१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o६:१९:oo
Read Time : > 6 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एसिया कप आजदेखि : यस्ता छन् प्रतिस्पर्धी ६ टोली

Read Time : > 6 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:१९:oo

१६औँ संस्करणको एसिया कप बुधबारदेखि पाकिस्तानको मुल्तानमा सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आयोजक पाकिस्तानको सामना गर्दै छ । विश्व क्रिकेटकै चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानले सहभागिता जनाउने भएका कारण एसिया कप चर्चित अन्तर्राष्ट्रिय प्रतियोगितामा पर्छ । यो प्रतियोगिता दुईपटक टी–२० फर्म्याटमा भएको थियो । यसबाहेक अन्य संस्करण ५० ओभरको फर्म्याटमा सञ्चालन भएको थियो ।

सन् १९८४ मा युएईमा पहिलोपटक प्रतियोगिता भएको थियो । पहिलो संस्करणमा तीन राष्ट्रले मात्र भाग लिएका थिए । सन् २००४ मा एसिसीले एसिया कपमा ६ राष्ट्र समावेश गरेको थियो । एसिसीले प्रतियोगिता ढाँचा गरिरहेको हुन्छ । यसैकारण सन् २०१४ मा एसिया कपमा पाँच राष्ट्र मात्र समावेश भए । सन् २०१८ देखि प्रतियोगितामा ६ राष्ट्रले भाग लिइरहेका छन् । प्रतियोतिगामा सबैभन्दा सफल भारत र श्रीलंका हुन् । 

भारत :  एसिया कपकै सर्वाधिक सफल राष्ट्र भारत हो । भारतले अहिलेसम्म सातपटक ट्रफी उचालेको छ । विश्व क्रिकेटमा भारत बलियो राष्ट्रमा पर्छ । भारतले सन् १९८३ र ०११ मा एकदिवसीय विश्वकप ट्रफी उचालेको छ ।

आइसिसीको एकदिवसीय वरीयताको तेस्रो स्थानमा रहेको भारतले एकपटक दक्षिण अफ्रिकामा टी–२० विश्वकप जितेको थियो । भारत दुईपटकको च्याम्पियन्स ट्रफी विजेता पनि हो । सन् १९३२ को २५ जुनमा भारतले इंग्ल्यान्डविरुद्ध अन्तर्राष्ट्रिय खेल खेलेको थियो । ९१ वर्षदेखि भारतले अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको छ । 

भारतले ५० ओभरको फर्म्याटमा एक हजार ३२ खेल खेलेको छ । जसमध्ये भारत पाँच सय ४१ खेलमा जित र चार सय ३९ खेलमा हारको सामना गरेको छ । एकदिवसीय खेलमा भारतले नौ खेल टाईका रूपमा व्यहोरेको छ । यसैगरी, ४३ खेल नतिजाविहीन भयो । समग्रमा भारतले तीनवटै क्रिकेटमा गरी एक हजार आठ सय १० खेल खेलेको छ । विश्वस्तरीय ब्याट्सम्यान र बलरको साथ रहेको भारत उपाधि दाबेदार मानिन्छ । 

श्रीलंका :  क्रिकेटमा श्रीलंकाको डेब्यु सन् १९७५ को ७ जुनमा भएको थियो । एसिया कपमा भारतपछि सफल राष्ट्र श्रीलंका हो । श्रीलंकाले भारतको दबदबा चिर्दै ६ पटक ट्रफी उचालेको छ । श्रीलंकाले सन् १९९६ मा एकदिवसीय विश्वकप र सन् २०११ मा आइसिसी टी– २० च्याम्पियन बनेको थियो । विश्व क्रिकेटमा छोटो समयमै प्रभाव राखेको श्रीलंकाले च्याम्पियन्स ट्रफी एकपटक जितेको छ । श्रीलंकाले आठ सय ९४ एकदिवसीय खेल खेलेको छ ।

