१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार ११:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

वायुसेवा कम्पनीलाई क्यानको कसिलो नीति : वायुसेवा कम्पनीसँग तीनवटा जहाज हुनैपर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:३४:oo

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले वायुसेवा कम्पनीहरूका लागि कसिलो मापदण्ड तयार पारेको छ । एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट्स (एओसिआर) दसौँ संशोधनमार्फत क्यानले वायुसेवा कम्पनी सञ्चालनमा कडाइ गरेको हो । संशोधित मापदण्ड क्यानका महानिर्देशबाट स्वीकृत भइसकेको छ । वायुसेवा सञ्चालनका लागि पर्यटन मन्त्रालयबाट इजाजतपत्र (लाइसेन्स) लिएपछि क्यानबाट एयर अपरेटर सर्टिफिकेट (एओसी) लिनुपर्छ । एओसी लिनका लागि विभिन्न कानुनी, आर्थिकलगायत मापदण्ड परिपालना गर्नुपर्ने हुन्छ । सोही व्यवस्थाहरू भएको एओसिआर संशोधन गरी नयाँ मापदण्ड तयार गरेको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । 

अब वायुसेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीहरूसँग न्यूनतम तीनवटा जहाज हुनैपर्ने व्यवस्था गरिएको छ । सञ्चालनमा रहेका र नयाँ दर्ता हुने सबै वायुसेवा कम्पनीहरूले आगामी पाँच वर्षभित्र जहाजको संख्या न्यूनतम पाँचवटा बनाउनुपर्ने व्यवस्था गरिएको छ । यदि पाँचवटा जहाज पुर्‍याउन नसके वा आर्थिक रूपमा कमजोर भए मर्जरमा जान सक्ने सुविधा दिइएको छ । पाँच वर्षमा जहाज पाँचवटा नपुर्‍याए एओसी खारेज हुने भुलको भनाइ छ ।

वायुसेवा कम्पनीका अध्यक्ष, सेयर लगानीकर्ता, कार्यकारी निर्देशक, एकाउन्टेबल म्यानेजर, पोस्ट होल्डरहरूले क्यान तथा सरकारका नीतिविपरीतका क्रियाकलाप सञ्चालन गर्न एवं सो सम्बन्धमा आफ्ना धारणा सार्वजनिक रूपमा व्यक्त गर्न नपाइने व्यवस्था गरिएको छ । यस्तै, वायुसेवा कम्पनीका एकाउन्टेबल म्यानेजर तथा पोस्ट होल्डरहरूले कम्पनीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वार्थ बाझिने प्रकृतिका गतिविधि एवं टुर्स एन्ड ट्राभलजस्ता व्यावसायिक काममा संलग्न हुन नपाउने नीति लिइएको छ । 

वायुसेवा कम्पनीका अध्यक्ष, सेयर लगानीकर्ता, कार्यकारी निर्देशक तथा एकाउन्टेबल म्यानेजरले क्यानद्वारा प्रदान गरिएको सिपिएल, एटिपिएल वा एएमएल लाइसेन्स प्राप्त गरेको भए सोको अभ्यास व्यावसायिक उडान वा मर्मत–सम्भार गतिविधिमा गर्न नपाउने भएका छन् । 

पाइलटले उडानबाहेक अन्य व्यावसायिक गतिविधिमा संलग्न रहन नपाउने व्यवस्था गरिएको छ । अब नो अब्जेक्सन सर्टिफिकेट प्राप्त गरेको न्यूनतम पाँच वर्षको अवधिसम्म सेयर लगानीकर्ताले आफ्नो सेयर बिक्री वा हस्तान्तरण गर्न पाउनेछैनन् । क्यानको स्वीकृतिविना कुनै पनि सरकारी स्वामित्व प्राप्त एवं निजी वायुसेवा कम्पनीहरूले एकाउन्टेबल म्यानेजर तथा पोस्ट होल्डहरू नियुक्त गर्न पाइनेछैन । क्यानले वायुसेवा कम्पनीहरूको एकाउन्टेबल म्यानेजरको नियुक्ति, आवश्यक न्यूनतम योग्यता, अनुभव तथा अख्तियारी सम्बन्धमा विशेष कार्यविधि जारी गरेको हुनुपर्नेछ ।

ad
ad