Skip This
कपाली तमसुक बनाएका साहुकारले धर्मेन्द्रप्रसादलाई दुई वर्षका लागि जेल पुर्‍याए
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ७ बिहीबार
  • Tuesday, 23 July, 2024
तिवारी यादव वीरगन्ज
२o८o भदौ ७ बिहीबार o६:२o:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कपाली तमसुक बनाएका साहुकारले धर्मेन्द्रप्रसादलाई दुई वर्षका लागि जेल पुर्‍याए

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ७ बिहीबार o६:२o:oo

पर्साको वीरगन्ज महानगरपालिका– २७ कुहडी टोलका धर्मेन्द्रप्रसाद पासवानलाई साहुकारले जेल पुर्‍याएका छन् । कुहडीकै साहुकार बलिराम यादवसँग ५० हजार ऋण लिएका पासवान कपाली तमसुकको भुमरीमा परेर दुई वर्षका लागि जेल चलान भएका हुन् । उनी गत १६ माघदेखि जिल्ला कारागार वीरगन्जमा कैद जीवन बिताइरहेका छन् ।

पासवानका परिवारले आफूहरूले ५० हजार रुपैयाँ मात्र लिएको बताइरहे पनि बलिरामले भने दुई लाख ५६ हजार ऋण दिएको दाबीसहित कपाली तमसुकलाई मुख्य आधार बनाएर दायर गरेको मुद्दा पर्सा अदालतले सदर गरिदिएपछि धर्मेन्द्र जेल पुगेका हुन् । धर्मेन्द्रकी श्रीमती मीनाका अनुसार ०७२ मा बलिरामसँग ऋण लिए पनि बलिरामले आफ्ना भाइ रामेश्वरप्रसाद यादवमार्फत दुई लाख ५६ हजार ऋण दिएको कपाली कागज बनाएका थिए । रकम बढाएर तमसुक बनाएको पासवानदम्पतीले पत्तो पाएन । ‘हामी पढे–लेखेका छैनौँ, साहुले जे भने त्यही मानेर औँठा छाप लगायौँ,’ मीनाले दुःखेसो पोखिन्, ‘बलिराम यादवसँग सयकडा पाँच रुपैयाँ ब्याजदरमा ५० हजार कर्जा लिएका थियौँ । हामीलाई फसाइएछ ।’ तर, ऋणी यादवलाई पटक–पटक गरेर ऋण र ब्याजबापत दुई लाख रकम दिइसक्दा पनि अझै पैसा लिन बाँकी रहेको भन्दै माग्न थालेपछि मात्र आफूहरूले थाहा पाएको मीना बताउँछिन् ।

जिल्ला अदालत पर्साका न्यायाधीश उद्धवप्रसाद गजुरेलले २० मंसिर ०७८ मा गरेको फैसलामा भनिएको छ, ‘... तमसुकमा उल्लेखित रकम दुई लाख ५६ हजार र सोको लिखत भरिभराउसम्मका मितिसम्मको कानुनबमोजिम १० प्रतिशतका दरले हुने ब्याज रकमसमेत प्रतिवादी रामेश्वरप्रसाद यादवले फिराद दाबीबमोजिम प्रतिवादी धर्मेन्द्रप्रसाद पासवानबाट भराई लिने पाउने ठहर्छ ।’ कपालीमा उल्लेख भएअनुसार पासवानले २५ असोज ०७२ मा दुई लाख ५६ हजार ऋण लिएर १० प्रतिशतका दरले साँवा र ब्याज पुस मसान्त ०७२ भित्र एकमुस्ट चुक्ता गर्ने भनेका थिए । तर, सो अवधिमा पैसा फिर्ता नपाएको भन्दै यादवले पाँच वर्ष पाँच महिना एक दिनको हुने ब्याज एक लाख ३८ हजार ७३८ र साँवा एक लाख ५६ हजार गरी तीन लाख ९४ हजार सात सय ३८ असुलको माग गर्दै ५ मंसिर ०७८ मा जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । तर, तोकिएको म्यादभित्र प्रतिवादीको प्रतिउत्तर नपरेको भन्दै अदालतको फैसला आएको थियो । आफूहरूसँग पैसा नभएकाले मुद्दा नलडेको मीना बताउँछिन् । 