श्रीलंकाले चार सय नौ खेलमा जित र चार सय ४१ खेलमा हारको सामना गरेको छ । ३९ खेल नतिजाविहीन हुँदा पाँच खेलमा श्रीलंकाले टाई निकालेको छ । श्रीलंकाले अन्तर्राष्ट्रिय टी–२० मा एक सय ७९ खेल खेल्दा ७९ मा जित निकाल्यो । यस फर्म्याटमा श्रीलंका ९४ खेलमा पराजित भएको छ । चार खेल टाई र दुई खेल नतिजाविहीन भएको छ । समग्रमा श्रीलंकाले सबै फर्म्याटमा गरी एक हजार तीन सय ८६ खेल खेलेको छ । 

पाकिस्तान :  पछिल्लो समयमा पाकिस्तान लयमा छ । अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिजमा क्लिन स्विप गरेको पाकिस्तानको एसिया कपमा आत्मविश्वास बढेको छ । आयोजक राष्ट्रसमेत रहेको पाकिस्तान आइसिसी एकदिवसीय वरीयताको शीर्ष स्थानमा छ । पाकिस्तानले सन् १९५२ मा भारतविरुद्ध टेस्टमा डेब्यु गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेको थियो । एकदिवसीय क्रिकेटमा छोटो समयमै पाकिस्तानले तहल्का मच्चायो ।

सन् १९९२ मा इमरान खानको कप्तानीमा पाकिस्तानले एकदिवसीय विश्वकप ट्रफी जितेको थियो । पाकिस्तानले आइसिसी टी–२० विश्वकप र च्याम्पियन्स ट्रफी समान एकपटक हात पारेको छ । पाकिस्तानले अहिलेसम्म नौ सय ५६ एकदिवसीय खेल खेल्दा पाँच सय ६ खेलमा जित, चार सय २१ खेलमा हार र नौ खेल टाई निकालेको छ । समग्रमा पाकिस्तानले सबै किसिमको फर्म्याटमा गरी एक हजार ६ सय ३२ खेल खेलेको छ । एकदिवसीय ब्याटिङ र बलिङ वरीयतामा शीर्ष १० भित्र खेलाडीको साथ पाएको पाकिस्तानले यसपटक एसिया कपमा चुनौती दिन सक्छ । 

बंगलादेश : बंगलादेश विश्व क्रिकेटमा सधैँ ‘अन्डर डग’ राष्ट्रका रूपमा रहेको छ । बृहत् क्रिकेट प्रतियोगितामा बंगलादेशले अप्रत्याशित नतिजा निकाल्न सक्छ । नसोचेको नतिजा निकाल्न सक्ने भएकाले बंगलादेशलाई विपक्षीले कहिले कमजोर राष्ट्रका रूपमा लिएका छैनन् । बंगलादेशले सन् १९८६, ३१ मार्चमा पहिलो क्रिकेट खेल खेलेको थियो । बंगलादेशले अहिलेसम्म चार सय १५ एकदिवसीय खेल खेल्दा एक सय ५२ मा जित निकालेको छ ।

बंगलादेशले दुई सय ५४ खेलमा हार सामना गर्दा नौ खेलमा नतिजाविहीन निकालेको छ । अन्तर्राष्ट्रिय टी–२० खेलमा बंगलादेशले एक सय ५२ खेल खेलेको छ । जसमा ५६ जित, ९३ हार र तीन खेल टाई भएको छ । समग्रमा बंगलादेशले सबै फर्म्याट गरी सात सय पाँच खेल खेलेको छ । सकिव अल हसनको कप्तानीमा रहेको बंगलादेश तीनपटकको एसिया कप उपविजेता हो । 

