मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५१:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

महिलाद्वारा उत्पादित सामग्री विदेश निर्यात गर्ने व्यवस्था गर्न सरकारसँग माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५१:oo

महिलाद्वारा उत्पादित सामग्री प्रवर्द्धन गरी विदेश निर्यात गर्ने व्यवस्था गर्न महिला उद्यमीहरूले सरकारसँग माग गरेका छन्। 

कोभिड महामारीपछि महिला उद्यमी मेलामा नेपालमा नै उत्पादित सामग्रीहरू प्रदर्शनमा बसेका महिला उद्यमीहरूले सरकारसँग यस्तो माग गरेका हुन्। 

महिला उद्यमीहरूले कोभिड महामारी र विश्वव्यापी आर्थिक मन्दीका कारण साना तथा मझौला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूले बजार पाउन नसकिरहेको भन्दै सरकारले विदेश निर्यात गर्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताए। 

उनीहरूले सरकारले नेपाली कच्चा पदार्थबाट निर्मित नेपाली ब्रान्डलाई प्रोत्साहन गर्न नसकेको गुनासो गरे। महिला उद्यमीहरूले उद्यमीहरूलाई राज्यले सहुलियतमा ऋण र सीपमूलक तालिम दिन आवश्यक रहेको बताए।

महिला उद्यमीहरूले नेपालमै उत्पादित कच्चा पदार्थबाट बनेका विभिन्न सामग्रीहरूलाई सरकारले सहज रूपमा स्वदेश तथा विदेशमा बजारीकरणको व्यवस्था गर्न आवश्यक रहेको औँल्याएका छन्। 

उनीहरूले नेपाली कच्चा पदार्थबाट हस्तनिर्मित सामान, ढाकाका कपडा, अल्लोका कपडा, बाँसका सामग्री, चाँदीका गरगहना, चियापत्ती विदेश निर्यात गर्न सरकारले सहज व्यवस्था गरे महिला उद्यमीहरूको संरक्षण र प्रवर्द्धन हुने विश्वास रहेको उल्लेख गरे। महिला उद्यमीहरूले उत्पादन गरेका नेपाली कच्चा पदार्थबाट हस्तनिर्मित सामानहरू विश्व बजारमा पुर्‍याउन सके मात्रै मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए। 

सरकारले मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि विदेशी वस्तु आयातभन्दा पनि नेपाली उत्पादनलाई प्रमुख प्राथमिकता दिएर मुलुकभित्रै खपत गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए। 

महिला उद्यमी तथा रजनी हस्तकलाकी सञ्चालक रजनी राई चित्रकारले नेपालमा पाइने अर्गानिक घाँस, पराल, केराको रेसा, मकैका खोस्टालगायत कुहिने वस्तुहरूको प्रयोग गरी सामग्रीहरू बनाउने र बेरोजगारीलाई स्वरोजगार बनाउने काम गरेको अनुभव सुनाइन्। 

उनले सरकारले साना र मझौला महिला उद्यमीहरूले उत्पादन गरेको सामग्री नेपालमा नै खपत गर्न राज्यदेखि सबै नेपाली नागरिक लाग्न आवश्यक रहेको उल्लेख गरिन्।

सञ्चालक चित्रकारले महिला उद्यमीहरूले नेपाली कच्चा पदार्थबाट उत्पादन गरेका अर्गानिक सामग्रीहरूलाई विश्व बजारमा पुर्‍याउन सके नेपाली सीप, कला र सामग्री अन्तर्राष्ट्रिय बजारमा चिनारी हुन सक्ने बताइन्। 

त्यस्तै, महिला उद्यमी राधिका पन्थीले महिला उद्यमीहरूले नेपाली कच्चा पदार्थमार्फत उत्पादित वस्तुहरूको बजारीकरण कम रहेको बताइन्। 

उनले त्यस्ता वस्तुहरूको बजारीकरण गर्नको लागि समय–समयमा स्वदेश तथा विदेशमा मेलाको आयोजना गर्न आवश्यक रहेको धारणा राखिन्। महिला उद्यमीहरूको प्रोत्साहनको लागि सरकारले सामग्रीहरूको आन्तरिक मात्रै नभएर अन्तर्राष्ट्रिय बजारसम्म बजारीकरण गर्न माग गर्दै उद्यमी पन्थीले राज्यका हरेक निकायहरूको नजर महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूमा जान आवश्यक रहेको बताइन्। 

त्यस्तै, ढाकाको कपडा उत्पादक महिला उद्यमी रिता थापाले नेपाली ढाकाको कपडा उत्पादनमा सरकारले सहुलियत ऋणको व्यवस्था गर्नुपर्नेमा जोड दिइन्। घरेलु उत्पादनहरूलाई राज्यले थोरै मात्रै प्रोत्साहन गरे मूल्य सस्तो र बजारीकरण गर्न सहज हुने बताइन्।