मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
नयाँ पत्रिका काठमाडाैं
२०८० भदौ ३१ आइतबार १०:४७:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यसरी बनाउनुस् स्वादिष्ट दर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० भदौ ३१ आइतबार १०:४७:००

हरितालिका तिजको अघिल्लो दिन दर खाएर भोलिपल्ट व्रत बसी पूजाआजा, नाचगान तथा दिदीबहिनी भेटघाट गर्ने चलन थियो । हिजोआज तिज आउनुभन्दा धेरै अघिदेखि नै पार्टी प्यालेस र रेस्टुरेन्टमा दर खाने र खुवाउने कार्यक्रम हुने गरेका छन् । तिजका अवसरमा आवश्यक सामग्री जुटाएर घरमै पनि स्वादिष्ट दर बनाउन सकिन्छ ।

खिर
सामग्री : दूध, घिउ, टाइचिन चामल, चिनी, सुकुमेल धुलो, काजु, नरिवल । 

पकाउने विधि : एउटा भाँडामा दूध उमाल्ने । उम्लेको दूधमा टाइचिनी चामल राख्ने । उम्लिएको दूधमा राखिएको चामल पाक्न थालिसक्यो भन्ने लागेपछि सुकुमेलको धुलो, चिनी, कोरेसोमा कोरेको नरिवल, काजु र किसमिस राख्ने । एउटा भाँडामा अलिकति घिउ खार्ने र खिर पाकिसकेपछि खारेको घिउलाई राख्ने । 

अथवा बाक्लो देक्ची या कसौडीमा घिउ तताउने र राम्ररी पखालेर चामल हल्का भुटेर दूध खन्याउने । सानो आँचमा चलाइचलाई पकाउने । मरिच र अलैँचीको धुलो हालेर चलाउने र अन्तमा घिउमा भुटेको ड्राई नट्स र चिनी हालेर पुनः चलाउने । अब ताछेर कोरेसो गरेको चुकन्दर हालेर मिक्स गर्ने र तात्तातो पस्कने ।

कागुनोको खिर
सामग्री : कागुनो आधा कप, दूध डेढ लिटर, मह पाँच चम्चा, ड्राई नट्स ५० ग्राम, घिउ दुई चम्चा, अलैँचीको धुलो पिन्च ।

विधि : बाक्लो भाँडोमा दूध बसाल्ने र कागुनोलाई राम्ररी पखालेर ओइराउने । सानो आँचमा चलाइचलाई ४५ मिनेट पकाउने । कागुनो राम्रोसँग पाक्न थालेपछि अलैँचीको धुलो र मह हालेर चलाउने । अन्तमा ड्राई नट्स घिउमा फुराएर खिरमा मिक्स गरी तात्तातो सर्भ गर्ने ।

पुलाउ
कतिपयले दूधमा पकाएको खिर नखान सक्छन् । उनीहरूका लागि घिउमा दम गरेको पुलाउ बनाउन सकिन्छ । 

पकाउने विधि : सुरुमा चामललाई केही बेर भिजाउने । एउटा भाँडामा घिउ राख्ने । त्यसमा तेजपत्ता, दालचिनी, ल्वाङ, सुकुमेललाई फुराउने र त्यसमा पानी राख्ने । सँगै, त्यसमा हल्का दूध राख्ने । भिजाएको चामललाई पनि राख्ने र पकाउने । 

अचार
सामग्री : काँक्रो, उसिनेको आलु, सानो केराउ, मेथी, तोरीको तेल, चुक अमिलो, नुन, बेसार, हरियो खुर्सानी, तिल । 

बनाउने विधि : केराउको दाना आकारमा काँक्रोलाई काट्ने, उसिनेको आलुलाई सानो आकारमा काट्ने । भिजाएको सानो दानाको केराउ, काटिएको काँक्रो र आलुलाई एउटा सफा भाँडामा एकै ठाउँमा राख्ने । यसमा नुन, खुर्सानी, अमिलो राख्ने । तिललाई भुट्ने र पिस्ने । पिसेको तिललाई एकै ठाउँमा राख्ने । अर्को एउटा भाँडामा तोरीको तेल तताउने, त्यसमा मेथीको दाना पड्काउने र त्यसमा बेसार राखेर मोल्ने । 

तरकारी
तिजको दरमा कर्कलो, आलु वा सिमी, काउली, आलुलाई मिक्स गरेर घरमै बनाउनेजस्तै तरकारी बनाउन सकिन्छ । 

पक्कु मटन 
पक्कु मटन अर्थात् ड्राई मटनलाई प्रायले रुचाउँछन् । एउटा पित्तल वा तामाको भाँडामा पकाउन सकिन्छ । 

पकाउने विधि : एउटा तामा वा पित्तलको भाँडामा थोरै तेल राख्ने । जिरा, लसुन, प्याज फुराउने । सँगै मटन राखेर भुट्ने । त्यसमा पिसेको जिरा, धनियाँ राख्ने । बेसार, हरियो खुर्सानी पनि राख्ने । पिसेको अदुवा, लसुन, नुन राखेर नरम खालको बनाएर ड्राई मटन वा पक्कु मटन बनाउन सकिन्छ । 

चिकेन
सामग्री : नुन, बेसार, जिराको धुलो, धनियाँको धुलो, टमाटर, चिकेन ।

पकाउने विधि : २० देखि २५ ग्रामको हुनेगरी कटिङ गर्ने । चिकेनलाई नुन र बेसार हालेर एक घन्टा छोपेर राख्ने । एउटा भाँडामा थोरै तेल तताउने । चिकेनलाई हल्का रूपमा तेलमा फ्राई गर्ने । हाफ काँचो फ्राई गरेर निकालेर अर्काे भाँडामा राख्ने । पुनः तेलमा जिरा, प्याज, लसुन फुराउने । त्यसमा काटेको टमाटर राख्ने । सँगै नुन, बेसार, चिकेन मसला, पिसेको जिरा र धनियाँ राखेर मसला बनाउने । फ्राई गरेको चिकेनलाई मसलामा मिसाउने । केही समय पाकिसकेपछि तातो पानी मिक्स गर्ने । चिकेन र झोल बराबर देखिने गरी बनाउने । यस्तो बनाउँदा सधैँ खाएकोभन्दा फरक स्वाद हुन आउँछ ।

ड्राई सब्जी मिक्स भेजिटेबल 
अहिले बजारमा पाइने भेजिटेबलहरूलाई मिश्रण गरेर ‘ड्राई सब्जी मिक्स भेजिटेबल’ बनाइन्छ । भिन्डी, पर्बल, आलु, काउलीलाई यसरी नै बनाउन सकिन्छ । 

पनिर 
बजारमा पाइने ठूलो खालको टमाटरलाई मिक्सरमा ग्राइन्डर गर्ने । धनियाँको दाना, रातो खुर्सानीलाई फ्राई गर्ने । टोमाटो, क्याप्सिकम राख्ने । हरियो खुर्सानी, नुन, खुर्सानीको धुलो, धनियाँ र जिराको धुलो प्रयोग गर्ने । यो पाकेपछि ग्राइन्डर गरिएको टमाटर राख्ने र नुन–मसला ठीक छ/छैन हेर्ने । 

पनिरलाई स–साना आकारमा कटिङ गर्ने । एउटा भाँडामा तेल राखेर ब्राउन हुने गरी फ्राई गर्ने । यसलाई झिकेर चिसो पानीमा राख्ने । चिसो पानीबाट निकालेर तयार भएको मसलामा मिक्स गर्ने । यसमा बटर र थोरै क्रिम हाल्यौँ भने होटेलमा पाइनेजस्तै कडाइ पनिर खान सकिन्छ ।  

सलाद
दरमा सलादको रूपमा काँक्रो, गाँजरलाई नै सलादको रूपमा प्रयोग गरिएको पाइन्छ । बजारमा विभिन्न प्रकारका सलाद पाइन्छ । जस्तै– टुसा उमारेका सलाद पाइन्छ । स्वास्थ्यलाई ध्यान दिँदै पछिल्लो समय मानिसहरूले टुसा सलादलाई प्रयोग गरेको पाइन्छ । भटमास, मुगको दाल, मासको गेडाबाट उमारेको टुसालाई सलादको रूपमा प्रयोग गर्न सकिन्छ । साथै, हरियो सागपात, काँक्रो, गाँजर, मुलालाई पनि लिन सकिन्छ ।