अफगानिस्तान : अफगानिस्तानले सन् २००९ को १९ अप्रिलमा स्कटल्यान्डसँग एकदिवसीय डेब्यु गरेको थियो । एसिया कपमा अफगानिस्तानले सन् २०१४ मा पहिलो खेल खेलेको थियो । त्यसयता अफगानिस्तान निरन्तर रूपमा एसिया खेलिरहेको छ । अफगानिस्तानले एक सय ५० एकदिवसीय खेल खेलेको छ । जसमध्ये ७३ खेलमा जित र ७२ मा हारको सामना गरेको छ । यसै साता मात्र अफगानिस्तानले पाकिस्तानसँग एकदिवसीय सिरिज गुमाएको थियो । यस टोलीले ५० ओभरको फर्म्याटमा चार खेल नतिजाविहीन र एक खेल टाई निकालेको छ । अफगानी खेलाडी २० ओभरमा बलिया मानिन्छन् । एक सय १५ टी–२० खेलमा अफगानिस्तानले ७२ खेलमा जित र ४२ खेलमा हार सामना गरेको छ । समग्रमा अफगानिस्तानले सबै फर्म्याटमा गरी दुई सय ७२ खेल खेलेको छ । 

नेपाल :  नेपाल एसिया कपकै डेब्यु राष्ट्र हो । एसिसी प्रिमियर कपको विजेता हुँदै नेपालले एसिया कपमा स्थान सुरक्षित गरेको थियो । प्रतियोगितामा सहभागीमध्ये सबैभन्दा कमजोर टोलीका रूपमा नेपाललाई लिइएको छ । सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो । सन् २०१८ मै नेपालले जिम्बावेमा चार वर्षका लागि एकदिवसीय मान्यता पाएको थियो । नेपालले सन् २०१४ मा पहिलोपटक आइसिसी टी–२० विश्वकप खेलेको थियो । बंगलादेशमै नेपालले क्रिकेट इतिहासमै पहिलोपटक हङकङ र बंगलादेशलाई टी–२० खेलमा पराजित गरेको थियो । रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालका लागि विश्व चर्चित लेग स्पिनर सन्दीप लामिछानेको साथ रहनेछ । 

एक हजार रननजिक तीन नेपाली ब्याट्सम्यान
एसिया कपमा नेपाली खेलाडीहरूले आफ्नो नाममा व्यक्तिगत रेकर्ड बनाउने अवसर पाएका छन् । ऐतिहासिक रूपमा आइसिसी एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको पाकिस्तानविरुद्धको उद्घाटन खेलसँगै नेपालका तीन खेलाडीले प्रतियोगितामा व्यक्तिगत रेकर्ड बनाउने सँघारमा हुनेछन् । ओपनर कुशल भुर्तेल, आरिफ सेख र दीपेन्द्रसिंह एकदिवसीय खेलमा एक हजार रनको कोसेढुंगानजिक छन् । यी तीनजना खेलाडीले पहिलो खेलमा ब्याटिङमा राम्रो गर्न सके एक हजार रन पूरा गर्नेछन् । 

नेपालको एकदिवसीय क्रिकेट इतिहासमा कप्तान रोहित र आसिफ सेखले मात्र एक हजार रन पूरा गरेका छन् । रोहितले ५२ खेलमा ५१ इनिङ्स खेल्दै एक हजार चार सय ६९ रन जोडेका छन् । एकदिवसीय खेलमा उनको उच्च व्यक्तिगत रन एक सय २६ हो । उनले ५० ओभरको फम्र्याटमा एक शतक तथा आठ अर्धशतक बनाएका छन् । उनले एक सय ११७ चौका र २५ छक्का प्रहार गरेका छन् । विकेटकिपर ब्याट्सम्यान आसिफले ४१ खेलमा एक सतक र नौ अर्धशतकको सहयोगमा एक हजार एक सय ८७ रन जोडेका छन् । 

