Skip This
श्रमिकको उद्धार गर्न ८५ करोड खर्चियो बोर्डले
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २० बुधबार
  • Saturday, 27 July, 2024
मुना कुँवर काठमाडाैं
२o८o भदौ २० बुधबार o८:o१:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

श्रमिकको उद्धार गर्न ८५ करोड खर्चियो बोर्डले

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ २० बुधबार o८:o१:oo

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकको उद्धार गर्न तथा आर्थिक सहायतामा ८५ करोड खर्चिएको छ । बोर्डको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७९/८० मा ६ हजार चार सय ६९ श्रमिकको सहयोगमा ८४ करोड ८० लाख खर्च भएको हो । 

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका परिवारलाई आर्थिक सहायताबापत बोर्डले ६५ करोड ५१ लाख खर्च गरेको छ । अंगभंग वा गम्भीर बिरामी भएका श्रमिकलाई आर्थिक सहायताबापत गत वर्ष मात्रै नौ करोड ९७ लाख खर्च भएको छ । बोर्डले ५६ लाख रुपैयाँ श्रमिकको परिवारका सदस्यलाई स्वास्थ्य उपचारका लागि खर्च गरेको छ । त्यस्तै, श्रमिकका छोराछोरीलाई छात्रवृत्तिबापत दुई करोड ८२ लाख भुक्तानी गरेको छ । 

त्यस्तै, बोर्डले शव व्यवस्थापनमा लागि दुई करोड ८५ लाख खर्च गरेको छ । विदेशमा हराएका श्रमिकको उद्धार तथा खोजतलासका लागि ४३ लाख १० हजार, शव झिकाउन दुई करोड ६० लाख तथा अभिमुखीकरण तालिमबापत तीन लाख ५४ हजार खर्च गरेको तथ्यांक छ । 

बोर्डले वैदेशिक रोजगारीमा गएका श्रमिकबाट कल्याणकारी कोषका लागि रकम असुल्दै आएको छ । कोरिया र जापान जाने श्रमिकबाट दुई हजार पाँच सय र मलेसिया र खाडी मुलुक जाने श्रमिकबाट कल्याणकारी कोषका लागि एक हजार पाँच सय लिँदै आएको छ । यसरी कोषमा पाँच अर्ब ३५ करोड संकलन भएको कोषका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बताए । बोर्डले सोही कोषको प्रयोग गरी श्रमिकलाई आर्थिक सहायता प्रदान गर्दै आएको छ । कोषमा जम्मा भएको रकम विभिन्न २० वटा बैंकमा जम्मा गरिएको बोर्डले जनाएको छ ।

वैदेशिक रोजगारीमा गएकामध्ये गत वर्ष मात्रै एक हजार पाँच सय ३० जना श्रमिकको मृत्यु भएको बोर्डले जनाएको छ । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर काम गरिरहेका एक हजार दुई सय आठजना श्रमिकको मृत्यु भएको छ भने तीन सय १२ जना अनौपचारिक रूपमा काम गरिरहेका श्रमिकको मृत्यु भएको बोर्डका निर्देशक राजन पौडेलले बताए ।

पौडेलका अनुसार श्रम स्वीकृति लिएर गएका नेपाली श्रमिक सम्बन्धित रोजगारदाताकोमा नै काम गरिरहेको अवस्थामा मृत्यु भएमा रोजगारदाताले नै श्रमिकको शव नेपाल पठाउने व्यवस्था छ । यसरी यस्ता श्रमिक बोर्डको तथ्यांकमा आइपुग्छन् । तर, श्रम स्वीकृति नलिईकन अनौपचारिक माध्यमबाट रोजगारीमा गएका वा गन्तव्य मुलुकमा पुगेर गैरकानुनी रूपमा बस्दै आएका श्रमिकको हकमा भने बोर्डले शव झिकाउन सहयोग गर्दै आएको छ । यसका लागि बोर्डले सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगसँग सहकार्य गर्छ । अघिल्लो आवमा भने औपचारिक रूपमा रहेका एक हजार चार सय ७९ जना नेपाली श्रमिकको मृत्यु भएको थियो । 

गत वर्ष बोर्डले मृत्यु भएका एक हजार दुई सय आठ नेपाली श्रमिकका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । जसमध्ये ४५ जना महिला र एक हजार एक सय ६३ जना पुरुष रहेका छन् । त्यस्तै, गत वर्ष तीन सय ८९ जना श्रमिक अंगभंग भएर नेपाल फर्किएका छन् । जसमध्ये नौजना महिला र तीन सय ८० जना पुरुषलाई बोर्डले आर्थिक सहायता प्रदान गरेको छ । 

