१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
भूकम्पले क्षतिग्रस्त पुरानो सहर माराकेसको भग्नावशेषबाट एक महिला आफ्नो सामान बाहिर निकाल्दै । तस्बिर : एएफपी
एजेन्सी
२o८१ बैशाख २० बिहीबार o६:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प, हजारभन्दा धेरैको मृत्यु

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:o५:oo

माराकेस सहरबाट ७१ किमि दक्षिण–पश्चिमस्थित हाई एट्लस माउन्टेन्सलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति ११:११ मा गएको थियो भूकम्प

अफ्रिकी राष्ट्र मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा एक हजार ३७ जनाको मृत्यु भएको छ । शनिबार रातिसम्मको रिपोर्टअनुसार ६ सय ७२ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । 

स्थानीय समयअनुसार शुक्रबार राति ११:११ बजे ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको १९ मिनेटपछि ४.९ म्याग्निच्युडको परकम्प गएको थियो । माराकेस सहरबाट ७१ किलोमिटर दक्षिण–पश्चिमस्थित हाई एट्लस माउन्टेन्सलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको गहिराइ १८.५ किलोमिटर रहेको अमेरिकी भूसर्वेक्षण केन्द्रले जनाएको छ । भूकम्पमा केही हराइरहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

भूकम्पबाट माराकेस सहर र त्यहाँबाट दक्षिणी क्षेत्रका मानिसले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । माराकेसमा रहेको राष्ट्रसंघको सम्पदा सूचीमा परेको मेडिनाका केही हिस्सामा क्षति पुगेको छ । भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । माराकेस, अगादिर, कासाब्लांका, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि प्रभावित भएका छन् । प्रभावित क्षेत्रका बासिन्दा मध्यरातमा घर छोडेर भागेका थिए । मराकेस, कासाब्लांकालगायत सहरी क्षेत्रका मानिसले सडकमा रात बिताएका छन् । अहिले पनि अधिकांश मानिस घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् । शक्तिशाली भूकम्पपछि शनिबार दिउँसो स–साना धक्का महसुस गरिएको सञ्चार माध्यमले बताएका छन् । 

भूकम्पपछि दश मिनेटसम्म बिजुली र टेलिफोन सेवा बन्द भएको थियो । सरकारी अधिकारीका अनुसार देशको एकतिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । भूकम्पले नराम्ररी प्रभावित भएका पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँमा उद्धार कार्य निकै कठिन भएको छ । पुराना भवन भएका ती गाउँमा अकल्पनीय विनाश भएको अनुमान गरिएको छ । ती स्थानमा उद्धारकर्ता पुग्न केही दिन लाग्न सक्छ । क्षति तथा हताहतीको पूर्ण विवरण आउन बाँकी छ ।

यसैबीच, विश्वका विभिन्न देशका नेताले मोरक्को सरकारप्रति सहानुभूति प्रकट गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जी–२० शिखर सम्मेलनमा भाग लिने सिलसिलामा भारतको राजधानी नयाँदिल्लीमा रहेका बेलायती प्रधानमन्त्री ऋषि सुनकले मोरक्कोलाई आफ्नो देशले हरसम्भव सहयोग गर्ने बताएका छन् । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मोरक्कोलाई सहयोग गर्ने प्रस्ताव गरेका छन् भने फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले पनि मोरक्कोका भूकम्पपीडित जनता र त्यहाँको सरकारप्रति ऐक्यबद्धता प्रकट गरेका छन् । 

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मोरक्कोमा गएको भूकम्पका कारण भएको क्षतिप्रति शोक प्रकट गरेका छन् । उनले यथाशीघ्र स्पेनी उद्धार टोली मोरक्को पठाउने बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि मोरक्को नरेश मोहम्मद छैटौँलाई शोक सन्देश पठाएर समवेदना व्यक्त गरेका छन् ।
 

ad
ad