
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको केही महिनामै उसको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदारी संकटमा परेको छ । अर्थात्, अमेरिका र भारतबिचको सम्बन्धमा निकै तिक्तता आएको छ । अवस्था यति खराब रहयो कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई महिनाभन्दा बढी समय ट्रम्पको फोन अस्वीकार गरे ।
पछिल्ला दिनमा ट्रम्पले भारतसँगको व्यापार सम्बन्धलाई ‘पूर्ण रूपमा एकतर्फी प्रकोप’को रूपमा व्याख्या गरेका छन् । यस वर्षको अन्त्यमा भारतमा आयोजना हुने क्वाड साझेदारहरू (भारत, अमेरिका, अस्ट्रेलिया र जापान)को शिखर सम्मेलनमा ट्रम्प नयाँदिल्ली नजाने रिपोर्ट सार्वजनिक भएको छ ।
गत वर्ष ट्रम्पले चुनाव जित्दा नयाँदिल्लीका धेरै मानिस हर्षित भए । मोदीले आफ्ना ‘मित्र’लाई एक्समा बधाई दिए, साथै दुईजनाले अँगालो हालेका तस्बिर सामाजिक सञ्जालमा भाइरल भए । भारतका विदेशमन्त्री एस जयशंकरले ह्वाइटहाउसमा ट्रम्पको फिर्तीले अन्य देश ‘चिन्तित’ भए पनि भारत दु:खी नभएको बताए ।
आत्मविश्वासी महसुस गर्दै ट्रम्प ह्वाइटहाउसमा फर्केको केही दिनपछि उनलाई भेट्न मोदी वासिंटन हानिए । तर, भेटघाट सोचेजस्तो राम्रो भएन । बैठकको पूर्वसन्ध्यामा हत्कडी र हतियारले बाँधिएका भारतीय नागरिकको पीडादायी तस्बिर देखेर मोदी जिल्ल परे । उनीहरूलाई सैन्य विमानमा अमेरिकाबाट निर्वासित गरिएको थियो । राष्ट्रपति कार्यलय ओभल अफिसमा मोदीले थप अमेरिकी हतियार, तेल र ग्यास किन्ने वाचा गरे । ट्रम्पलाई भारतमा दण्डात्मक शुल्क नलगाउन आग्रह गरे । तर, मोदीले ट्रम्पको विश्वास जित्न सकेनन् । केही हप्तापछि ट्रम्पले भारतमा २७ प्रतिशत शुल्कको घोषणा गरे, जुन चीनमा लगाइएको १० प्रतिशतभन्दा धेरै बढी थियो ।
कस्मिरमा संकट
नचाहँदा–नचाहँदै नयाँदिल्लीले व्यापारबारे कुरा गर्न थाल्यो । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अप्रिलको अन्त्यमा भारतको भ्रमण गरे र दुवै पक्षले सम्झौताबारे सकारात्मक आवाज उठाए । तर, भान्स आउँदा भारत नयाँ संकटमा फसेको थियो । अप्रिल २२ मा लामो समयदेखि भारत र पाकिस्तानबिच द्वन्द्वको केन्द्र बनेको कस्मिरमा अतिवादीले २६ निर्दोष सर्वसाधारणको हत्या गरे (धेरैजसो हिन्दु पर्यटक) । उक्त घटनापछि मोदी सरकारले विगतमा जस्तै बल प्रयोग गरेर पाकिस्तानलाई जवाफ दिने वाचा गर्यो ।
मे ७ मा भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कस्मिरमा आतंकवादी शिविरमा बमबारीको दाबी गर्यो । अप्रत्याशित द्वन्द्वपछि दुवै पक्षले ड्रोन र मिसाइलमार्फत एक–अर्कालाई हमला गरे । विश्वभरका सरकारले दुई आणविक हतियारधारी राज्यलाई मामिला नियन्त्रणबाहिर जानुअघि शत्रुता समाप्त गर्न आग्रह गरे । मे १० को बिहान सबेरै तिनीहरूले युद्धविराममा सहमति जनाए ।
ट्रम्पले शान्तिदूतको जस लिए
भारतीय वा पाकिस्तानी सरकारहरूले केही भन्नुअघि नै ट्रम्पले युद्धविरामको श्रेय लिए । सामाजिक सञ्जालमा उनले दुवै पक्षले सम्झौतामा सहमति जनाएको घोषणा गरे । भोलिपल्ट उनले दाबी गरे कि दुवै देश चाँडै नै मध्यस्थकर्ताको रूपमा उनीसँग बसेर कास्मिर द्वन्द्वको समाधान खोज्नेछन् । उनको भनाइप्रति इस्लामाबाद खुसी देखिए पनि नयाँदिल्ली आक्रोशित बन्यो ।
कास्मिर विवाद तेस्रो पक्षको संलग्नताविना द्विपक्षीय रूपमा समाधान गर्नुपर्छ भन्ने भारतको लामो समयदेखिको दृष्टिकोण हो । अमेरिकाले २० वर्षभन्दा बढी समयदेखि यो अडान स्वीकार गर्दै आएको थियो । अब यस्तो देखिन्छ कि ट्रम्पले फरक दृष्टिकोण अपनाइरहेका थिए । यसले मोदीलाई बन्धनमा पारेको छ । पारस्परिक रूपमा लाभदायक साझेदारी कायम राख्न र दण्डात्मक करबाट बच्न उत्सुक, उनी ट्रम्पलाई निराश पार्न चाहँदैनथे ।
भारतीय नीतिको आधारभूत सिद्धान्तलाई पन्छाएर मोदीले ट्रम्पको दाबीलाई स्वीकार गर्न सक्दैनथे । मोदीले वासिंटनलाई फोन गरे र कस्मिरमा मध्यस्थता स्वीकार नगर्ने कुरा स्पष्ट पारे ।
अन्तिम अवसर
यसैबिच, पाकिस्तानले वासिंटनको पक्ष लिने र अमेरिका र भारतबिच फाटो ल्याउने अवसर देख्यो । ट्रम्पले नोबेल शान्ति पुरस्कारको लोभ गर्छन् भन्ने कुरा स्वीकार गर्दै इस्लामाबादले उनलाई द्वन्द्व अन्त्य गर्न उनको कथित भूमिकाका लागि मनोनीत गर्यो । उत्साहित भएर ट्रम्पले जुन १७ मा मोदीलाई फोन गरे र आफूलाई शान्ति पुरस्कारका लागि मनोनीत गर्न भने । अझ नराम्रो कुरो क्यानडामा भएको जी–७ शिखर सम्मेलनबाट फर्कने क्रममा ट्रम्पले मोदीलाई वासिंटनमा रोकिन र पाकिस्तानका सैन्य प्रमुख असिम मुनिरसँग भेट्न अनुरोध गरे ।
हालैको रिपोर्टअनुसार त्यो मोदीका लागि अन्तिम धक्का थियो । उनले दुवै अनुरोधलाई स्पष्ट रूपमा अस्वीकार गरे । त्यसपछि दुईजना छलफल गर्न चासो देखाएनन् । रिसाएका ट्रम्पले भारतलाई रुसी तेल किन्न जारी राखेकोमा दण्ड दिएर भन्सारदर ५० प्रतिशत मात्र पुर्याएनन्, व्यापार वार्ता स्थगित गरेको घोषणा गरे ।
ट्रम्पको कार्यले आमभारतीय आक्रोशित छन् र कारबाहीको माग गरिरहेका छन् । तर, मोदी सरकारसँग राम्रो विकल्प छैन । जबर्जस्ती अगाडि बढ्दा मोदी कमजोर देखिनेछन् । तैपनि, बजार, लगानी, प्रविधि, हतियार र कूटनीतिक समर्थनको सन्दर्भमा भारतलाई चाहिने कुरा अरू कुनै पनि प्रमुख शक्तिले दिन सक्दैन ।
अमेरिका–भारत सम्बन्ध तनावपूर्ण बन्दै गएपछि नयाँदिल्लीले चीनसँगको सम्बन्धलाई स्थिर बनाउन कडा मिहिनेत गरिरहेको छ । दुई देशबिचको सम्बन्ध पनि २०२० मा भएको रक्तपातपूर्ण सीमा झडपदेखि तनावपूर्ण छ । मोदी सात वर्षमा पहिलोपटक अगस्ट ३१ मा राष्ट्रपति सी जिनपिङसँग हात मिलाउँदै त्यो उद्देश्यलाई अगाडि बढाउन चीन गए । तर, सीले मैत्रीपूर्ण सम्बन्धको आवश्यकतामा जोड दिए पनि उनले ‘हात्ती र ड्र्यागनसँगै नाच्नुपर्ने’ बताए । हाल भारत र चीनबिच थोरै विश्वास छ । मोदी रुसलाई बढी विश्वास गर्छन् । चीनमा मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पुटिनको लिमोजिनमा लगभग एक घण्टा कुराकानी गरे । र, मोदीले यस वर्षको अन्त्यमा भारतमा रुसी नेतालाई निम्तो दिए । यद्यपि, रुस युरोपमा एक्लो बनेको छ र उसलाई मद्दत गर्ने सीमित माध्यम छन् ।
अन्य देशजस्तै जापानले पनि भारतलाई वर्तमान संकट पार गर्न मद्दत गर्न सक्छ । तर, उनीहरूसँग यसलाई समाधान गर्ने शक्ति छैन । जबसम्म मोदीले ट्रम्पको मन जित्ने बाटो फेला पार्न सक्दैनन्, भारतको आगामी केही वर्ष धेरै कठिन हुन सक्छ ।
– द कन्भर्सेसनबाट