१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
केट डसन
२o८१ बैशाख २० बिहीबार ११:२७:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

यसरी रोक्न सकिन्छ विद्यालयमा हुने यौन दुर्व्यवहार

Read Time : > 3 मिनेट
केट डसन
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:२७:oo

शिक्षक–विद्यार्थीबीचको यौन उत्पीडनका लगभग सबै घटना विद्यालय प्रांगणभित्रै हुने गरेका छन्

केही शिक्षक किन तिनलाई आफ्ना विद्यार्थीको शरीरबारे टिप्पणी गर्न, डेटिङ एपमा उनीहरूसँग कुराकानी गर्न, उनीहरूको यौन जीवनबारे प्रश्न गर्न छुट भएको ठान्छन् । अझ केही शिक्षक किन तिनका विद्यार्थीलाई चुम्न वा यौन भावनाले छुन अप्ठ्यारो मान्दैनन् ? यस सम्बन्धमा मैले सहलेखन गरेको एक रिपोर्टले शिक्षक–विद्यार्थीबीचको यौन उत्पीडनका लगभग सबै घटना विद्यालय प्रांगणभित्रै हुने देखाएको छ । जीवविज्ञानको औपचारिक कक्षाको पाठ पढाउँदाबाहेकको कुनै पनि परिस्थितिमा शिक्षकले इसारा वा मजाकका रूपमा तिनका विद्यार्थीसँग यौनको चर्चा गर्नु उपयुक्त हँुदैन । जब हामी विद्यार्थीलाई ‘पुरुष शिक्षकको सम्मानका लागि’ शरीर छोप्न भन्छौँ, हामी खासमा शिक्षकका यौनिक व्यवहारचाहिँ स्वाभाविक भएको सन्देश प्रवाह गरिरहेका हुन्छौँ । जब विद्यार्थीलाई उनीहरूको (विद्यार्थीको) यौनजीवन र ‘प्रतिष्ठा’बारे शिक्षक भेलामा चर्चा भएको बताउँछौँ, हामी तिनलाई युवामाथि टिप्पणी गर्नु वा तिनको वस्तुकरण गर्नु सही भएको भनिरहेका हुन्छौँ । 

जब विद्यालय प्रमुखहरूले विद्यार्थीमाथि भइरहेका अनुपयुक्त व्यवहारसम्बन्धी गुनासालाई ‘समस्या सिर्जना गर्ने प्रयास’ वा ‘हानिरहित व्यवहारको बढाइचढाइ’ भनी खारेज गर्छन्, तब हामी किशोरलाई तिनको भावनाको कदर हुँदैन र विद्यालयलाई तिनको चिन्ता छैन भनिरहेका हुन्छौँ । यौन उत्पीडन गर्ने मुख्यतया दुइटा कारण भेटिन्छन् । कोही तिनका टिप्पणी र व्यवहारको अनुचित हुन् भन्ने कुरामा बेखबर हुन्छन् । अर्को थरीलाई भने आफूले गरेको गलत हो भन्ने थाहा भएर पनि त्यो काम गरिरहेका हुन्छन् । आफू सहजै उम्किहाल्छु भन्ने सोचका कारणले ती कामलाई निरन्तरता दिने गर्छन् । 

विद्यालयभित्र हुने यौन दुर्व्यवहारका सम्भावित दुई समाधान छन् । पहिलो, शिक्षकलाई यस विषयमा प्रशिक्षण दिने । सबै माध्यमिक विद्यालयका कर्मचारीलाई बालबालिकाको हेरचाह गर्ने कर्तव्य हुन्छ र उनीहरूलाई यौन दुर्व्यवहारका लक्षण कसरी पहिचान गर्ने भनेर सिकाइनुपर्छ । तर, उनीहरूलाई अनिवार्य रूपमा यौन दुर्व्यवहार के हो र यो यौनसम्पर्कभन्दा भिन्न हुन्छ भन्नेबारे सिकाइँदैन । यसले यौनस्पर्श वा दुर्व्यवहारको थप गम्भीर घटना रिपोर्ट गर्ने संयन्त्रलाई प्रभावकारी बनाउनुपर्दैन । 

दोस्रो, हामीले अर्को कर्मचारीले गरिरहेको उत्पीडन देखेमा त्यसबारे कुरा उठाउने वातावरण निर्माण गर्नुपर्छ । एक पीडादायी सत्य के हो भने विद्यार्थीको शोषण गर्ने शिक्षकहरू कतिपय अवस्थामा आकर्षक र धेरै मन पराउने खालका पाइएका छन् । सबै सन्दर्भमा हुने यौन उत्पीडनबारे गरिएको अनुसन्धानले यो पुष्टि गरेको छ । समस्याग्रस्त व्यवहार भएका भनेर चिनिएका व्यक्तिबाट यस्तो कार्य भएमा सहजै विरोध हुने गर्छ । तर, असल भनेर चनिएका व्यक्तिबाट भएका दुर्व्यवहारलाई भने हामी सामान्यतया यो एकपटकको घटना रहेको, खासमा नराम्रो नियतले नगरिको र हानिरहित रूपमा बुझ्ने गर्छौं । 

