१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:२५:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जहाजको आशाले नागरिकलाई सास्ती, पाँचौँपटक उडान रद्द 

विश्वास गुमाउँदै नेपाल एयरलायन्स 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२५:oo

निधारमा टल्किएको रातो टीकाले बिदा सकिएको संकेत दिन्थ्यो। सरोज कुँवरको मनमा परदेश फर्किनुको पीडाभन्दा आफ्नै गाउँबाट जहाज चढ्ने आशा र खुसी धेरै थियो। उनको घर रेसुंगा नगरपालिका– ८ खानीगाउँ हो। 

उनी शुक्रबार परदेश फर्किने र हजुरआमाको उपचारसहितको संयोग मिलाएर जहाजमार्फत काठमाडाैं पुग्ने सोचमा थिए। तर, अन्त्यमा बिहान ६ बजेदेखि साढे ८ बजेसम्म जहाज कुरेर कुँवर परिवार निराश हुँदै फर्किनुपर्ने बाध्यतामा पर्‍यो। घरबाट बिदा भएका उनीहरू केहीबेरपछि माइक्रोमा बुटवल झरे।

‘बिरामी हजुरआमाको उपचारका लागि काठमाडाैं अस्पतालमा इमर्जेन्सी टिकट काटिएको छ। मौसम निकै राम्रो हुँदा पनि जहाज आएन,’ उनले भने, ‘नागरिकलाई पटक–पटक धोका मात्रै भएको छ।’

शुक्रबार रेसुंगा एयरपोर्टबाट दुःखी भएर फर्किए अघाँखाचीका सुरज मियाँ। आफन्त बिरामी छन्। लामो दूरीका कारण गाडीमा सास्ती हुने भएकाले जहाज जाने सोचमा थिए। तीनपटकसम्म नेपाल एयरलाइन्सको टिकट पनि लिए। तर, तीन–तीनपटक जहाज आएन। ‘मैले मात्रै सास्ती खेपेको छैन। गुल्मी, अर्घाखाँचीका कैयौँ यात्रु धेरैपटक फर्किनुपर्‍यो,’ उनले भने, ‘देशको सिस्टमले एयरलाइन्स मनलाग्दी देख्दैन ।’ 

नागरिक निराश

प्रत्येकपटक एयरलाइन्सले टिकट बुकिङ गरेपछि नागरिकमा आशा पलाउँछ। लगभग सबैपटक टिकट आवश्यकताअनुसार नै काटिएका छन्। शुक्रबारको उडानका लागि रेसुंगा विमानस्थल–काठमाडौं १३ र काठमाडौं–रेसुंगा विमानस्थलका लागि आठजनाले टिकट काटेका थिए। 

अहिलेसम्म पाँचपटक उडान रद्द भए। एयरलाइन्सले टिकट बुकिङ खुला गरेपछि रेसुंगा नगरपालिकाले पनि प्रचार–प्रसार र समन्वय गर्दै आएको छ। तर, धेरैपटक उडान नभएपछि आफूहरूलाई पनि नागरिकको अगाडि मुख देखाउन मुस्किल परेको रेसुंगा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले गुनासो गरे। रेसुंगा नगरपालिका विमानस्थल भएको स्थानीय तह भएकाले पनि थुप्रैपटक नागरिक आलोचना खेपिरहेको छ। 

रेसुंगा नगरपालिका– १० का वडाध्यक्ष रामबहादुर बस्नेत प्रत्येक उडानका लागि विमानस्थल पुग्छन्। स्थानीय वडा भएकाले नागरिकको सास्ती नजिकबाट देखेका छन्। तर, उनीसँग विकल्पको उपाय छैन। 

बस्नेतले उडान रद्द हुँदा नागरिकले पाएको सास्ती देखेर दुखः व्यक्त गरे। उनले प्रतिकूल मौसम हुँदा स्वयं यात्रुले पनि चित्त बुझाउने भए पनि मौसम राम्रो हुँदा जहाज नपठाएर नेपाल एयरलाइन्सले लापरबाही गरेको बताए।
 
जहाजको फाइदा चाडपर्वनजिक रहेकाले सबैभन्दा बढी व्यवसायीलाई थियो। उनीहरू पर्वहरू नजिक हुँदा पनि नियमित उडान नहुँदा आक्रोशित छन्। 

गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष ताराप्रसाद भुसाल नेपाल एयरलाइन्सले हुँदै नभएको अल्टरनेट विमानस्थलको मौसमलाई कारण देखाएर यात्रुहरूलाई बुर्बक सम्झिएको बताए। उनले दुवै स्टेसनमा बिहान नियमित उडान भएको प्रतिक्रिया दिए।

व्यवस्थापनमा समेत सास्ती

टिकट बुकिङपछि जहाज नआउँदा विमानस्थल पुग्ने यात्रुसँगै व्यवस्थापन गर्ने कर्मचारी, सुरक्षाकर्मी र जनप्रतिनिधिलाई समेत सास्ती भएको छ। उडानको दिन बिहानै चेकजाँच, आन्तरिक सुरक्षा, लोडसिट र अवतरण व्यवस्थापनका थुप्रै काम हुन्छन्। तर, अन्तिममा जहाज आउँदैन। 
 
एयरलाइन्सको रेसुंगा विमानस्थल इन्चार्ज सुमन थापाले यात्रुहरूलाई काठमाडाैं जहाज उडेपछि बोलाउने कुरा नहुने भएकाले उडान रद्द हुँदा यात्रुसँगै व्यवस्थापनमा समेत सास्ती हुने गरेको बताए। उनले ६ असारपछि धेरै समय मौसम र कैयाैँपटक यात्रु नभएका कारण उडान रद्द भएको प्रतिक्रिया दिए।
 
उडानको बाधक मौसम : एयर ट्राफिक कन्ट्रोलर

नागरिक उड्ड्यन प्राधिकरणको एयर ट्राफिक कन्ट्रोलर अस्मिता बस्नेतले रेसुंगा विमानस्थलमा आजको उडान रद्द मौसमको कारण नभएको बताइन्। उनले बिहानको मौसम राम्रो हुँदाहुँदै पनि नेपाल एयरलाइन्सले हतारमा उडान रद्द गरेको प्रतिक्रिया दिइन्। बस्नेतले गुल्मीतर्फको मौसम सफा हुँदा पनि भैरहवा र पोखराको कारण देखाएर दुई घन्टा नहुँदै उडान रद्द भएको बताइन्। 

‘अघिका उडान मौसमकै कारण रद्द भए पनि आज त्यस्तो थिएन। एयरलाइन्सले आधा घन्टाअगाडि नै उडान क्यान्सिल गर्‍यो,’ उनले भनिन्, ‘दुई घन्टा पर्खिनुपर्थ्याे।’ बस्नेत गुल्मी आएका झन्डै एक महिना भयाे। करिब तीन महिनादेखि उडान भएका छैनन्। उनले यात्रुहरू भए पनि पहाडी जिल्लाका विमानस्थलहरूमा उडान रद्द हुने प्रमुख कारण मौसम भएको बताइन्। 

रेसुंमा विमानस्थल बिहान प्रायः कुहिरोले छेक्छ। दिउँसो मौसम खुल्छ। तर, हावा चल्छ। १२ बजेपछि उडान अनुमति छैन। आइएफआर प्रविधि पहाडमा सम्भावना छैन। भिएफआरबाट सबै यकिन गर्न नसकिने भएकाले पहाडको दूरीअनुसार मौसम हेरेर अवतरण र उडान हुने नागरिक उड्ड्यन प्राधिकरणको एयर ट्राफिक कन्ट्रोलर बस्नेतले बताए। 

गुल्मीको सिमीचौरमा निर्माण भएको रेसुंगा विमानस्थलमा २५ जेठ ०७५ मा तारा एयरको जहाजले कच्ची धावनमार्गमा सफलतापूर्वक धुले उडान गरेको थियो । तारा एयरकै जहाजले २४ पुस ०७९ मा ‘प्रुभिङ फ्लाइट’ गरेको थियो। 

गत १५ वैशाखमा नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान गर्‍यो। परीक्षण उडान गरेको निगमकै नाइन ए एबिटी जहाजले नै पहिलो व्यावसायिक उडान गरेको हो। धुले उडान भएको चार वर्षपछि पक्की धावनमार्गमा व्यावसायिक उडान सुरु भएको थियो।