मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २० बुधबार
  • Wednesday, 06 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ २८ बिहीबार ०६:१५:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दुई करोड गैरकानुनी सम्पत्ति देखिएका सिडिई शाक्यलाई एक वर्ष कैद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ २८ बिहीबार ०६:१५:००

विशेष अदालतले गैरकानुनी सम्पत्ति मुद्दामा खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजनल इन्जिनियर राजकुमार शाक्यलाई दोषी ठहर गरेको छ । बुधबारको इजलासले उनीमाथि कसुर कायम गर्दै एक वर्ष कैद सजाय सुनाएको हो । न्यायाधीशद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले यस्तो फैसला गरेको हो । 

दायर भएको तीन वर्षपछि मुद्दा ठहर हुने फैसला सुनाइएको हो । विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीले कैदका साथै बिगोबमोजिम असुलउपर हुने सजाय सुनाएको जानकारी दिए । ‘उहाँको दुई करोड ४२ लाख ६३ हजार रुपैयाँको स्रोत खुल्न नसकेपछि त्यसलाई बिगो रकम मान्दै उक्त रकमबराबर जरिवाना हुने र एक वर्ष कैद हुने सजाय सुनाइएको हो,’ उनले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ असार ०७७ मा गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै शाक्यसमेत तीनजनालाई प्रतिवादी बनाई मुद्दा चलाएको थियो । उनले आर्जन गरेको सम्पत्ति श्रीमती अल्का शाक्य र भान्जी नाता पर्ने प्रभा शाक्यमाथि खर्च गरेको भन्दै उनीहरूलाई समेत प्रतिवादी बनाइएको थियो । उनीहरूले भने सफाइ पाएका छन् । 

शाक्य ०४९ जेठबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिए । ओभरसियरका रूपमा सरकारी जागिर सुरु गरेका उनको बढुवा ०६४ माघमा भएको थियो । त्यसपछि ०७२ मा उनी सिनियर डिभिजनल इन्जिनियर पदमा बढुवा भई उनले खानेपानी तथा ढल व्यवस्थापन विभागका विभिन्न कार्यालय तथा आयोजना प्रमुखका रूपमा जिम्मेवारी पाउँदै आएका थिए ।

सिडिई शाक्यको ०७६ फागुनसम्मको सम्पत्ति गणना गर्दा वैध आय एक करोड ६१ लाख ७३ हजार रुपैयाँ हुनुपर्ने थियो । तर, उनले १२ करोड ३९ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति सिर्जना गरेको भेटिएको थियो । यसरी १० करोड ७७ लाख रुपैयाँभन्दा बढी रकम वैध आयस्रोतले खामेको नपाइएपछि मुद्दा चलाइएको थियो ।