यस्तो सोच्ने तरिकाले यौन उत्पीडनलाई समेत सह्य मान्ने र व्यक्तिका गलत संकेतप्रति सचेत हुने स्थिति नै रोकिदिन्छ । जब शिक्षकलाई उत्पीडनको पहिचान गर्न पर्याप्त तालिम दिइँदैन, सीमाहरू अस्पष्ट हुन्छन् र व्यक्तिलाई घटना रिपोर्टिङ गर्न सकिने गरी ‘पर्याप्त नराम्रो’ रहेको–नरहेको अन्योलमा छोडिदिन्छ । विद्यालयका प्रमुखसम्म सीधै जान सक्ने शिक्षकका अलावा उत्पीडनको प्रत्यक्षदर्शी (जो पीडितका साथी हुन सक्छन्) ले पनि रिपोर्ट गर्न सक्ने प्रक्रियाको पनि अभाव छ । शिक्षकलाई आफूले रिपोर्ट गरेको गलत ठहरिए एक कुशल सहकर्मीको करिअर नष्ट हुने र काममा व्यक्तिगत रूपमा बहिष्कृत हुने (मन नपराइने) डर हुन्छ । उत्पीडकको व्यवहारलाई सहँदै गयो भने तिनले हौसला पाउँछन् ।

त्यसैले विद्यालयमा यौन दुर्व्यवहार अन्त्य गर्ने एक मात्र तरिका भनेको हामीले खराब व्यवहारलाई चुनौती दिन सक्ने वातावरण सिर्जना गर्नु हो । यसको प्रतिकार गर्न विद्यालयले सीमा उल्लंघनविरुद्ध शून्य–सहिष्णुता नीति लागू गर्नुपर्छ । सीमा उल्लंघन वा यौन उत्पीडनको आरोपको कुनै पनि पुष्टि भएका उदाहरण समावेश गर्न सन्दर्भ जाँच आवश्यक पर्छ । शिक्षकहरू तिनको पक्ष प्रमाणित गर्न वा आफूमाथिको आरोप खण्डन गर्ने जाँचको हकदार हुन्छन् । यस्तो अनुसन्धानले विद्यालयमा कस्ता व्यवहार खराब हुन् भन्ने कुरामा ज्ञान विस्तार गर्ने अवसर प्रदान गर्छ । विद्यालयले प्रत्यक्षदर्शीलाई उत्पीडनको रिपोर्ट गर्न प्रोत्साहन गर्नुपर्छ । रिपोर्ट गर्ने बालबालिकाको सुरक्षालाई प्राथमिकता दिने जिम्मेवारी पनि विद्यालयको हुन्छ । शिक्षकले गरेको उत्पीडन वा अन्य प्रकारका यौन दुर्व्यवहार पुष्टि भएका त्यस्ता घटनाको राष्ट्रिय तथ्यांक सबैका. पहुँचमा राख्नुपर्छ ।

विद्यार्थीलाई यौन उत्पीडन कस्ता हुन्छन् भनेर विभिन्न उदाहरणसहित सिकाउनुपर्छ । अनुपयुक्त यौन आचरण के हो भन्नेबारे बालबालिकाको बुझाइ प्रायः कालो र सेतो हुन्छ । उदाहरणका लागि एकजना उत्तरदाता, जसले पुरुष शिक्षकले उनीसँग फ्लर्ट गर्ने, स्पर्श गर्ने र उनको सम्पूर्ण विद्यालयको अनुभवमा विशेष ध्यान दिने गरेको गुनासो गरिन्, उनका अनुसार ‘त्यतिवेला मैले म विशेष भएको महसुस गराएको थिए । ती शिक्षक विद्यालयमा आकर्षक शिक्षकमा दरिन्थे । पछाडि फर्केर हेर्दा म १३ वर्षको हुँदा अनौठो ध्यानाकर्षण सुरु भयो ।’ अन्तमा उत्पीडनको रिपोर्ट गर्ने विद्यार्थी र कर्मचारीका लागि सहायता तथा परामर्श सम्पर्कको पहिलो बिन्दुको रूपमा स्कुलमा निर्भरविना नै पहुँचयोग्य हुनुपर्छ ।

धेरैजसो शिक्षकहरू अपत्यारिलो ढंगले मिहिनेती हुन्छन् र आफ्ना विद्यार्थीका लागि धेरै राम्रो गर्छन् । तर, शिक्षकहरूले हाम्रो समाजका सबैभन्दा नाजुक जनसंख्या (बालबालिका)माझ अविश्वसनीय पहुँच पाएका हुन्छन् । अनुसन्धानले लगातार यो देखाउँछ कि यौन दुर्व्यवहारको अनुभव गर्ने बालबालिकाको उमेर बढ्दै जाँदा धेरै स्वास्थ्य समस्या देखिन्छ । तिनको औसत आयु पनि छोटो हुने गर्छ । जब विश्वास गरिएको व्यक्तिबाट उत्पीडन र दुर्व्यवहार गरिन्छ, तब पीडित व्यक्ति ठूलो भएपछि उसमा दुर्व्यवहार र तिकडमबिना स्वस्थ, विश्वसनीय र मायालु सम्बन्ध विकास गर्ने क्षमतामा प्रतिकूल असर पर्न सक्छ । विद्यालयमा यौन दुर्व्यवहार गर्ने एकजना मात्र पनि शिक्षक छन् भने त्यो धेरै नै हो । 

(केट डसन युनभर्सिटी अफ ग्रिनविचकी मनोविज्ञानकी अध्यापक हुन् ।) 

– गार्जियनबाट

ad
ad