Skip This
कान्ति अस्पतालको गेटमै पुगेका गम्भीर बिरामीलाई पनि ‘सेटिङ’मा पठाइन्छ निजीमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३० शनिबार
  • Saturday, 27 July, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८o भदौ ३० शनिबार o६:२५:oo
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कान्ति अस्पतालको गेटमै पुगेका गम्भीर बिरामीलाई पनि ‘सेटिङ’मा पठाइन्छ निजीमा

Read Time : > 6 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ ३० शनिबार o६:२५:oo

बालबालिकाको मात्रै उपचार हुने विशिष्टीकृत एक मात्र सरकारी अस्पताल कान्तिमा देशभरबाट बिरामी आउँछन् । तर, केही कर्मचारीले कमिसनको लोभमा दूरदराजबाट आउने विपन्न बिरामीलाई अनेक बहानामा निजी अस्पतालमा पठाउँछन्, छेउमै रहेको शिक्षण अस्पतालको नामसमेत लिँदैनन् ।

१. आइसियू छैन भन्दै अप्रेसन गर्न निजीमा पठाइयो
जन्मँदै मुटुमा प्वाल परेको ६ महिने छोराको अप्रेसन गर्न भन्दै पाल्पा रामपुरकी बिनु क्षेत्री काठमाडौं आइन् । तर, काठमाडौं आएलगत्तै बच्चालाई ज्वरो र निमोनिया देखियो । १४ भदौमा उनी छोरा बोकेर कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमा पुगिन् । तर, ज्वरो र निमोनियासमेत भएको शिशुलाई आइसियू छैन भन्दै अस्पतालले फिर्ता पठाइदियो । कान्तिकै डाक्टरको सिफारिसमा उनले बिरामीलाई कलंकीस्थित नेसनल अस्पताल पुर्‍याइन् । ‘कान्तिमा भर्ना नलिएपछि त्यहीँका डाक्टरको सिफारिसमा नेसनल अस्पताल पुर्‍याएँ । छोरालाई निमोनिया भइसकेको रहेछ । ११ दिन आइसियूमा राख्नुपर्‍यो,’ उनले भनिन् । बिनुका श्रीमान् हाल विदेशमा छन् । मुटुमा प्वाल परेको समस्या लिएर अप्रेसन गर्न आएकी उनले शिशुको उपचारमा अहिलेसम्म तीन लाख खर्च गरिसकेकी छिन् । तर, अप्रेसनको प्रक्रिया भने सुरु भएको छैन । 

२. कान्तिका सेक्युरिटी गार्डले निजी अस्पतालमा पठाएका कैलालीका कृष्ण रोकायाले सिध्याए पाँच लाख
कैलाली घोडाघोडीका कृष्ण रोकायाले १२ भदौ बेलुकी ६ः१५ मा पाँच वर्षीय छोरा अर्पणलाई कान्ति अस्पताल पुर्‍याए । उच्च ज्वरो आएपछि धनगढी हुँदै जहाज चढेर उपचार गर्न आएका उनलाई कान्ति अस्पतालको गेटबाटै फर्काइयो । कृष्णले टाढाबाट आएको र बच्चाको अवस्था सिकिस्त रहेको बताउँदै गार्डसँग अनुनय गरे । गार्डले जेनतेन ढोकाबाट भित्र छिर्न दिए, तर डाक्टरले बेड खाली नभएको भन्दै बिरामी लिन मानेनन् । इमर्जेन्सीको गेटमा उभिएका सेक्युरिटी गार्डले कृष्णलाई कलंकीमा रहेको नेसनल अस्पतालमा लैजान भने । बच्चाको राम्रो उपचार हुने अस्पताल थाहा नभएका कृष्णले गार्डको कुरा सुनेर बच्चालाई सोही अस्पताल लगे । त्यहाँ पाँच दिनसम्म भेन्टिलेटरमा राखेर उपचार भयो । नेसनल अस्पतालले भेन्टिलेटरमा राखेको दैनिक २५ हजार शुल्क लिने गरेको छ । भेन्टिलेटर, औषधि र सामान्य बेडमा राखेर उपचार गर्दा कृष्णको हालसम्म पाँच लाख खर्च भइसकेको छ । ‘सरकारी अस्पताल सस्तो र राम्रो छ भन्ने सुनेर कैलालीदेखि बच्चा कान्तिमा पुर्‍याएँ, तर त्यहाँ त उपचार गर्नै मानेनन्,’ उनले गुनासो गरे, ‘टाढाबाट आएको बताउँदासमेत कुनै प्रतिक्रिया दिएनन्, सेक्युरिटी गार्ड र इमर्जेन्सीका डाक्टरले नेसनल अस्पताल लैजान भनेका थिए, तर यहाँ निकै महँगो रहेछ ।’

३. इमर्जेन्सीका डाक्टरले नै बेड छैन भन्दै हेर्न मानेनन् बिरामी
भक्तपुर बालकोटकी गोमा क्षेत्रीले डेढ वर्षीया छोरी जेनिशालाई अचानक ज्वरो आएपछि १२ भदौ राति ९ बजे कान्ति अस्पतालको इमर्जेन्सीमा पुर्‍याइन् । तर, त्यहाँ पुग्नेबित्तिकै इमर्जेन्सीमा छिर्न गार्डले अवरोध गरे । जेनतेन ठेलमठेल गर्दै इमर्जेन्सीमा बिरामी पुर्‍याए पनि डाक्टरले बेड खाली नभएको भन्दै उपचार गर्न मानेनन् । इमर्जेन्सीमै पुर्‍याएको बच्चाको उपचार सुरु नभएपछि गोमा छटपटाउन थालिन् । इमर्जेन्सीमा चिकित्सकलाई उनले बच्चालाई के भएको हो हेरिदिन अनुनयविनय गरिन् । तर, रातिको समयमा उच्च ज्वरो आएकी जेनिशालाई डाक्टरले जाँच्नसमेत मानेनन् । त्यहाँ उभिएका गार्डले गोमालाई कलंकीमा रहेको नेसनल अस्पतालमा लैजान सुझाव दिए । त्यसपछि गोमाले काठमाडौं महानगरपालिकाको एम्बुलेन्स बोलाइन् । ‘रातिको समयमा धेरै नै ज्वरो आएर अस्पताल पुर्‍याएको इमर्जेन्सीका डाक्टरले हेर्नै मानेनन्, त्यहाँ खटिएका गार्डहरूले नेसनलमा लैजानुस् त्यहाँ डाक्टरहरू राम्रो हुनुहुन्छ भन्दै एकोहोरो भनिरहेका थिए,’ उनले भनिन्, ‘महानगरको एम्बुलेन्स आएपछि बिरामी नेसनलमै लगेँ, कान्तिमा उपचार गर्न डाक्टरले नै मानेनन् ।’ 

४. डेंगुका बिरामीलाई समेत इमर्जेन्सी छिर्न नदिई पठाइयो नेसनल अस्पताल
दोलखाका विष्णु खत्रीले सात वर्षीय छोरा सन्देश खत्री ज्वरो र डेंगु संक्रमणले सिकिस्त भएपछि १८ भदौ बेलुकी ६ बजे कान्तिको इमर्जेन्सी वार्डमा पुर्‍याए । सेक्युरिटी गार्डलाई बिरामीको अवस्थाबारे विष्णुले जानकारी गराए । तर, सेक्युरिटी गार्डले नेसनल अस्पताल लैजान सुझाव दिए । तर, खत्रीले छोरालाई निकै गाह्रो भएको भन्दै ठेलमठेल गर्दै इमर्जेन्सी कक्षमा पुर्‍याए । तर, बच्चा सिकिस्त रहेको र त्यहाँ आइसियू नभएको भन्दै डाक्टरले भर्ना गर्न मानेनन् । त्यसपछि विष्णुले नेसनल अस्पताल नै लगे । ‘कान्तिमा बेड खाली थिए, तर हामीलाई बस्न दिएनन्, डाक्टर र गार्डले नेसनल अस्पतालमै लैजानुस् भनेर हामीलाई भनेका थिए,’ उनले सुनाए, ‘तर, यहाँ ल्याएपछि पनि बाबुलाई निको भएको छैन, ज्वरो उस्तै छ, भएको पैसा सबै उपचार गर्दा सकियो ।’ आफूहरूसँग पैसा नभएको बताउँदा पनि सेक्युरिटी गार्ड र इमर्जेन्सीका केही डाक्टरले नेसनल नै लैजान दबाब दिएको उनको गुनासो छ ।

