१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
सुवास भट्ट काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार o६:१४:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सक्रिय बनाइयो हेलो सरकार

२४ सै घन्टा सञ्चालन, तीन सिफ्टमा काम

Read Time : > 3 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o६:१४:oo
  • यसअघि नेपाल टेलिकम मात्र रहेकामा अब ११११ मा एनसेलबाट पनि गुनासो टिपाउन सकिने 
  • तीन उपसचिवसहित २५ जना कर्मचारी व्यवस्थापन 
  • फोन, इमेल, फेसबुक, ट्विटर, पोर्टल, भाइबर, ह्वाट्सएप लगायतका डिजिटल माध्यमबाट समेत गुनासो टिपाउन सकिने
  • तत्काल समस्या समाधानका लागि ‘र्‍यापिड रेस्पोन्स टिम’ 
  • गुनासोका प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था
  • प्रदेश र स्थानीय तहमा समेत सञ्जाल विस्तार गरिँदै

नागरिकले गुनासो गर्ने ‘प्लेटफर्म’ हेलो सरकारलाई सक्रिय बनाइएको छ । लामो समयदेखि निष्क्रिय रहेको हेलो सरकार २४ सै घन्टा सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार हेलो सरकारको विस्तारित सेवा सञ्चालनको उद्घाटन गरे ।

१७ कात्तिक ०६८ देखि सञ्चालनमा रहेको हेलो सरकार लामो समययता निष्क्रिय छ । यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा सेवा विस्तार गरिएपछि एनसेलबाट समेत गुनासो राख्न सकिने भएको छ । फोन, इमेल, फेसबुक, ट्विटर, पोर्टल, भाइबर, ह्वाट्सएपलगायतका डिजिटल माध्यमबाट समेत गुनासो टिपाउन सकिने गरी प्रबन्ध गरिएको छ । हेलो सरकारको डेस्कले प्राप्त गुनासाहरू तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार हेलो सरकारको विस्तारित सेवा सञ्चालनको उद्घाटन गर्दै भने– 
हेलो सरकार विभिन्न उतारचढावबीच २४ सै घन्टा सञ्चालन गर्ने अवस्थासम्म आउनु हाम्रा लागि खुसीको कुरा हो ।जनताका गुनासो जति गम्भीरतापूर्वक सम्बोधन हुन्छ, लोकतन्त्र त्यति नै बलियो हुन्छ । त्यसै प्रयोजनका निम्ति १२ वर्षअघि यो कार्यक्रमको शुभारम्भ गरिएको थियो । यसले गणतन्त्रमा जनमत र जनभावनाको सम्मान गर्ने परिस्थिति निर्माण भएको छ । जनताको गुनासो सुनिएन भन्ने मत पनि छ । यसलाई तीन सिफ्टको कार्यक्रमले पूर्णतः सम्बोधन गर्ने विश्वास छ । 

हेलो सरकार २४ सै घन्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका बनाएर सोहीअनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ । त्यसका लागि नेपाल सरकारका तीनजना उपसचिवसहित २५ जना कर्मचारी खटाइएको छ ।आवश्यकताअनुसार विश्वविद्यालयहरूसँग सम्झौता गरी ‘इन्टर्न’मा आवश्यक मात्रामा विद्यार्थी लिन सक्ने व्यवस्थासमेत गरिएको छ । यसअघि हेलो सरकार दुई सिफ्टमा सीमित कर्मचारीले सञ्चालन गर्दै आएका थिए ।  हेलो सरकारमा आएका गुनासाका प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था मिलाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित गुनासाहरू सीधै सम्बोधन गर्ने व्यवस्था पनि गरिएको छ । गुनासाहरू सम्बोधनका निम्ति ‘र्‍यापिड रेस्पोन्स टिम’समेत गठन गरी कार्यान्वयनमा ल्याइएको मुख्यसचिव डा. बैकुण्ठ अर्यालले जानकारी दिए । उक्त टिमले सम्बन्धित निकायमा पठाइएका गुनासाहरू कार्यान्वयन भए÷नभएको अनुगमन गर्नुका साथै गुनासो सम्बोधनका लागि पहल गर्नेछ ।

सरकार र नागरिकबीचको सम्बन्धलाई अझै घनीभूत गराउन र शासकीय प्रणालीमा उनीहरूको सहभागितालाई सक्रिय तथा सशक्त बनाउन हेलो सरकारले भूमिका खेल्ने प्रधानमन्त्री प्रचण्डले बताए । ‘हेलो सरकार विभिन्न उतारचढावका बीच २४ सै घन्टा सञ्चालन गर्ने अवस्थासम्म आउनु हाम्रा लागि खुसीको कुरा हो,’ उनले भने, ‘सरकार र जनताबीचको सम्बन्ध थप सुदृढ तुल्याउँदै जनसेवा सवलीकरणका निम्ति यो सेवा विस्तार कार्यक्रमले महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको छु ।’

गुनासो व्यवस्थापन प्रणालीलाई कृत्रिम बौद्धिकतासँग आबद्ध गर्नेलगायत नागरिकका उत्कृष्ट विचार लिने ‘क्राउडसोर्स गभर्नेन्स’का रूपमा विकास गर्न अपरिहार्य भएको आवश्यकतासमेत उनले औँल्याए । नेपाल सरकारका सबै निकायलाई नागरिकका गुनासो व्यवस्थापनको विषयलाई पहिलो प्राथमिकतामा राखेर कार्य सम्पादन गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् । नागरिकका गुनासा र जिज्ञासालाई बास्केटमा राखेर कार्यालयमा स्टोर नगर्न पनि उनले निर्देशन दिए । 

मुख्यसचिव डा. बैकुण्ठ अर्यालले हेलो सरकारमा परेका गुनासो फस्र्योट गर्नेसम्बन्धमा मन्त्रालय र निकायहरूको सक्रिय भूमिका आवश्यक हुने बताए । प्राप्त भएका गुनासा छिटो सम्बोधन गर्न उनले सबै सचिवहरूलाई निर्देशन दिए । नागरिकले गरेका गुनासोका सम्बन्धमा भइरहेको कामबारे जवाफ दिँदा त्यसले गुनासोकर्तालाई ठूलो राहत हुने उनले बताए । ‘सकेसम्म छिटो गुनासो सम्बोधन गरौं, आएको गुनासो हेरिसकेपछि पनि त्यसमा फेरि केही पनि काम नगर्ने भनेको त भएन !’ सचिवहरूलाई निर्देशन दिँदै मुख्य सचिव अर्यालले भने, ‘गुनासोकर्तालाई गुनासोको सम्बोधन यसरी भयो भन्ने कुराको महसूस गराउन कुनै पनि खालको कञ्जुस्याईं नगरौं ।’ नागरिकका तर्फाबाट सरकारमा आएका गुनासा सकेसम्म निराकरण गर्न र फस्र्योट गर्न प्रतिवद्ध रहेको उनले बताए । 

प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले हेलो सरकार नागरिकका पीरमर्का सुन्ने संयन्त्र भएको बताए । नागरिकले दैनिक रूपमा भोग्नुपरेका विकास निर्माण, सेवाप्रवाहदेखि विभिन्न मागहरू सम्बोधन गर्नेगरी हेलो सरकारलाई सञ्चालन गर्न खोजिएको उनले बताए ।

 पहिले नेपाल टेलिकमको नम्बरबाटमात्र गुनासो गर्न सकिनेमा अब एनसेलबाट पनि मिल्ने व्यवस्था भएको उनले बताए । विशेष र महत्वपूर्ण गुनासालाई सम्बोधन गर्न ¥यापिड रेस्पोन्स टिमको व्यवस्था गरिएको र त्यसले प्राथमिकतामा राख्नुपर्ने गुनासालाई सम्बोधन गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिने र आवश्यक सहजीकरण गर्नेलगायतका काम गर्ने उनले बताए । गुनासोको पोर्टलमा समेत सुधार गरिएकाले गुनासो राख्ने व्यवस्था थप सहज भएको उनको भनाइ छ । 

हेलो सरकार सञ्चालनमा केही चुनौतीसमेत सचिव पाण्डेयले औंल्याए । ‘केही गुनासो तत्काल सम्बन्धित अधिकारीलाई निर्देशन दिएर फस्र्योट गर्ने गरिएको छ भने केही लिखित रूपमा सम्बन्धित निकायलाई पठाउने गरिएको छ, कतिपय फस्र्योट भए पनि  केहीमा ढिलापन पक्कै भएको छ,’ उनले भने, ‘यसलाई सुधार गर्नुपर्ने आवश्यकता छ ।’ 

कर्मचारीको क्षमता अभिवृद्धि र गुनासोलाई सशक्त र प्रभावकारी रूपमा सम्बोधन गर्न प्रशासनीक संयन्त्रलाई चलायमान बनाउनुपर्ने, गुनासो सुन्ने अहिलेको प्रविधि र संयन्त्रलाई उच्चतम् प्रविधि अपनाएर प्रभावकारी बनाउने चुनौति रहेको पनि उनले बताए । 

सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ र नियमावली, ०६५ मासमेत नागरिकका गुनासो सुन्ने व्यवस्था रहेको र हाल हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०८० मार्फत् गुनासो सुनुवाईलाई प्रभावकारी बनाइएको उनले बताए । 
 

ad
ad