कुशल भुर्तेल :  २२ वर्षीय कुशलले ४४ खेलमा नौ सय ८६ रन जोडेका छन् । पाकिस्तानसँगको खेलमा १४ रन बनाउँदा उनले एकदिवीय खेलमा एक हजार रन पूरा गर्नेछन् । उनले ४३ इनिङ्समा एक शतक तथा ६ अर्धशतक बनाएका छन् । यसक्रममा उनले एक सय एक चौका र २० छक्का प्रहार गरे । सन् २०२१ मा उनले पपुवा न्युगिनीसँगको खेलमा एकदिवसीय खेलमा डेब्यु गरेका थिए । एकदिवसीय खेलमा उनको सर्वाधिक रन एक सय १५ रन हो । ५० ओभरको खेलमा उनको स्ट्राइक रेट ७९.३८ हो । 

आरिफ सेख : २५ वर्षीय दायाँहाते ब्याट्सम्यान आरिफले नेपालबाट ४७ एकदिवसीय खेलमा आठ सय ७८ रन बनाएका छन् । उनलाई एक हजार रन बनाउन एक सय २२ रन आवश्यक छ । ५० ओभरको खेलमा पाँचपटक नटआउट रहेका उनले अहिलेसम्म एक हजार चार सय ६ बलको सामना गरेका छन् । उनले ६ अर्धशतकीय इनिङ्स खेलेका छन् । यसक्रममा उनको व्यक्तिगत उच्च रन ६६ हो । उनले ५३ चौका र चार छक्का प्रहार गरेका छन् । सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध उनले एकदिवसीय खेलमा डेब्यु गरेका थिए ।

दीपेन्द्रसिंह ऐरी :  मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्र सिंहले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध डेब्यु गरेका थिए ।डेब्युयता उनले निरन्तर रूपमा स्थान बनाएका छन् । उनले ५० खेलमा आठ सय ५७ रन बनाएका छन् । एक हजार रन पूरा गर्न उनलाई एक सय ४३ रन आवश्यक छ । उनले नेपालका लागि एक शतक र तीन अर्धशतक इनिङ्स खेलेका छन् । आइसिसी एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा उनी आयरल्यान्डसँगको खेलमा शून्य रनमै आउट भएका थिए । उनले एक खेलमा ब्याटिङ नै गरेनन् । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले १६औँ एसिया कपमा चम्कन सक्ने ६ खेलाडी चयन गरेको छ । प्रतियोगितामा सहभागी ६ राष्ट्रबाट एक–एक खेलाडीको छनोट आइसिसीले गरेको छ । आइसिसीको नजरमा नेपालबाट गुल्सन झा सम्भावित चम्कन सक्ने खेलाडीमा परेका छन् । 

बाबर आजाम (पाकिस्तान) :  आइसिसीको पछिल्लो एकदिवसीय ब्याटिङ वरीयतामा बाबर शीर्ष स्थानमा छन् । पाकिस्तानी टोलीका कप्तानसमेत रहेका उनले क्रिकेटका सबै फम्र्याटमा राम्रो ब्याटिङ गर्न सक्छन् । सन् २०१६ मा उनले वेस्ट इन्डिजविरुद्ध डेब्यु गरेका थिए । अहिलेसम्म १०३ एकदिवसीय खेलमा उनले पाँच हजार दुई सय दुई रन जोडेका छन् । यसक्रममा १८ शतक तथा २८ अर्धशतक बनाए । १२ पटक नटआउट रहेका उनले चार सय ६८ चौका र ५२ छक्का प्रहार गरे । 

जसप्रित बुमराह (भारत) :  बुमराहले एसिया कपमै भारतीय टोलीमा पुनरागमन गरेका हुन् । चोटका कारण उनी पछिल्लो समय संघर्षरत थिए । उनी भारतका प्रमुख बलर हुन् । उनले मिडल ओभर र डेथ ओभरमा योर्करसहित स्विङ बलिङ गर्न सक्छन् । सन् २०१६ मा उनले अस्ट्रेलियाविरुद्ध डेब्यु गरे । ७२ एकदिवसीय खेलमा उनले एक सय २१ विकेट लिएका छन् । उनले दुईपटक पाँच विकेट तथा पाँचपटक चार विकेटको प्रदर्शन गरेका छन् । उनको उत्कृष्ट प्रदर्शन १९–६ हो । 

