
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रियता र स्वाधीनताको पक्षमा आफू जनयुद्ध जसरी लडेको बताएका छन्।
आज बुटवलमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
अहिले कसैबाट हुन्न र केही हुन्न भन्दै निराशा बाँड्न खोजिएको उल्लेख गर्दै निराशा बाँडेर सामन्तवाद ब्युँताउन खाेजिएको बताए।
प्रधानमन्त्रीले भने, ‘नेपालको राष्ट्रिय हित, स्वाधीनता र सार्वभौमसत्ताको रक्षाको निम्ति जनयुद्ध जसरी म अहिले पनि लडिरहेको छु। लडाइँको रूप फेरिएको छ, तर लडाइँ जारी छ। त्यसमा विश्वस्त रहन सबैमा म अपिल गर्न चाहन्छु।’
प्रधानमन्त्रीले आफूहरू जटिल परिस्थितिमा पनि देशको राष्ट्रिय हित, सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकारको सुनिश्चित कसरी गर्ने भन्नेमा लागेको बताए।
धेरै अप्ठ्याराहरूको सामना गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सबैभन्दा ठूलो राष्ट्र, जनता, समाजवाद, सुशासन, सामाजिक न्याय र समृद्धि भएको बताए।
उनले आफूहरू भने जनगणतन्त्रबाट माथि उठाएर समाजवादी गणतन्त्रमा रूपान्तरित गर्न चाहेको बताए।