१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २८ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ २८ बिहीबार o५:५८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राजकीय सम्मानसहित आज नेम्वाङको अन्त्येष्टि गरिँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ २८ बिहीबार o५:५८:oo

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको बिहीबार राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । बिहान ११ बजे निजी निवास बालुवाटारबाट शवयात्रासहित पशुपतिस्थित आर्यघाटमा पुर्‍याएर हिन्दू तथा लिम्बू परम्पराअनुसार नेम्वाङको पार्थिव शरीरलाई अन्त्येष्टि गर्ने गरी सरकारले तयारी गरेको छ । पूर्वसभामुख तथा एमाले उपाध्यक्ष नेम्वाङको शवयात्राको लागि रुट तय भएको छ । नेम्वाङको शवयात्राका लागि बालुवाटारस्थित निवासदेखि पशुपति आर्यघाटसम्मको रुट तय गरिएको एमाले केन्द्रीय प्रचार विभागले जनाएको छ । केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार नेम्वाङको शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगन्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट तय गरिएको छ । 

‘उहाँको शवयात्रा त्यसअघि नै हुने हुँदा शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आ–आफ्नो अनुकूलतामा निजी सवारीसाधन हुनेहरू शंखपार्क, धुम्बाराही र सवारीसाधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालयअगाडि) पुग्न हुन अनुरोध गरिन्छ,’ विष्टले विज्ञप्तिमा भनेका छन् ।

श्रद्धाञ्जली अर्पणका लागि नेम्वाङको पार्थीव शरीर बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालय च्यासलमा राखिएको थियो । त्यसपछि उनको पार्थीव शरीर बालुवाटारस्थित निजी निवासमा राखिएको छ । पार्टी कार्यालयमा चीन भ्रमण छोट्याएर फर्किएका महासचिव शंकर पोखरेललगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए । बुधबार पनि विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू, उच्चपदस्थ अधिकारी, ठूलो संख्यामा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुकलगायत श्रद्धाञ्जलीका लागि एमाले कार्यालय च्यासल पुगेका थिए । 

निजी निवास बालुवाटार पुर्‍याइएपछि पारिवारिक तथा धार्मिक संस्कारअनुसार नेम्वाङलाई श्रद्धाञ्जली व्यक्त गरिएको छ । त्यहाँ नेम्वाङप्रति आफन्तजन, इष्टमित्र र परिवारका सदस्यहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

विदेशमा रहेका दुवै छोरा आइपुगे

नेम्वाङका दुवै छोरा नेपाल आइपुगेका छन् । नेपाल आएलगत्तै एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेर उनीहरूले बुबाको मुख हेरी पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका छन् । जेठा छोरा मिङ्सो बेलायतबाट बुधबार नेपाल आइपुगेका हुन् । कान्छा छोरा सुहाङ मंगलबारै अस्ट्रेलियाबाट आइपुगेका छन् । बुबालाई श्रद्धाञ्जली दिने क्रममा उनीहरू केहीबेर भावविह्वल भएका थिए । उनीहरूले बुबालाई श्रद्धाञ्जली दिँदै गर्दा उपस्थित अन्य नेता–कार्यकर्ता र विदेशी कूटनीतिज्ञहरूको समेत आँखा रसाएको थियो । नेम्वाङको निधनको शोकमा बुधबार तोकिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्न बिहीबार ३ बजेलाई अर्काे बैठक तोकिएको छ ।