१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १५ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ १५ शुक्रबार o९:oo:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्पष्ट परराष्ट्र नीतिले आर्थिक क्षमता बढ्छ : अर्थमन्त्री डा. महत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ १५ शुक्रबार o९:oo:oo

अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट परराष्ट्र नीतिले देशको आर्थिक क्षमता बढाउने बताएका छन् । नेपालले आफ्ना अधिकार, प्राथमिकता तथा आवश्यकतालगायत कुरालाई स्पष्ट, आधार र तथ्यांकसहित प्रस्तुत गर्न सके आर्थिक क्षमतासमेत बढ्ने उनले बताएका हुन् ।

बिहीबार इन्स्टिच्युट फर स्ट्राटेजी एन्ड सोसियो इकोनोमिक रिसर्चले आयोजना गरेको साना राज्यको क्षमतासम्बन्धी गोष्ठीमा नेपालमा नेभिगेटिङ प्रतिस्पर्धा र परराष्ट्र नीतिका प्राथमिकताबारे सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् । ‘यो आवश्यकता र अधिकार हो भनेर प्रस्तुत हुने हो भने हामीले धेरै अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्न सक्छौँ । गुडविललाई हामीले सहयोगमा रूपान्तरण गर्न सक्छौँ । यो सम्भावनालाई हामीले पूर्ण रूपमा उपयोग गर्न सकेका छैनौँ,’ उनले भने, ‘यसरी सुस्पष्ट ढंगले प्रस्तुत हुने हो भने छिमेकले कतै नेपाल मेरो विरुद्धमा त छैन भनेर प्रश्न गर्न सक्छन्, त्यसबाट हामी मुक्त हुन्छौँ, हामी कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुँदैनौँ, हामीले हाम्रो हित मात्र हेरिरहेका छौँ बुझाइ हुन्छ ।’

राज्यको क्षमता, राष्ट्रिय संरचनाको क्षमता, आर्थिक, सामाजिक नीतिलाई सशक्त ढंगबाट कार्यान्वयन गर्ने क्षमता र परराष्ट्र सम्बन्धलाई सशक्त ढंगले प्रस्तुत गर्ने क्षमता नेपालले विकसित गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । यस्तो क्षमता वृद्धि नभएकाले आर्थिक क्षेत्रमा विश्व समुदायले नेपाललाई ‘स्मल टाइनी’ उपाधि दिइरहेको उनले औँल्याए ।

‘सानो वा ठूलो देशले आफ्नो देशलाई केन्द्रविन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गरेका हुन्छन् । कस्तो खालको परराष्ट्र नीति अवलम्बन गर्दा राष्ट्रहित र राष्ट्रिय स्वार्थ परिपूर्ण हुन्छ, त्यसैका आधारमा परराष्ट्र नीति सञ्चालन हुनुपर्ने,’ मन्त्री डा. महतले भने, ‘हामीले पनि त्यही गर्नुपर्छ । हामीले सोच्ने भनेकै देशका लागि हो ।’

चाइना, भारत वा अमेरिकासँग हामीले डिल गर्दा नेपालले आफ्ना कुरालाई बढी प्राथमिकतामा राख्नुपर्ने उनले बताए । ‘आर्थिक रूपमा हामी स्थापित हुन राजनीतिक स्थायित्व चाहिन्छ । यसमा केही समस्या छन्, हाम्रो निर्वाचन प्रणालीमा सुधार आवश्यक छ । समानुपातिक व्यवस्थालाई कायमै राखेर पनि निर्वाचन प्रणाली सुधार गर्ने ठाउँ छन्,’ अर्थमन्त्री डा. महतले भने, ‘यदि निर्वाचन प्रणालीमा सुधार गर्न नसकिए पनि राजनीतिक स्थायित्वका लागि हामीले गम्भीर छलफल चलाउनुपर्छ । राजनीतिक स्थायित्व भयो भने हाम्रो आर्थिक क्षमता बढ्छ । आर्थिक नीतिलाई निरन्तरता र कार्यान्वयनले सहज बनाइदिन्छ । हामी आर्थिक क्षमता बढाउन सक्छौँ, हामीसँग प्रशस्त सम्भावना छ । म यस कुरामा निराश छैन ।’