१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १६ शनिबार
  • Friday, 13 September, 2024
अनिल यादव काठमाडाैं
२o८o भदौ १६ शनिबार o६:o४:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा रास्वपा

Read Time : > 3 मिनेट
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ १६ शनिबार o६:o४:oo

पछिल्ला डेढ महिनामा पाँच देशका राजदूतसँग सभापति रवि लामिछानेको भेटवार्ता

पार्टी स्थापना भएको एक वर्ष पुगिसक्दा पनि देशको चौथो शक्तिका रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो परराष्ट्र नीति निर्माण गरेको छैन । तर, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि रास्वपा सभापति रवि लामिछानेसहितका नेताको विभिन्न देशका राजदूतसँगको भेटघाट बाक्लिएको छ । पछिल्लो डेढ महिनामा पाँच देशका राजदूतले अध्यक्ष लामिछानेसँग भेटघाट गरेका छन् । 

लामिछानेले शुक्रबार मात्रै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरे । पार्टी कार्यालय वनस्थलीमा भएको भेटमा लामिछानेले रास्वपाको लक्ष्य सुशासन, सामाजिक न्याय र आर्थिक विकास रहेको बताउँदै नेपालको समृद्धिका लागि नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । 

दुई देशबीचका आपसी चासोका मुद्दालाई संवादमार्फत हल गर्दै जानुपर्नेमा उनको जोड थियो । ‘कूटनीतिक सम्बन्ध निर्माणका लागि निरन्तर विभिन्न देशका राजदूतसँग भेट गरिरहेका छौँ,’ रास्वपा महामन्त्री मुकुल ढकालले भने, ‘त्यही क्रममा भारतीय राजदूतसँग भेट भएको हो । भेटवार्तामा पछिल्लो समय भारतले विज्ञान प्रविधिमा गरेको क्रान्तिका विषयमा चासो राख्दै नेपाल यसमा कसरी अघि बढ्न सक्छ भनेर सुझाव मागेका थियौँ ।’

ढकालका अनुसार भारतीय राजदूत श्रीवास्तवले आर्थिक समृद्धि र परराष्ट्र नीतिका सवालमा नेपाल स्थिर नभएको गुनासो राखेका थिए । ‘हामी सहयोग गरिरहेका छौँ, अझै सहयोग गर्छौँ । तर, नेपालको आर्थिक, समृद्धि र परराष्ट्रका सवालमा स्थिर नीति भएन, स्थिर नीति भए राम्रो हुन्छ,’ श्रीवास्तवको भनाइ उद्धृत गर्दै ढकालले भने । भेटमा रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख तथा सांसद शिशिर खनाल र अर्का सांसद मनीष झा पनि सहभागी थिए ।

यसअघि लामिछानेले गत ६ भदौमा मात्रै नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनसँग भेटवार्ता गरे । रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा भएको भेटमा नेपालको आर्थिक विकास र सुशासनका विषयमा छलफल भएको भेटमा सहभागी रास्वपाका सांसद एवं अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले बताए । 

खनालका अनुसार करिब एक घन्टाको भेटघाटमा राजदूत थम्पसनले रास्वपा पार्टीको स्थापनाको औचित्य, आर्थिक नीति, योजना आदिबारे चासो राखेका थिए । ‘यो भेटघाट पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने क्रममा भएको हो । नेपाल र अमेरिकाको सम्बन्धबारे कुरा भयो । राजदूतले हाम्रो पार्टी के हो, योजना के छ, आर्थिक विकासलाई कसरी हेर्नुहुन्छ भनेर जिज्ञासा राख्नुभयो,’ खनालले भने, ‘सभापतिज्यूले हामी लोकतान्त्रिक पार्टी हौँ, विधिको शासन मान्दै विशेष गरी सुशासन, आर्थिक विकास र सामाजिक न्यायमा केन्द्रित भएको बताउनुभयो । यही मुद्दा बोकेर यहाँसम्म आएको, संसद्मा पनि यिनै कुरामा आवाज उठाइरहेको र आगामी दिनमा पनि यिनै एजेन्डालाई लिएर जाने विषयमा स्पष्ट पार्नुभयो ।’

भेटमा लामिछानेले अमेरिकी राजदूतसँग नेपालीले भोगिरहेको भिसा समस्याबारे चासो राखेका थिए । ‘नेपालीले सात सय दिनमा पनि भिसा डेट नपाउने समस्या आएको छ । नेपालीको यो दुःख समाधान गरिदिनुपर्‍यो,’ लामिछानेले राजदूतसँग भनेका थिए । 

