१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २५ सोमबार
  • Friday, 09 May, 2025
२o८o भदौ २५ सोमबार १६:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्मचारी नहुँदा सिँजा क्षेत्रका स्थानीयलाई नागरिकता लिन सास्ती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २५ सोमबार १६:३२:oo

जुम्लाको सिँजा गाउँपालिका– ३ नराकोटस्थित इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा नागरिकता नपाएको गुनासो बढेको छ। सिँजा क्षेत्रका तीन गाउँपालिका हिमा, सिँजा र कनकासुन्दरीका नागरिकले इलाका प्रशासन कार्यालयबाट नागरिकता नपाएको गुनासो गरेका हुन्।

कामु शाखा अधिकृत नायव सुब्बा सुरत गिरीको सरुवा भएपछि नराकोटस्थित इलाका प्रशासन कार्यालय कर्मचारीविहीन भएको छ। कर्मचारीविहीन भएपछि सेवाग्राहीले नागरिकता लिनसमेत सकस भोगिरहेका छन्।

स्थानीय दलवीर रोकायाका अनुसार वर्षायामको समयमा भौगोलिक विकटता र कठिनाइका साथ सेवा लिन आएका सेवाग्राही सेवा नलिई फर्कन बाध्य छन्। एक सातादेखि सेवाग्राही इलाका प्रशासन कार्यालय आएर फर्किरहेका छन्।

कर्मचारी नभएरै नागरिकता नपाउनु दुःखद भएको राष्ट्रिय मानव अधिकार आयोगको भनाइ छ। यस विषयमा ध्यानाकर्षण भएको आयोगको जुम्ला शाखा कार्यालयका प्रमुख धनराज शाहीले बताए। उनले भने, ‘सिँजा क्षेत्रका तीन गाउँपालिकाका नागरिकले इलाका प्रशासन कार्यालय नराकोटबाट नागरिकता लिँदै आएका थिए।

तत्काल इलाका प्रशासनमा कर्मचारीको व्यवस्थापन गरी नागरिकता वितरण गर्न वातावरण सिर्जना गर्न जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयलाई पत्रचार गर्ने शाहीको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार १० दिनअघि इलाका प्रशासनमा रहेका कामु शाखा अधिकृत नायव सुब्बा सुरत गिरीको सरुवा भएको छ। ‘गिरीलाई ६ महिनाका लागि इलाका कार्यालयमा खटाइएको थियो। अहिले उहाँको सरुवा भएपछि इलाका प्रशासन कर्मचारीविहीन भएको हो,’ प्रजिअ घिमिरेले भने।

इलाका प्रशासनबाट नागरिकता वितरण रोकिएकाले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण भइरहेको उनको भनाइ छ।