गुल्सन झा (नेपाल) :  १७ वर्षीय गुल्सनले ग्लोबल छनोटमा प्रभावशाली बलिङ र ब्याटिङ गरेका थिए । यसैको प्रभाव आइसिसीलाई परेको छ । सन् २०२१ मा अमेरिकाविरुद्ध डेब्यु गरेका उनले २२ खेलमा २१ इनिङ खेल्दै २१ विकेट लिएका छन् । यसक्रममा उनको उत्कृष्ट प्रदर्शन २८–३ हो । नेपाली टोलीमा अलराउन्डर प्रदर्शनमा माहिर गुल्सनले १८ इनिङमा ब्याटिङ गर्दै चार सय ५२ रन बनाएका छन् । उनले तीनपटक अर्धशतक खेले । उनको व्यक्तिगत सर्वाधिक रन ६७ हो । मिडिल ओभरमा विपक्षीको रेट घटाउन उनको भूमिका महत्वपूर्ण हुन सक्छन् । 

रासिद खान (अफगानिस्तान) :  विश्व क्रिकेटमा नाम चलेका क्रिकेटमध्ये रासिद हुन् । अफगानिस्तानलाई एकदिवसीयदेखि टेस्ट राष्ट्र बनाउनुमा उनको योगदान धेरै छ । एसिया कपकै प्रतिभाशाली स्पिनरमध्ये उनलाई आइसिसीले एक मानेको छ । अफगानिस्तानको स्पिनर पक्ष बलियो बनाउने जिम्मेवारी उनकै हो । बलिङ एक्समा उनको भिन्नता छ । सन् २०१८ मा उनले जिम्बावेविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरे । ९२ खेलमा उनले एक सय ७० विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन १८–७ हो । ब्याटिङमा उनले ७३ इनिङ्स खेल्दै एक हजार एक सय ६० रन बनाएका छन् ।

तक्सिन अहमेद (बंगलादेश) :  बंगलादेश क्रिकेट बोर्डले फास्ट बलर अहमेदलाई सुरुवातमा बाहिर राखेको थियो । इबादत हुसैन घाइते भएपछि बोर्डले अहमेदलाई एसिया कपमा मौका दिएको हो । अहिले उनको काँधमै बंगलादेशको तीवग्रति बलिङ जिम्मेवारी छ । पछिल्लो समय उनले अफगानिस्तानसँगको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । २८ वर्षीय अहमेदले ५९ एकदिवसीय खेलमा ८१ विकेट लिएका छन् । उनले तीनपटक चार तथा दुईपटक पाँच विकेट प्रदर्शन गरेका छन् । ब्याटिङमा उनले ३० इनिङ्समा एक सय ४९ रन जोडेका छन् । सन् २०१४ मा उनले भारतविरुद्ध डेब्यु गरेका थिए । 

महिस थिक्षणा (श्रीलंका) :  अहिले श्रीलंकाले बलिङमा निकै विश्वास गरेका खेलाडी महिस हुन् । जिम्बावेमा भएको आइसिसी विश्वकप छनोटमा उनले श्रीलंकाका लागि सर्वाधिक २१ विकेट लिएका थिए । उनकै यसै अद्भूत प्रदर्शनका कारण श्रीलंकाले विश्वकपमा स्थान बनाएको हो । सन् २०२१ मा उनले दक्षिण अफ्रिकाविरुद्ध डेब्यु गरेका थिए । उनले बलिङको क्रममा २२ खेलमा ३६ विकेट लिएका छन् । यसैगरी, ब्याटिङमा उनले ८८ रन जोडेका छन् । उनले बलिङमा चारपटक चार विकेट लिए ।

एजेन्सीको सहयोगमा 

ad
ad