त्यस्तै, बोर्डले एक सय १२ जना श्रमिकका परिवारलाई उपचार खर्च दिएको छ । जसमध्ये ११ जना महिला छन् । आठ सय १८ जना श्रमिकको शव ढुवानी गरिदिएको छ । जसमध्ये ३४ महिला र सात सय ८४ पुरुषको शव व्यवस्थापन गरिएको बोर्डले जनाएको छ । एक सय ६७ जना श्रमिकको उद्धार गरेको छ । जसमध्ये सातजना महिला नेपाली श्रमिक र एक सय ६० जना पुरुष श्रमिक रहेका छन् । त्यस्तै, बोर्डले गत वर्ष पाँच सय सात जना महिला श्रमिकका लागि अभिमुखीकरण तालिम निःशुल्क उपलब्ध गराएको छ । 

यसका साथै बोर्डले गत आवमा वैदेशिक रोजगारीमा जान चाहने इच्छुक नौ हजार नौ सय पाँचजना श्रमिकलाई निःशुल्क सीपमूलक तालिम प्रदान गरेको छ । 

बोर्डले दिने सुविधा के–के छन् ?
श्रम स्वीकृति लिएर गएका नेपाली श्रमिक गन्तव्य मुलुकममा मृत्यु भएमा कोसले मृतकका परिवारलाई सात लाखसम्म आर्थिक सहायता प्रदान गर्छ । यसका लागि सम्बन्धित परिवारले स्थानिय निकायबाट बोर्डमा निवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीकै अवस्थामा अंगभंग भएका नेपाली श्रमिकलाई क्षतिका आधारमा पनि आर्थिक सहायता प्रदान गर्दै आएको छ । श्रमिकको अंगभंग भएको मात्राका आधारमा अधिकतम सात लाख प्रदान गर्दै आएको छ । यसका लागि घटना भएको एक वर्षभित्रमा श्रमिकले बोर्डमा निवेदन दिई सक्नुपर्नेछ । 

बोर्डले विदेशबाट शव झिकाउनेदेखि शव व्यवस्थापनका लागि पनि सहयोग गदैै आएको छ । अनौपचारिक रूपमा विदेशमा रहँदै आएका श्रमिकको हकमा सम्बन्धित नियोगसँगको सहकार्यमा शव झिकाउँदै आएको छ । त्यस्तै, नेपालमा आइपुगेको शव सम्बन्धित श्रमिकको घरसम्म पुर्‍याउन लागि बोर्डले नै सवारीसाधनको व्यवस्था गरेको छ । साथै दाहसंस्कारका लागि २५ हजार रुपैयाँ प्रदान गर्दै आएको छ । 

साथै, मृतक श्रमिकका छोराछोरीलाई छात्रवृत्ति पनि प्रदान गर्छ । नियमावलीअनुसार बोर्डले मृतकका दुईवटा छोराछोरीलाई छात्रवृति प्रदान गर्छ । छात्रवृत्तिका लागि सामुदायिक विद्यालयतर्फ पूर्वप्राथमिकदेखि कक्षा १२ सम्म र संस्थागत विद्यालयतर्फ नर्सरीदेखि १२ कक्षासम्ममा क्रमश वार्षिक आठ हजार १२ हजार प्रदान गर्छ । 

 बोर्डले मृतकका परिवारलाई स्वास्थ्य उपचारका लागि सहयोग रकम प्रदान गर्छ । कामदारलाई परिवारलाई क्यान्सर, मिर्गौला प्रत्योरोपण, मुुटको शल्यक्रिया, पार्किन्सन र अलजाइमर भएमा उपचारका लागि बढीमा ५० हजार रुपैयाँसमम प्रदान गर्छ । बोर्ड यस्तो रकम एकपटकका लागि मात्रै भुक्तानी गर्छ । बोर्डले श्रमिकलाई प्रदान गरिँदै आएको सहायता रकम दोब्बरले वृद्धि गर्ने योजना श्रम मन्त्रालयमा प्रस्ताव गरेको छ । त्यस्तै, श्रमिकले कल्याणकारी कोषका लागि भुक्तानी गर्ने रकम पनि दोब्बरले वृद्धि गर्ने प्रस्ताव गरिएको बोर्डले जनाएको छ ।