१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
बिदाइ कार्यक्रमपछि प्रधानमन्त्रीसँग सामूहिक तस्बिर खिचाउँदै खेलाडी । तस्बिर सौजन्य : राखेप
रमेश सुवेदी काठमाडाैं
२o८१ जेठ ५ शनिबार o७:२o:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

प्रधानमन्त्री दाहालले गरे एसियाडमा सहभागी हुने खेलाडीलाई बिदाइ

६ असोजबाट चीनमा सुरु हुने १९औँ एसियन गेम्समा सहभागिता जनाउने २९ मध्ये १९ खेलका खेलाडीलाई बिदाइ गर्दै प्रधानमन्त्रीले भने– म पनि सँगै खेल हेर्नेछु ।

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:२o:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले १९औँ एसियन गेम्समा सहभागी हुने खेलाडी, पदाधिकारी र अफिसियललाई बिदाइ गरेका छन् । बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको बिदाइ कार्यक्रममा २९ मध्ये १९ खेलका खेलाडीको सहभागिता थियो । १० खेलका खेलाडी भने वैदेशिक प्रशिक्षण र प्रतियोगितामा व्यस्त रहँदा बालुवाटारमा भएको बिदाइमा सहभागी भएनन् । ६ असोजबाट चीनको होन्झाउमा सुरु हुने प्रतियोगितामा जाने खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)को संरक्षकसमेत रहेका प्रधानमन्त्रीले खादा लगाएर बिदाइ गरेका हुन् । 

एसियन गेम्समा २९ खेलबाट १२६ पुरुष र १२७ महिला खेलाडीको सहभागिता रहनेछ । उद्घाटन सत्रमा आफ्नो पनि सहभागिता रहने प्रधानमन्त्री दाहालले बताए । ‘एसियाली खेलकुदमा सहभागी हुने सबैलाई हृदयदेखि नै हार्दिक शुभकामना दिन चाहन्छु । आफ्नो तर्फबाट शतप्रतिशत दिने प्रयास गर्नुहोस्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मार्सलआर्टबाट पदकको आशा गरिएको छ । खेलाडीहरूले राम्रो गरिरहनुभएको छ ।’ ‘उद्घाटन सत्रमा म पनि हुनेछु । तपाईंहरूसँगै खेलको रोमाञ्चकता लिन्छु,’ उनले थपे ।

सरकार आवश्यक नीति तयार गर्न, खेलमा लगानी गर्न र पूर्वाधारको विकासमा लाग्न प्रयत्नशील रहेको बताएका छन् । एसियाडमा एथलेटिक्स, जुडो, कराँते र ब्याडमिन्टनमा समान आठ, बास्केटबल, पौडी, कुस्ती, ट्रायथलन र आर्चरीमा समान चार, बक्सिङमा १३, क्रिकेटमा १५ र ई–स्पोर्टस्मा २३ खेलाडी छन् । 

फेन्सिङ, टेबलटेनिस, स्क्वास, टेनिस र गल्फमा समान ६, फुटबलमा २२, ह्यान्डबलमा १६, कबड्डी, उसु र रग्बीमा समान १२, तेक्वान्दोमा ११, भलिबलमा २४ र भारोत्तोलनमा पाँच, साइक्लिङ र सुटिङमा दुई तथा ब्रेकिन डान्स र क्यानोइङमा समान एक खेलाडीको सहभागिता रहनेछ । बिदाइ कार्यक्रममा प्रधानमन्त्री दाहालसँगै युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव टंकलाल घिसिङ, ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठलगायत सहभागी थिए ।

 खेलाडीहरूसँग प्रधानमन्त्रीले भने– बक्यौता पुरस्कार रकम तत्कालै आउँछ
प्रधानमन्त्री दाहालले आज बस्ने मन्त्रिपरिषद् बैठकले खेलाडीको घोषित पुरस्कार रकम निकासा गर्ने बताएका छन् । उनले प्राविधिक तथा केही नीतिगत कारण आफैँले घोषणा गरेको पुरस्कार उपलब्ध गराउन ढिला भएको बताउँदै सबै बाधा सकिएको बताएका छन् । ‘केही प्राविधिक, केही नीतिगत कारण आफैँले घोषणा गरेको पुरस्कार ढिला हुन गएकोमा दुःख व्यक्त गर्न चाहन्छु । अब सबै बाधा फुकुुवा भएको छ । अर्थ मन्त्रालय हुँदै राखेपमा पुगेको छ । क्याबिनेटको बैठकसँगै खेलाडीले सबै पाउनेछन्,’ प्रधानमन्त्री प्रचण्डले सम्मान कार्यक्रममा बताए । यसपछि उपस्थित खेलाडीले एकैपटक ताली बजाएका थिए । प्रधानमन्त्रीको घोषणामा धेरै खुसी हुने खेलाडी क्रिकेटका थिए । 

