१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २७ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २७ बुधबार १४:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुन तस्करी प्रकरण : सिआइबीले बुझायो अनुसन्धान प्रतिवेदन

५० जनाविरुद्ध मुद्दा, तीन अर्ब ५० करोड बिगो दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २७ बुधबार १४:१२:oo

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ। 

सुन तस्करी प्रकरणमा सिआइबीले ५० जनाविरुद्ध  तीन अर्ब ५० करोड दुई लाख १६ हजार पाँच सय ५२ रुपैयाँबराबरको बिगो दाबी गर्दै मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई रायसहितको प्रतिवेदन बुझाएको हो। 

प्रतिवेदन बुझाउनुअघि सिआइबीले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्यले ५० जना प्रतिवादीमध्ये ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको बताइन्। उनका अनुसार फरारमध्ये १४ जना विदेशी नागरिक र चारजना नेपाली छन्।  

उनका अनुसार अनुसन्धानका क्रममा तस्करहरूले सिनामंगलबाट फेला परेको ६१ किलोसहित विभिन्न चरणमा अनुसन्धान गरी बरामद सबै ब्रेक प्याड जोख्दा ३०२.६२ किलो सुन ल्याएको खुलेको छ। 

उनले योजनाबद्ध विदेशी संलग्न भएर तस्करी भएको देखिएको बताइन्। उनले ६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानको फाइल फेरि पनि खुल्ने जानकारी दिइन्। 

पक्राउ परेकाविरुद्ध भन्सार ऐनअन्तर्गत अवैध सुन पैठारी र संगठित अपराध, नागरिकतासम्बन्धी ऐन, राहदानी ऐन, अध्यागमन ऐनसम्बन्धी कसुरको कारबाही अगाडि बढाउन सिफारिस गरिएको उनले पत्रकार सम्मेलनमा जानकारी दिइन्। 

सिआइबीले सुन तस्करी प्रकरणमा फरार १८ जना खोज्नका लागि सबै विधि अवलम्बन भएको बताएको छ। फरारहरूलाई पक्राउ गर्न पर्पल नोटिस जारी गरिसकिएको सिआइबीले बताएको हो। सुन तस्करीमा चिनियाँ नागरिकहरूको ठूलो नेक्सस संलग्न रहेको जानकारी दिएको छ। 

चिनियाँ नागरिकले तस्करी गरेर काठमाडौंमा सुन भित्र्याउन र त्यसको व्यवस्थापन गर्न नेपाली नागरिकको नाममा सातवटा कम्पनी खोलेको अनुसन्धानका क्रममा खुलेको सिआइबीले बताएको छ।