डोल्पामा कार्यरत नेपाली सेनाका मेजर सम्पर्कविहीन भएका छन्। सदरमुकाम दुनैस्थित नन्दबक्स ब्यारेक भदालेका मेजर विमल पण्डित आइतबार साँझदेखि बेपत्ता भएका हुन्।
मेजर पण्डित एक्लै दुनैबाट पश्चिमतिर पर्ने त्रिपुराकोट हिनेको र त्यसपछि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए।
हिजो साँझ देखिनै नेपाल आर्मी, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारीले व्यापक खोजी गरे पनि पत्ता लाग्न नसकेको उनले बताए।
उनी आइतबार साझ एउटा सार्वजनिक जिप रिजर्भ गरेर त्रिपुराकोट पुगेको र त्रिपुराकोटस्थित नरलाल रोकायको पसलमा फोन पेमार्फत २६ हजार रकम हाल्दिएर क्यास फिर्ता मागेका थिए।
काठमाडौंमा स्थायी घर भएका मेजर पण्डितले आफू सिटिजन्स बैंकको नयाँ कर्मचारी भनेर बताएको र आफूले बैंकका सबै कर्मचारी चिन्छुभन्दा आलटाल गरेर पसलबाट निस्केको व्यापारी रोकायले बताए।
उनी त्यसपछि उनी त्रिपुरासुन्दरी– १० मा पर्ने लिकुतर्फ गएका थिए । लिकुतर्फ हिँडेको १० मिनेटमै पुनः फर्केर चुँ गार्ड भन्ने ठाउँमा रहेको एक पसलमा डोरी मागेको र डोरी नभएको बताएपछि उनी त्यहाँबाट हिँडेको बुझिएको छ।
मेजर पण्डित कम बोल्ने स्वभाव र त्यस्तो कुनै मानसिक समस्या नभएको व्यक्ति भएको उनलाई चिन्नेहरू बताउँछन्। उनको सबै सुरक्षा संयन्त्र परिचालन गरेर व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ।