१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o६:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

बागमतीमा डेंगु संक्रमित चार हजार नाघे 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:o१:oo

१३ जिल्लामा २८ दिनमै झन्डै तीन हजारमा डेंगु संक्रमण

बागमती प्रदेशका १३ जिल्लामा २८ दिनमै झन्डै तीन हजारमा डेंगु संक्रमण पुष्टि भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार धादिङमा एक हजार सात सय ८७, काठमाडौंमा दुई सय ९८, मकवानपुरमा दुई सय ७४, ललितपुरमा एक सय ७९, चितवनमा एक सय ५१ र भक्तपुरमा ९३ जनामा डेंगु देखिएको छ । त्यस्तै, नुवाकोटमा ५५, काभ्रेमा २८, रामेछापमा १९, सिन्धुली १७, सिन्धुपाल्चोकमा ११, दोलखामा नौ र रसुवामा दुईजनामा डेंगुको संक्रमण पुष्टि भएको छ ।

पानी पर्ने र धेरै समय घाम नलाग्ने भएकाले डेंगुको संक्रमण तीव्र रूपमा फैलिएको मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले बताए । ‘पानी पर्ने र धेरै समय घाम नलाग्नु डेंगुको वृद्धि विकासका लागि उपयुक्त वातावरण हो । यस्तो वातावरणमा डेंगुको लार्भा सजिलै बढ्ने हुन्छ । जसको कारणले पछिल्लो समय डेंगुको संक्रमण धेरै देखिएको हो,’ उनले भने । 

यसअघि साढे सात महिना (१७ पुसदेखि १५ साउन)मा यस क्षेत्रमा एक हजार एक सय ७५ जनामा मात्रै डेंगु संक्रमण पुष्टि भएको थियो । बागमतीका १३ जिल्लामा जनवरीमा ५७, फेब्रुअरीमा ३०, मार्चमा २९, अप्रिलमा ५२, मेमा २७, जुनमा एक सय १८, जुलाईमा आठ सय ६२ र अगस्टको २८ दिनमा दुई हजार नौ सय २३ गरी चार हजार ९८ जनामा डेंगु संक्रमण भएको स्वास्थ्यको तथ्यांक छ । 

साढे सात महिनामा सबैभन्दा धेरै धादिङमा दुई हजार ६ सय ४२ मा डेंगु संक्रमण भएको छ । त्यस्तै, काठमाडौंमा चार सय १०, मकवानपुरमा दुई सय ९०, ललितपुरमा दुई सय १६, चितवनमा एक सय ७९ र भक्तपुरमा एक ३७ जनामा डेंगुको संक्रमण भएको छ । यसैगरी प्रदेशको नुवाकोटमा ८३, रामेछापमा ४२, काभ्रेमा ३९, सिन्धुली २८, सिन्धुपाल्चोकमा १४ दोलखामा १२ र रसुवामा ६ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ ।

बागमतीमा गत वर्ष ४२ हजार चार सय ५९ जनामा डेंगु संक्रमण देखिएको थियो । बागमती प्रदेश सरकारले १३ जिल्लाका १३ वटै स्वास्थ्य संस्थामार्फत स्थानीय तहको सहयोगमा डेंगु नियन्त्रणका लागि काम गरिरहेको उनले बताए । डेंगु फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट मात्रै यसको नियन्त्रण र रोकथामको उपाय भएकाले सोहीअनुसार आफूहरूले काम गरिरहेको भुसालले बताए । 

एक महिनामै पाँचको मृत्यु

बागमतीमा डेंगु संक्रमणका कारण एक महिनामा पाँचजनाको मृत्यु भएको छ । ललितपुरमा दुई तथा धादिङ, मकवानपुर र सिन्धुपाल्चोकमा एक–एकजना गरी पाँचजनाको डेंगु संक्रमणबाट मृत्यु भएको भुसालले जनाए । उनका अनुसार ललितपुरमा ७१ वर्षका पुरुष र ३८ वर्षकी महिलाको डेंगु संक्रमणका कारण मृत्यु भएको छ । यस्तै, डेंगु संक्रमित भएर चितवनमा उपचारका क्रममा मकवानपुरका ४१ वर्षीय पुरुष र चितवनमै उपचारका क्रममा धादिङकी ७२ वर्षीया महिलाको मृत्यु भएको छ भने काभ्रेकी ३८ वर्षीया महिलाको पनि डेंगु संक्रमणका कारण मृत्यु भएको छ ।

 

ad
ad