१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:५७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

डेमोस्ट्रेसनका रूपमा करिब १० हजार किशोरीलाई एचपिभी खोप लगाइने  

पाठेघर मुखको क्यान्सरबाट प्रत्येक तीनजनामध्ये दुईको मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:५७:oo

यही २७ भदौदेखि १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ। 

स्वास्थ्य सेवा विभागले पाठेघरको मुखको क्यान्सर रोगको रोकथाम गर्न यो रोगविरुद्ध २० हजार मात्रा एचपिभी खोप लगाउन लागेको जानकारी दिएको हो। 

विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले हाल उपलब्ध भएको एचपिभी खोप ६ महिनाको अन्तरालमा दुई मात्रा लगाउनुपर्ने बताए। उनका अनुसार एचपिभी खोप दुई मात्रा पूरा गरेमा लक्षित गरेको प्रजातिबाट हुने संक्रमणबाट ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्छ। 

यो खोप यौन सम्पर्क हुने उमेरभन्दा पहिले नै दिएमा बढी प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएको छ। पहिलो मात्रा खोप लगाउँदा उमेर खुल्ने आधिकारिक प्रमाण, दोस्रो मात्राको हकमा पहिलो मात्रा लगाएको खोप कार्ड आवश्यक पर्ने बताए। 
 
साधारणतया एचपिभी खोप लगाएपछि खोप लगाएको ठाउँमा दुख्ने वा सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने, रिंगटा लाग्ने, ज्वरो आउने, एलर्जीलगायतका सामान्य असर देखिन सक्छन्। 

निकट भविष्यमा १० देखि १४ वर्षसम्मका सबै किशोरीलाई खोप लगाउने गरी राष्ट्रियस्तरको नियमित खोप कार्यक्रममा समावेश गरी नियमित खोप चल्ने स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने प्रमुख गौतमले जानकारी दिए। 

उनका अनुसार पाठेघरको मुखको क्यान्सरको सुरुको अवस्थामा धेरैजसोमा लक्षण नदेखिए पनि अन्तिम अवस्थामा मात्र पहिचान हुन सक्ने बताए। 

संक्रमण हुँदा पछि गएर तल्लो पेट दुख्ने, अनियमित रूपमा रगत बग्ने, धेरै रगत बग्ने, गन्हाउने पानी बग्ने, कमजोर हुँदै जाने र रक्त अल्पताजस्ता लक्षणहरू देखिने बताए। एचपिभी मुख्यतः संक्रमित व्यक्तिसँगको यौन सम्पर्कबाट सर्ने र यो संक्रमित व्यक्तिको यौनांगको छाला श्लेष्म झिल्ली वा तरल पदार्थसँगको सम्पर्कमार्फत पनि सर्न सक्ने डा.गौतमले बताए। 

एचपिभी खोप सेवा उपलब्ध हुने अस्पतालहरूमा कोशी प्रदेशमा कोशी अस्पताल विराटनगर, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगन्ज, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, लुम्बिनी प्रदेशमा भेरी अस्पताल नेपालगन्ज, कर्णाली प्रदेशमा प्रदेश अस्पताल वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा अस्पताल डडेल्धुरा छन्।

खोपको शुभारम्भ परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गर्ने कार्यक्रम तय भएको छ।