१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:५५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सांसद सापकोटाद्वारा ढाकामा आयोजित ‘रिजनल क्लाइमेट समिट’ लाई सम्बोधन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:५५:oo

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले बंगलादेशको राजधानी ढाकामा जारी ‘रिजनल क्लाइमेट समिट’ लाई सम्बोधन गरेका छन्। त्यसक्रममा सापकोटाले विकासोन्मुख मुलुक हुनुको नेताले नेपालले भर्खरै ठूला पूर्वाधारको विकासमा हात हालेको र त्यसकाे नकारात्मक असर जलवायु परिवर्तनमा देखिन थालेको बताए।

पछिल्लो समय नेपालमा बाढी, पहिरोको जोखिम बढ्नुमा सोही कारण प्रमुख रहेको उनको भनाइ थियो। यद्यपि, कमभन्दा कम वातावरणीय क्षतिमा विकास निर्माण र पूर्वाधारका काम अघि बढाउन सरकार र सम्बद्ध निकाय सचेत रहेको उनको भनाइ थियो।

सापकोटाले दक्षिण एसिया क्षेत्रका खास गरी तीव्र विकासमा अघि बढेका भारत र बंगलादेशको अनुभव नेपालका लागि काम लाग्ने बताए। सापकोटाले नेपालले पूर्वाधार विकास र पर्यावरण संरक्षणलाई सँगसँगै अघि बढाएको जानकारी सम्मेलनलाई गराए। नेपाल जलवायु परिवर्तनको उच्च जोखिम क्षेत्रमा रहेकाले त्यसबाट जोगिँदै अघि बढ्न छिमेकी र विश्व समुदायको दरिलो साथ चाहिएको उल्लेख गरे। 

सापकोटाले जलवायु परिवर्तनले निम्त्याएका असरहरूबाट प्रभावित दक्षिण एसियाली मुलुकहरूले त्यसका साझा दुष्प्रभाव न्यूनीकरणका लागि हातेमालो गर्नुपर्नेमा जोड दिए। स्वच्छ खानेपानी र फोहोर व्यवस्थापन नेपालका प्रमुख चुनौती रहेको उनको भनाइ थियो। सापकोटाले दिगो विकास लक्ष्य हासिल गर्न विकासका पूर्वाधारको निर्माण गर्नुपर्ने र पर्यावरणीय सन्तुलन पनि कायम राख्नुपर्ने विरोधाभासपूर्ण चुनौतीको सामना गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यको खाँचो औँल्याए।

उनले नेपालको धनकुटा र स्याङ्जामा स्थानीय तहहरूले मौलिक रूपमा एकीकृत फोहोर व्यवस्थापन प्रणाली अपनाइहरेको भन्दै त्यो नेपाल स्वयं र अरू मुलुकहरूका लागि पनि नमुनायोग्य हुन सक्ने बताए। जैविक र अजैविक फोहोर छुट्याएर पुनः प्रयोगमा ल्याउन सकिने फोहोरलाई प्रयोग गर्ने र रोजगारी सिर्जनासँगै आर्थिक विकासमा समेत उक्त प्रयोग फलदायी देखिएको चर्चा उनले गरे। सापकोटाले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न, दिगो पानी व्यवस्थापन र फोहोर व्यवस्थापनमा दक्षिण एसियाली मुलुकहरूबीच साझा प्रयास, अनुभवहरूको आदानप्रदान र सहकार्य जरुरी रहेको औँल्याए। 

तीन दिनसम्म चल्ने सो कार्यक्रममा नेपाल, भारत, बंगलादेश र भुटानका गरी ४० सांसद सहभागी छन्। नेपालबाट सापकोटासहित कांग्रेसका प्रदीप पौडेल, एमालेका ठाकुर गैरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोबिता गौतम र संसद्को पूर्वधार विकास मितिका सचिव उदय भण्डारी सहभागी छन्। 

बंगलादेशले वातावरण परिवर्तनका असरबाट जोगिने उपायको खोजीका लागि संसदभित्र छुट्टै ‘क्लाइमेट पार्लियामेन्ट’ नामको संरचना निर्माण गरेको छ। दक्षिण एसियाका अन्य मुलुकले पनि आफूले जस्तै क्लाइमेट मार्लियामेन्ट निर्माण गरून् भन्ने उद्देश्यले बंगलादेशले उक्त कार्यक्रम आयोजना गरेको सापकोटाले बताए। ‘यहाँ मन्त्रीसरहका एक सांसदको नेतृत्वमा क्लाइमेट पार्लियामेन्ट’ गठन गरिएको रहेछ,’ ढाकाबाट सापकोटाले भने, ‘दक्षिण एसियाली मुलुकहरूमा वातावरण प्रदूषण रोक्न, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र चुनौतीको सामूहिक रूपमा फेस गर्न सबै सदस्य राष्ट्रले ‘क्लाइमेट पार्लियामेन्ट’ बनाउनुपर्छ भन्ने लबिङमा उहाँहरू हुनुहुँदोरहेछ।’ 

बंगलादेशका सभामुख डा. सिरिनसार्मिन चौधरीले उदघाटन गरेको सम्मेलनमा विश्व बैंक, एसियाली विकास बैंक, जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधि तथा विभिन्न देशका राजदूत सहभागी छन्।