१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o८:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

साउनमा पनि सुध्रिएन वैदेशिक व्यापार

पोहोरभन्दा पनि खस्कियो वैदेशिक व्यापार, एक अर्बभन्दा बढी मूल्यमा २० वस्तु आयात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:३६:oo

चालू आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक व्यापारमा कमजोर नै देखिएको छ । बजारमा माग संकुचित अवस्थामा रहेको र बैंक तथा वित्तीय संस्थाले समेत कर्जा विस्तार नगरेका कारण आन्तरिक माग बढ्न सकेको छैन । यसको असर वैदेशिक व्यापारमा पनि परेको छ । 

गत वर्ष विदेशी मुद्रा सञ्चिति जोगाउन सरकारले केही वस्तुको आयातमा प्रतिबन्ध लगाएको र कर्जा प्रवाहलाई समेत संकुचित बनाइएकाले आयात खस्किएको थियो । चालू आर्थिक वर्षको सुरुवातमा बजार चलायमान हुने अपेक्षा गरिए पनि आन्तरिक माग संकुचित हुँदा आयात–निर्यात दुवै कमजोर देखिएका छन् । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा वस्तुको आयात–निर्यात दुवै घटेको छ । 

गत आर्थिक वर्षको साउनको तुलनामा आयात १.५६ प्रतिशतले र निर्यात ८.६५ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांक छ । विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा एक खर्ब २९ अर्बको वस्तु आयात भएको छ । गत आवको साउनमा एक खर्ब ३१ अर्बको वस्तु आयात भएको छ । त्यस्तै, साउनमा १३ अर्ब ५२ करोडको वस्तु निर्यात भएको छ । गत आवको साउनमा १४ अर्ब ८० करोडको निर्यात भएको थियो । समग्रमा वैदेशिक व्यापार गत वर्षभन्दा खस्किएको हो । कुल वैदेशिक व्यापार एक खर्ब ४२ अर्ब पुगेको छ । गत साउनमा वैदेशिक व्यापार एक खर्ब ४६ अर्ब थियो । कुल वैदेशिक व्यापार २.२८ प्रतिशतले घटाएको छ । 

 अर्बभन्दा बढी मूल्यका २० वस्तु आयात 
गत आर्थिक वर्षको साउनमा अर्बभन्दा बढी मूल्यमा २१ वस्तु आयात भएका थिए । अहिले अर्बभन्दा बढी मूल्यमा २० वस्तु मात्रै आयात भएका छन् । सबैभन्दा बढी आयात हुनेमा डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, फलामजन्य उत्पादन, स्मार्टफोन, धान, रासायनिक मल, भटमासको कच्चा तेल, सूर्यमुखीको कच्चा तेल, सुन, हवाई इनधन र मकै आयात भएका छन् । पोहोर साउनमा १२५ सिसीसम्मका मोटरसाइकल एक अर्बभन्दा बढी मूल्यमा आयात हुने सूचीमा थियो । २० प्रमुख आयातित वस्तुको कुल आयात मूल्य ४९ अर्ब ९३ करोड रुपैयाँ छ । पोहोर प्रमुख २१ वस्तुको आयात मूल्य ६० अर्ब ५३ करोड थियो । 

 प्रमुख १० निर्यात वस्तु 
साउनमा निर्यात हुने प्रमुख १० वस्तुमा अलैँची, कार्पेट, स्टिल, धागो, कालो चिया, घरपालुवा जनावरका लागि जाने खाद्यान्न छन् । यी १० वस्तुको कुल निर्यात पाँच अर्ब ३५ करोड रुपैयाँ छ । कुल निर्यातमा यी १० प्रमुख वस्तुको हिस्सा ३९.४६ प्रतिशत छ । 

भारतले ४ साउनदेखि बासमतीबाहेकका चामल निर्यातमा प्रतिबन्ध लगाएको छ ।  जसकारण महँगो मानिने बासमती चामलको आयात मूल्यमा वृद्धि भएको तथ्यांकले देखाएको छ । गत वर्ष साउनमा ३६ करोड ८५ लाख रुपैयाँ बराबरको बासमती चामल आयात भएको थियो । यो साउनमा चामलको आयात ५२ करोड नौ लाख पुगेको छ । 

मात्राको हिसाबले यो चामल ४५ लाख ५८ हजार किलोबराबर आयात भएको छ । पोहोर साउनमा ४७ लाख २६ हजार किलो आयात भएको थियो । साधारण चामलमा प्रतिबन्ध लागेसँगै बासमती चामलको मूल्यमा वृद्धि भएको हो ।

ad
ad