५. १०६ डिग्री ज्वरो आएको बिरामीलाई हेर्दै नहेरी पठाइयो ब्लुक्रस अस्पताल
नुवाकोट विदुरका कृष्णकुमार श्रेष्ठले २१ भदौ बेलुकी ४ बजे तीन वर्षीय छोरालाई ज्वरो आएपछि कान्ति अस्पतालको इमर्जेन्सीमा पुर्‍याए । तर, त्यहाँ पुग्दा निकै भिड थियो । श्रेष्ठले बच्चालाई उच्च ज्वरो आएको बताउँदै इमर्जेन्सीमा जान दिन सेक्युरिटीसँग अनुरोध गरे । तर, उनलाई सेक्युरिटीले त्यहाँ छिर्न दिएनन्, बरु त्रिपुरेश्वरको ब्लुक्रस अस्पताल लैजान बिरामीका बुबा श्रेष्ठलाई सिफारिस गरे । ‘बच्चालाई उच्च डिग्री ज्वरो आइरहेको थियो, तर कान्तिमा उपचार गर्नै मानेनन्, सेक्युरिटी गार्डले निजी अस्पतालको नाम र नम्बर दिएर पठाए,’ उनले भने, ‘निजी अस्पतालमा उपचार निकै महँगो छ ।’

६. निजीमा बिरामी पठाउने तीन सेक्युरिटी गार्ड बर्खास्त
गत २४ माघमा मोरङकी २८ महिने बालिका प्रशंसा गौतमलाई उपचारका लागि आफन्तले महाराजगन्जस्थित कान्ति बाल अस्पताल लगे । त्यहाँ पुर्‍याउनासाथ सेक्युरिटी गार्डले उपचार गर्ने ठाउँ नभएको भन्दै ‘मेट्रो काठमाडौं अस्पताल’मा लैजान बालिकाकी आमा गंगा गौतमलाई दबाब दिए । हिमाल अस्पतालमा उपचार सम्भव नभएपछि कान्तिमा लगेकी गंगाले सेक्युरिटी गार्डको कुरा सुनिन् । उनले इमर्जेन्सीको ढोकैबाट बिरामी फर्काएर मेट्रो काठमाडौं अस्पतालमा लैजाँदै थिइन्, तर बालिकाको बाटोमै मृत्यु भयो । त्यतिवेला सेक्युरिटी गार्ड सहदेव खड्काले निजी अस्पतालमा बिरामी लैजान भनेका थिए । निजी अस्पतालसँग सेटिङ गरेर बिरामी पठाउने गरेको थाहा पाएपछि सेक्युरिटी गार्ड खड्का, डेनिस शेर्पासहित तीनजनालाई अस्पताल प्रशासनले माघमै जागिरबाट निकालिदियो । 

कान्ति बाल अस्पतालमा उपचारका लागि पुग्ने बिरामीलाई सेटिङका आधारमा निजी अस्पतालमा पठाउने गरेको पाइएको छ । गम्भीर अवस्थामा पुगेका बिरामीलाई समेत बेड अभावको बहाना बनाउँदै सेक्युरिटी गार्ड र चिकित्सकले अस्पतालको ढोकाबाटै निजी अस्पतालको नाम तोकेर फर्काइदिने गरेका छन् । केही बिरामीका आफन्त सेक्युरिटी गार्डको अवरोध छिचोलेर डाक्टरसम्म पुगे पनि डाक्टरले समेत गार्डले भनेकै निजी अस्पतालमा पठाएका घटनासमेत भेटिएका छन् । यस्तो धन्दामा संलग्न भएको पुष्टि भएपछि अस्पताल प्रशासनले यसअघि तीन सेक्युरिटी गार्डलाई कारबाहीसमेत गरिसकेको छ । 

उनीहरूले बिरामी पठाएबापत निजीसँग कमिसन लिएर कान्तिको गेटबाटै बिरामीलाई ‘कान्तिमा भन्दा राम्रो उपचार छ’ भन्दै पठाउने गरेको स्रोतको दाबी छ । ‘यहाँका सेक्युरिटी गार्ड र कतिपय चिकित्सकले नै निजी अस्पतालमा बिरामीलाई गेटबाटै पठाउने गर्छन्,’ कान्ति बाल अस्पतालको प्रशासनमा कार्यरत एक कर्मचारीले भने, ‘पहिले पनि तीनजना कर्मचारीले यसरी निजीसँग पैसा लिएर उनीहरूकहाँ बिरामी पठाएको प्रमाण भेटिएपछि जागिरबाट निकालिएको थियो ।’

१४ वर्षमुनिका बालबालिकाको उपचार हुने कान्ति बाल अस्पतालमा तीनजना स्थायी र १६ जना अस्थायी सेक्युरिटी गार्ड छन् । उनीहरूमध्ये केहीले कान्तिमा आएका बिरामीलाई निजी अस्पतालसँगको मिलेमतोमा अन्त पठाउने गरेका छन् । उनीहरूले गम्भीर प्रकारका बिरामी बोकेर अस्पतालको इमर्जेन्सी ढोकामै पुगेका बिरामीलाई समेत निजी अस्पतालमा पठाउने गरेको पाइएको छ ।

स्रोतका अनुसार केही सेक्युरिटी गार्डले निजी अस्पतालसँगको सेटिङमा कान्तिको गेटमै आइपुगेका बिरामीलाई समेत फर्काउने गरेका छन् । यतिसम्म कि उनीहरूले एम्बुलेन्स खोजिदिने र अस्पतालका व्यक्तिको नम्बरसमेत बिरामीलाई दिने गरेका छन् । हाल बच्चाको उपचारका लागि महाराजगन्जमा मेट्रो काठमाडौं अस्पताल, चाबहिलमा नेपाल–भारत अस्पताल, त्रिपुरेश्वरमा ब्लुक्रस अस्पताल, कलंकीमा नेसनल अस्पताल, बसुन्धरामा ईशानलगायतका निजी अस्पताल छन् । कान्ति बाल अस्पतालको गेटमा समेत निजी अस्पतालहरूको नम्बर राख्ने गरिएको छ । नजिकै रहेको त्रिवि शिक्षण अस्पतालमा पनि बालबालिकाको उपचारका लागि पर्याप्त ठाउँ भए पनि त्यहाँ भने पठाउने गरिँदैन् । बिरामीका आफन्तलाई निजी अस्पतालमै जान भन्छन् ।

१८ भदौमा ज्वरो र बान्ताले गम्भीर बनेकी मकवानपुरकी रेजिशा गोपालीलाई पनि इमर्जेन्सीमा बेलैमा उपचार गर्नबाट सेक्युरिटी गार्डले नै रोकेका थिए । उपचारका लागि पालो कुर्दै गर्दा पाँच वर्षीया बालिका रेजिशाको इमर्जेन्सीबाहिरै मृत्यु भएको थियो । त्यतिवेला इमर्जेन्सीको ढोकामा सेक्युरिटी गार्ड पवन ठकुरी र सुनील लुहार थिए । रेजिशाका आफन्तले बच्चाको अवस्था गम्भीर रहेको बताउँदा पनि उनीहरूले भित्रबाट पालैपालो पठाउन आदेश आएको भन्दै गम्भीर बिरामीलाई रोकेका थिए । जब कि रेजिशा बाहिर छटपटाउँदा भित्र उपचारमा छन् भनेका चिकित्सक भने आधा घन्टा बाहिर निस्किएर गायब भएको छानबिनमा पुष्टि भइसकेको छ । ठकुरी र लुहार दुवैजना कान्ति अस्पतालमा दुई वर्षदेखि अस्थायी सेक्युरिटी गार्डका रूपमा काम गर्दै आइरहेका छन् । 

कान्ति अस्पतालका सूचना अधिकारी रमेशनरसिंह केसीले सेक्युरिटी गार्डले बिरामीलाई निजी अस्पताल पठाउने गरेकोबारे अस्पताललाई जानकारी नभएको दाबी गरे । ‘बिरामीलाई सेक्युरिटीले निजी अस्पतालमा पठाउँछन् भन्ने सुनेका छैनौँ,’ उनले भने, ‘यदि बिरामीलाई निजी अस्पतालमा पठाउने गरेको तथ्य भेटियो भने कारबाही गर्छौँ ।’ उनले यसअघि तीनजना सेक्युरिटी गार्डलाई पनि यस्तै बदमासी गरेको भेटिएपछि हटाइएको बताए । 

चार वर्षअघि नै माग गरिएको थियो जनशक्ति बढाउन 
बिरामीको भिड बढेपछि कान्ति अस्पतालले चार वर्षअघि नै अस्पतालको अर्गनाइजेसनल सर्भेक्षण गरेर थप जनशक्ति र पूर्वाधारको मागसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रतिवेदन पेस गरेको थियो । तर, हालसम्म पनि त्यसबारे स्वास्थ्य मन्त्रालयले कुनै सुनुवाइ नगरेको अस्पतालका प्रवक्ता डा. सुमित अग्रवालको गुनासो छ । 

‘कान्तिको हालको संरचना ०५० सालतिरको हो, त्यसवेलादेखि यहाँ न जनशक्ति थपिएको छ, न त अन्य पूर्वाधारमा काम भएको छ,’ उनले भने, ‘अस्पतालको पुरानै अवस्थामा हामीले सेवा प्रवाह गरिरहेका छौँ ।’ 

बालिका मृत्युको घटनापछि इमर्जेन्सीको बाहिरबाट काउन्टर सेवा 
कान्ति बाल अस्पतालमा जस्तोसुकै बिरामी गए पनि सबैभन्दा पहिले टिकट नै देखाउनुपथ्र्यो । शुक्रबारदेखि भने यो नियम सच्चिएको छ । अब इमर्जेन्सीमा जाने बिरामीले इमर्जेन्सीअगाडि राखिएको टिकट काउन्टरबाटै टिकट काट्न पाउनेछन् । यसअघि ओपिडीकै टिकट काउन्टरमा गएर इमर्जेन्सीको टिकट काट्नुपर्ने बाध्यता थियो । टिकट काट्न ढिलो हुँदा इमर्जेन्सीमा बिरामी लैजान समस्या हुने गरेको थियो । अब भने इमर्जेन्सीको बाहिर नै टिकट काउन्टर राखिएको छ भने बिरामीको अवस्था हेरेर भित्र पठाउन नर्ससमेत राखिएको छ । गत सोमबार इमर्जेन्सीमा उपचारका लागि लगिएकी रेजिशा गोपालीको पालो कुर्दाकुर्दै मृत्यु भएको थियो । त्यसपछि अस्पताल प्रशासनले सामान्य नियम सच्याएको हो ।

दुई सय मिटर दूरीमा रहेको शिक्षण अस्पतालमा भने रेफर नै गरिन्न

कान्ति बाल अस्पतालदेखि करिब दुई सय मिटर दूरीको फरकमा छ त्रिवि शिक्षण अस्पताल (टिचिङ)को बाल उपचार कक्ष । तर, कान्तिले यहाँ बेड भए–नभएको बुझ्दै नबुझी अन्य निजी अस्पतालमा बिरामी पठाउने गरेको छ । टिचिङको बाल वार्डका बालरोग विशेषज्ञ डा. सूर्य थापाले यहाँ ६० बेड रहेको बताए । ‘हामीसँग सबै गरेर ६० वटा मात्रै बेड छन्, त्यसमा पनि पिआइसियू ६ वटा र एनआइसियू आठवटा छन्,’ उनले भने, ‘हाल अस्पतालमा १२ जना विशेषज्ञ डाक्टर छौँ ।’ थापाका अनुसार यहाँ सबैभन्दा बढी रेफर गरिएका बिरामी आउँछन् । तर, कान्तिबाट रेफर नगरिने उनले बताए । ‘मिर्गौला, लिभर, आन्द्रा, बाथरोग, शारीरिक विकास, अटिजमसम्बन्धी उपचार हामीकहाँ हुने गरेको छ । देशका विभिन्न अस्पतालबाट जटिल समस्या देखिएका बिरामी यहाँ रेफर गर्ने गरिन्छ । तर, कान्तिबाट रेफर भएको खासै थाहा छैन ।’

निजीमा बिरामी पठाएर उम्किन पाउँदैनन् सरकारी अस्पताल : मोहनबहादुर बस्नेत, स्वास्थ्यमन्त्री 
सरकारी अस्पतालहरूले बिरामीमाथि लापरबाही गर्ने र मिलेमतोमा निजीमा पठाउने गर्न पाउँदैनन् । बरु अस्पतालको संरचना व्यवस्थित गर्न मन्त्रालय तयार छ । कान्ति अस्पताललाई व्यवस्थित बनाउनेबारे पनि हामी गृहकार्य गर्दै छौँ । सरकारी अस्पतालले निजीमा बिरामी पठाएर उम्किन पाउँदैनन् । मिलेमतोमा निजीमा बिरामी पठाउने गरिएको भए कारबाही हुन्छ । 

मिलेमतो गरेर बिरामी पठाएको प्रमाण भेटिए कारबाही गर्छौँ : डा. सुमित अग्रवाल, प्रवक्ता, कान्ति बाल अस्पताल 
हामीसँग जम्मा तीन सय २५ वटा मात्रै बेड छन्, तर बिरामीको संख्या थेगिनसक्नु हुन्छ । बिरामीको संख्या धेरै भएपछि अब्जर्भेसन वार्डमा एउटै बेडमा तीनजनासम्म पनि बिरामी राख्नुपर्ने अवस्था छ । यो हाम्रो दोष होइन, किनभने हामीसँग उपचार गर्ने ठाउँ यति मात्रै छ । हाल अस्पतालमा पिआइसियू १२ वटा र एनआइसियू बेड २५ वटा छन् । त्यसैले यहाँ आएका बिरामीलाई अन्त पठाउनुको विकल्प हुँदैन । अर्को कुरा, एउटै अस्पतालले मात्रै सबै बिरामी धान्न सक्दैन । कान्ति अस्पतालमा धेरै बिरामी आउँछन् । हामीकहाँ दैनिक इमर्जेन्सीमा आउनेमध्ये २५ प्रतिशत सिकिस्त हुन्छन् । उनीहरूलाई विभिन्न अस्पतालमा रेफर गर्नुपर्ने हुन्छ । रेफर गर्दा सुरुमा टिचिङ र पाटन अस्पतालमा पठाउँछौँ । यदि सेक्युरिटी गार्डले आफूखुसी कुनै अस्पतालसँग मिलेमतो गरेर बिरामी पठाएको प्रमाण भेटिए कारबाही गर्छौँ । यसअघि पनि तीनजनालाई कारबाही गरेका थियौँ ।