खनालका अनुसार जवाफमा राजदूत थम्पसनले नोभेम्बरसम्म समस्या समाधान गर्ने गरी काम भइरहेको बताएका छन् । ‘प्रयास गरिरहेका छौँ । स्टाफ बढाइरहेका छौँ । नोभेम्बरपछि यो समस्या सल्टिँदै जान्छ,’ राजदूतको भनाइ उद्धृत गर्दै खनालले भने । 

लामिछानेले यसअघि ३१ साउनमा चिनियाँ राजदूत छन सोङसँग, १० साउनमा युरोपियन युनियनकी राजदूत नोना डिप्रेज (हाल बिदा भइसकेकी) र ८ साउनमा इजरायली राजदूत हनान गोडरसँग भेटघाट गरेका थिए । चिनियाँ राजदूत सोङसँग पनि मुलुकको आर्थिक विकास, सुशासनसँगै सीमा क्षेत्रका समस्याबारे छलफल भएको रास्वपाको विज्ञप्तिमा उल्लेख थियो । ‘भेटमा सभापति लामिछानेले रास्वपा एक चीन नीतिप्रति अडिग रहेकोसमेत अवगत गराउनुभएको थियो,’ रास्वपाको विज्ञप्तिमा उल्लेख थियो । 

त्यस्तै, इजरायली राजदूत गोडरसँगको भेटवार्तामा दुई देशको सम्बन्धसँगै विश्वमै उत्कृष्ट मानिने इजरायली प्रविधि, ज्ञान र सीप प्रयोग गरेर नेपाललाई कृषियोग्य जमिन प्रयोग गर्न सकिन्छ भनेर रास्वपा लामिछानेले चासो राखेका थिए । 

युरोपियन युनियनकी राजदूत नोना डिप्रेजसँग भने नेपालबाट बिदा हुनुअघि १० साउनमा भेटघाट भएको थियो । अहिले इयूमा नयाँ राजदूत आइसकेका छन् ।

रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख खनाल अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि विभिन्न देशका राजदूतसँग भेटघाट बढाएको बताउँछन् । ‘देशको चौथो ठूलो शक्ति भएकाले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने क्रममा यी भेटहरू भइरहेको हो,’ उनले भने, ‘हामीकहाँ राजदूतावास राख्ने देशसँग जिम्मेवार पार्टीका हिसाबले भेट गरेका हौँ । यो सम्बन्ध विस्तारको प्रारम्भिक चरण हो । हामी सबै मित्रराष्ट्रसँग यसरी नै निरन्तर भेटघाट र छलफल गरिरहन्छौँ ।’

पार्टीको परराष्ट्र नीति अहिले निर्माणको चरणमै रहेको उनले बताए । ‘नेपालको संविधानले नै नेपालको परराष्ट्र नीतिको मूलभूत विषय बोलिसकेको छ । त्योभन्दा दायाँबायाँ गर्नुपर्ने खासै धेरै छैन,’ उनले भने, ‘यद्यपि, त्यसबाहेक पार्टीको स्पष्ट परराष्ट्र नीति बनाउने क्रममै छौँ । त्यसैले यही नै नीति हो भनेर अहिले बोल्न सकिने अवस्था छैन ।’ रास्वपाले अहिलेसम्म आफ्नो राजनीतिक–वैचारिक प्रतिवेदन तयार गरिसकेको छैन ।

हामीकहाँ राजदूतावास राख्ने देशसँग जिम्मेवार पार्टीका हिसाबले भेट गरेका हौँ : शिशिर खनाल, सांसद तथा रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख
अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि विभिन्न देशका राजदूतसँग भेटघाट बढाएका छौँ । देशको चौथो ठूलो शक्ति भएकाले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने क्रममा यी भेटहरू भइरहेको हो । हामीकहाँ राजदूतावास राख्ने देशसँग जिम्मेवार पार्टीका हिसाबले भेट गरेका हौँ । यो सम्बन्ध विस्तारको प्रारम्भिक चरण हो । हामी सबै मित्रराष्ट्रसँग यसरी नै निरन्तर भेटघाट र छलफल गरिरहन्छौँ । पार्टीको परराष्ट्र नीति अहिले निर्माणकै चरणमा छ । नेपालको संविधानले नै नेपालको परराष्ट्र नीतिको मूलभूत विषय बोलिसकेको छ । त्योभन्दा दायाँबायाँ गर्नुपर्ने खासै धेरै छैन । यद्यपि, त्यसबाहेक पार्टीको स्पष्ट परराष्ट्र नीति बनाउने क्रममै छौँ । त्यसैले यही नै नीति हो भनेर अहिले बोल्न सकिने अवस्था छैन ।