
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मौसम पूर्वानुमानलाई यथार्थपरक बनाउने गरी काम अगाडि बढाउने बताएका छन्।
बिहीबार जल तथा मौसम विज्ञान विभागको कार्यालय अनुगमन गर्दै उनले यस आर्थिक वर्षमै सो काम अघि बढाउने बताएका हुन्। मन्त्री बस्नेतले यसका निम्ति विगतको अनुभवसमेतलाई मध्यनजर गर्दै आवश्यक अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिए।
‘हामी छलफल गरिरहेका छौँ हाम्रो पूर्वानुमानलाई कसरी अझ भरपर्दो बनाउन सकिन्छ ? त्यसको निम्ति हामीले प्रविधिको क्षेत्रमा, हामीले प्रयोग गरिरहेका स्रोतहरूलाई अधिकतम प्रयोग गरेर हाम्रो अवस्थाअनुकूल विश्लेषण गर्ने कुरा अझ जरुरी छ,’ उनले भने, ‘यसको निम्ति चाहिने प्रविधि, जनशक्तिको कुरा, आवश्यक पर्ने तालिमको कुरा यो सबैबारे सरकारले मन्त्रालयको तर्फबाट पर्याप्त ध्यान पुर्याउँछौँ ।’
मन्त्री बस्नेतले पूर्वसूचना प्रणालीलाई पनि जनमानसमा अझ व्यापक गर्नुपर्नेमा जोड दिए। उनले यसको निम्ति नीतिगत, संरचनागत तथा प्राविधिक क्षेत्रमा गर्नुपर्ने काम सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे।