँदा आइतबार डेढ सयभन्दा बढी बिरामी इमर्जेन्सीमा भर्ना भए । ‘अन्य सेवा रोकिँदा इमर्जेन्सीमा बिरामीको चाप बढ्यो,’ निजामती अस्पतालका कार्यकारी प्रमुख डा. विधाननिधि पौडेलले भने, ‘ओपिडीका लागि आएका धेरै बिरामी उपचार नगरी घर फर्कनुभएको छ ।’ उनले आइतबार ओपिडी सेवा बन्द हुँदाको असर सोमबार पर्ने बताए । 

शिक्षण अस्पतालका प्रशासन प्रमुख वैकुण्ठप्रसाद थपलियाका अनुसार त्रिवि शिक्षण अस्पतालमा दैनिक इमर्जेन्सीमा डेढ सयभन्दा बढी बिरामी आउने गरेकोमा आइतबार ओपिडी सेवा बन्द हुँदा तीन सयभन्दा बढी बिरामीले इमर्जेन्सी कक्षबाट उपचार गराएका छन् । ‘गम्भीर समस्या भएर आएका बिरामीलाई इमर्जेन्सी कक्षमै राखेर भए पनि उपचार गरेका छौँ,’ उनले भने, ‘सामान्य अवस्थाका धेरै बिरामी घर फर्कनुभएको छ ।’ उनले सरकारले स्वास्थ्यकर्मीका माग सुनुवाइ नगर्दा समस्या पैदा भएको बताउँदै यसबारे सरकार जिम्मेवार हुनुपर्ने बताए । 

 प्रशासनले ओपिडी खुला गरे पनि आएनन् चिकित्सक
आइतबार वीरमा ८ बजे नै प्रशासनले ओपिडी खुला गरेर ५० भन्दा बढीलाई टोकन वितरण गरेको थियो । तर, डाक्टर नै नाअएको वीरका निर्देशक डा. पौडेलले जानकारी दिए । ‘बिहान ओपिडी खुला गरे पनि डाक्टरहरू आउनुभएन, ओपिडी खोलेको थाहा पाएर नेपाल चिकित्सक संघ आएर ताला लगाइदियो,’ उनले भने, ‘त्यसपछि हामीले ओपिडी बन्द गरेका हौँ, सोमबार सबै सेवा सञ्चालन हुन्छन् ।’ वीरको ओपिडीमा सोमबार करिब पाँच हजार बिरामी आउने अनुमान गरिएको छ । आइतबार अन्य सेवा बन्द भए पनि इमर्जेन्सीमा भने सातजना विशेषज्ञसहितका डाक्टरले सुविधा दिएका थिए ।

 आइतबार नपाएकालाई वीरले सोमबार सेवा दिने 
वीर अस्पतालले भने आइतबार उपचार गर्न नपाएका र नयाँ बिरामीलाई सोमबार ओपिडी सेवा दिने बताएको छ । अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले आइतबार उपचार गर्न नपाएका बिरामीलाई सोमबार पालो दिइने बताए । ‘सोमबार बिरामीको चाप बढ्छ, तर आइतबार टिकट लिएका वा पालो कुरिरहेकाले पनि सोमबार उपचार सेवा पाउँछन्,’ उनले भने । उनका अनुसार हाल वीरमा चार सयभन्दा बढी चिकित्सक छन् । 

तर, त्रिवि शिक्षण अस्पतालको नियम अन्य अस्पतालमा भन्दा फरक छ । यहाँ उपचार नपाएर फर्किएका बिरामीले अर्को दिन उपचार पाउँदैनन् । अर्थात् अस्पतालबाट आइतबार वा आइतबारका लागि टिकट लिएकाले सोही टिकटका आधारमा उपचार गराउन पाउने छैनन् । उनीहरूले नयाँ टिकट काट्नुपर्नेछ । 

यदि आइतबारको चेकजाँचका लागि टोकन लिइसकेका बिरामी भए उनीहरूलाई सोमबार पालो नदिने अस्पतालका प्रशासन प्रमुख थपलियाले जानकारी दिए । उनका अनुसार हरेक दिन बिरामीको संख्या धेरै हुने भएकाले नयाँ बिरामीले पालो नपाउने अवस्था भएकाले पुरानो टिकटका आधारमा पालो नदिइने भएको हो । त्रिवि शिक्षण अस्पतालले कुन रोगसँग सम्बन्धित ओपिडी कुन दिन खुल्ने भन्नेबारेमा पनि तालिका बनाएर कार्यान्वयनमा ल्याएको छ । जसका कारण उपचार सेवा सहज भएको अस्पताल प्रशासनले जनाएको छ ।

चिकित्सक र सरकारबीच ६ बुँदे सहमति
चिकित्सकमाथि भएको आक्रमणलाई लिएर आन्दोलनरत चिकित्सक र सरकारी वार्ता टोलीबीच सहमति भएको छ । आइतबार बिहान ११ बजेदेखि बेलुकी ६: ३० सम्म बसेको बैठकले ६ बुँदे सहमति गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिने र दोषीलाई कारबाही गर्ने सहमति गरेको हो । आइतबार स्वास्थ्य मन्त्रालयका तर्फबाट डा. विकास देवकोटालगायत र नेपाल चिकित्सक संघका तर्फबाट अध्यक्ष अनिलविक्रम कार्कीलगायतबीच भएको वार्ताले आक्रमणकारीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्ने सहमति गरेको हो ।

बैठकले पक्राउ नपरेकालाई पक्राउ पुर्जी जारी गर्ने र कानुनअनुसार कारबाही गर्ने निर्णय पनि गरेको छ । हेटौँडामा भएको आक्रमणमा संलग्न चारजनालाई कारबाहीका लागि यसअघि नै प्रहरीले पक्राउ गरेको छ भने आइतबार थप पाँचजनालाई कारबाही गर्न पक्राउ पुर्जी जारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बैठकले बिदेसिने अवस्था रोक्न चिकित्सकको सुरक्षा, सुविधा, दक्षतासम्बन्धी विधेयकको मस्यौदा तीन महिनाभित्र तयार पार्नुपर्ने, घोषित कार्यक्रम स्थगित गर्ने, आक्रमणका दोषीलाई कारबाही गर्नेलगायत सहमति गरेको छ ।