खेलकुदका लागि चीन भ्रमण उपलब्धिमूलक हुने विश्वास 
प्रधानमन्त्री दाहालले खेलकुद क्षेत्रको पूर्वाधारका लागि चीन भ्रमण उपलब्धिमूलक हुने बताएका छन् । आफ्नो चीन भ्रमण खेल क्षेत्रको पूर्वाधार बनाउन उल्लेखनीय हुने बताएका हुन् । पूर्वसंस्कृति तथा पर्यटनमन्त्री एवं एनओसीका अध्यक्ष श्रेष्ठले चीन भ्रमणमा पूर्वाधार बनाउन पहल गर्नुपर्ने बताएपछि अमेरिका हुँदै चीन जाने तयारीमा रहेका प्रधानमन्त्री दाहालले सो प्रतिबद्धता जनाएका हुन् ।

‘आधुनिक सबै सुविधासम्पन्न रंगशाला बनाउने, कभर्डहल बनाउने या विभिन्न विधाका खेलका लागि आवश्यक पूर्वाधार बनाउने कुरामा ध्यानाकर्षण गराउनुभएको छ । यसपटक चीन भ्रमणमा खेल क्षेत्रमा केही उल्लेखनीय कामका निम्ति पहल गर्नेछु । विश्वास दिलाउन चाहन्छु,’ प्रधानमन्त्रीले भने । उनले खेलकुद क्षेत्रमा रहेका राखेप सदस्यसचिव, खेलकुदमन्त्रीले खेलकुद क्षेत्रको विषयमा झकझकाउने गरेको र आफूसमेत खेलकुदप्रेमी भएको बताएका छन् । 

 खेलाडीलाई रातो पासपोर्ट दिन माग
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडीको सेवासुविधा बढाउनुपर्ने र रातो पासपोर्ट उपलब्ध गराउनुपर्ने माग गरेका छन् । प्रधानमन्त्रीसमक्ष उनले भने, ‘मैले खेलाडीको पीडा बुझेको छु । एयरपोर्टमा घन्टौँ लाइनमा बस्नुपर्ने अवस्था छ । त्यसको अन्त्य होस् भन्न रातो पासपोर्टको माग गरेको छु । सरकारले सहयोग गर्नुपर्छ,’ मन्त्री लिम्बूले भनेका छन् । उनले खेलाडीको सेवासुविधा कम भएको र सधैँ चनाचिउराले पदक जित्न नसक्ने बताए । साथै, सामाजिक सुरक्षा कोषबाट खेलाडीलाई सुविधा दिनुपर्ने माग राखेका छन् । 

 ५० हजार क्षमताको  रंगशाला प्रस्ताव गर्नुपर्छ :  श्रेष्ठ
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रधानमन्त्री दाहाल चीन भ्रमणमा रहँदा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउन प्रस्ताव गर्नुपर्ने बताएका छन् । उनले यसअघि पनि चीनले नेपाली खेलकुदमा धेरै सहयोग गरेको र यसपटक प्रधानमन्त्रीको भ्रमणका क्रममा प्रस्ताव भए ठूलो खेलकुद कम्प्लेक्स बन्ने बताए । ‘हामी विकसित धेरै देशको तुलनामा खेल पूर्वाधारमा निकै कमजोर छौँ । हुनुपर्ने पूर्वाधार नै छैन,’ श्रेष्ठले भने, ‘यस विषयमा प्रधामन्त्रीज्यूले छलफल गर्नुहुन्छ भन्ने अपेक्षा छ ।

५० हजार दर्शक क्षमताको रंगशाला, स्पोर्टस् कम्प्लेक्स बनाउन प्रस्ताव गर्‍यो भने सहयोग आउने सम्भावना छ,’ श्रेष्ठले थपे । ‘यसअघि पनि दशरथ रंगशालालगायत धेरै पूर्वाधार बनाउन चीन सकारात्मक भएको थियो । यसपटक पहल भए खेलकुद क्षेत्रको पूर्वाधार राम्रो हुनेछ ।’ यस्तै, श्रेष्ठले खेलकुदपिताको नाताले प्रधानमन्त्रीबाट शुभकामना र बिदाइ पाउँदा खेलाडी खुसी र उत्साहित भएको बताए । राखेप सदस्यसचिव टंकलाल घिसिङले साउनदेखि बन्दसत्रमा रहेको र तयारी राम्रो भएको बताएका छन् । उनले पदकको सम्भावनासमेत रहेको बताएका छन् । 

ad
ad