१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १९ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १९ मंगलबार १o:३३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नक्कली प्रमाणपत्र भएका चिकित्सकविरुद्ध मुद्दा दायर, दुईजना धरौटीमा रिहा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १९ मंगलबार १o:३३:oo

नक्कली शैक्षिक प्रमाणपत्र बनाएर एमबिबिएस अध्ययन गरेको आरोपमा पक्राउ परेका दुई चिकित्सक धरौटीमा छुटेका छन् । सरकारी छाप दस्तखत किर्ते मुद्दा दायर भएकोमा जिल्ला अदालतले उनीहरूलाई धरौटीमा छाड्न आदेश दिएको हो । 

समान अभियोग भए पनि दुईजनाविरुद्ध फरक–फरक धरौटी रकम माग भएको छ । चिकित्सक श्रद्धा शिल्पकार एक लाख तथा एरिना शाह ३५ हजार रुपैयाँ धरौटीमा छुटेका हुन् । धरौटी बुझाएर शिल्पकार आइतबार तथा शाह सोमबार छुटेकी हुन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नक्कली प्रमाणपत्रका आधारमा एमबिबिएस अध्ययन गर्ने आठजना चिकित्सकलाई तीन साताअघि पक्राउ गरेको थियो । जसमध्ये सांसदसमेत रहेका सुनील शर्मालाई जिल्ला अदालत काठमाडौंले थुनामा राख्न म्याद नदिएकोमा अन्यलाई भने थुनामै राखेर मुद्दा दायर भएको हो । शर्माविरुद्ध भने मुद्दा अघि बढेको छैन । पक्राउ परेकामध्ये मनित चौधरी, अमित चौधरी, पुनम थापा, रामबाबु यादव र नसिम अख्तरविरुद्ध पनि अनुसन्धान सकाएर सोमबार मुद्दा दायर भएको छ । 

डा.शर्माको हकमा भने सिआइबीले बयानसमेत लिनसकेको छैन । दबाबका कारण उनलाई बयानमा बोलाउन नसकिएको सिआइबी स्रोतले बतायो । उनले बिहारको एक कलेजमा १२ कक्षा उत्तीर्ण गरेको भनेर शैक्षिक प्रमाणपत्र पेस गरी चीनमा एमबिबिएस अध्ययन गरेको मेडिकल काउन्सिलको छानबिनमा पुष्टि भएको थियो ।

सिआइबीले अप्रेसन ‘फक्सट्रोल चार्ली’ सञ्चालन गरी नक्कली प्रमाणपत्रधारी चिकित्सकलाई पक्राउ गरेको हो । मेडिकल काउन्सिलसँग सहकार्य गरी थप चिकित्सकको शैक्षिक प्रमाणपत्रमाथि पनि अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।