अदालतले फैसला गर्दा कपाली तमसुकलाई नै मुख्य आधार बनाएको छ । ‘कपाली तमसुकको सक्कल प्रति अध्ययन गर्दा उक्त लिखतमा वादी–प्रतिवादीबीच लेनदेन भएको व्यहोरा उल्लेख भई प्रतिवादीले सहीछाप गरिदिएको देखिएकाले वादीबाट रकम लिएको भन्ने देखिन आएको तथा प्रतिवादीले प्रतिउत्तर नफिराई म्याद गुजारी बसेबाट निजले फिराद दाबीलाई स्वीकार गरी बसेको मान्नुपर्ने देखिन आयो ।’ 

फैसला भएको ३५ दिन र सातदिने म्याद नाघ्दा पनि पासवानले बिगो रकम दाखिला नगरेको भन्दै जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले २२ पुस ०७९ मा उनलाई दुई वर्ष कैदमा राख्नका लागि पक्राउ पुर्जी जारी गरेको थियो । आदेशपत्रमा भनिएको छ, ‘दुई वर्ष कैदमा राख्नका लागि पक्राउ पुर्जी जारी गरी पक्राउ परी आएका बखत निज प्रतिवादीले कागज गरी आफ्नो जेथा–सम्पत्ति खुलाएमा सोही जेथा–सम्पत्तिबाट वादीको फैसलाअनुसार बिगो उपर गराउने र जेथा देखाउन नसकेमा प्रतिवादीलाई बिगोबापत दुई वर्ष कैदमा राख्न कानुनबमोजिम कैदी पुर्जी दिई दाखिला हुन आएको सीधा खर्चसमेत कारागार कार्यालय पर्सा वीरगन्जमा पठाई नियमानुसार गर्नू ।’

बलिरामले भने आफूले दुई लाख ५६ हजार ऋण दिएको, तर पैसा फिर्ता नगरेपछि मुद्दा दायर गरेको दाबी गर्दै आएका छन् । 

साहुकार बलिरामविरुद्ध मिटरब्याजका तीन उजुरी
मिटरब्याजमा ऋण लगाउने र फरक तमसुक बनाएर फसाउँदै आएका वीरगन्जका बलिराम यादवविरुद्ध तीनवटा उजुरी परेका छन् । सरकारले गठन गरेको अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगमा मीनादेवीसहित तीनजनाको उजुरी परेको हो । 

वीरगन्ज– २७ की मीना देवी, वीरगन्ज– २७ कै गायत्री देवी र वीरगन्ज– ६ का इजहार महम्मद अन्सारीले उजुरी दिएका हुन् । मीनाले ५० हजार, गायत्रीले एक लाख र अन्सारीले दुई लाख ऋण लिएर चुक्ता गरिसके पनि साँवा अझै बाँकी रहेको भनेपछि उजुरी दिएका हुन् । यी उजुरी जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता भएका छन् । 

मिटरब्याज शाखाका अनुसार गायत्रीले बलिरामका भाइ रामेश्वर यादवलाई पनि मिटरब्याजी रहेको भन्दै उजुरी दिएकी थिइन् । हाल गायत्रीको एक लाखको विवादबारे अदालतबाट मिलापत्र भएको उक्त शाखाले जनाएको छ । गायत्रीले यादवसँग ऋण लिएको पैसा तिरिसकेकाले अब नदिने गरी अदालतमा मिलापत्र भएको मिटरब्याज शाखाका एक कर्मचारीले बताए । उनका अनुसार यादवविरुद्धका दुई उजुरीमा भने छलफल हुन बाँकी छ । 

‘दलित परिवारमाथि अन्याय’
साहुकार बलिरामले जेल पुर्‍याएका धर्मेन्द्रप्रसाद पासवानको परिवार

विपन्न दलित परिवारका धर्मेन्द्र पासवानले पटक–पटक गरेर ऋण र ब्याज तिरिसक्दा पनि जेल जानुपरेको स्थानीय राजकेश्वर पासवानले बताए । उनले ऋण र ब्याज तिरिसक्दा पनि सात महिनादेखि जेलजीवन बिताइरहेका धर्मेन्द्रमाथि अन्याय भएको बताए । ‘धर्मेन्द्र मासिक १५ हजारभन्दा बढी कमाउँथे । तर, जेल पुर्‍याएपछि परिवारको बिचल्ली छ,’ उनले भने । स्थानीय सुरेन्द्र पासवानले पनि ऋण र ब्याज तिरिसकेका पासवानलाई जेल पठाउने यादवलाई मिटरब्याजी र फौजदारी मुद्दा लगाउन माग गरे । 

बुबा जेल परेपछि छोरीहरूको पढाइ रोकियो

श्रीमान् धर्मेन्द्रप्रसाद जेल गएको सात महिना भयो । त्यसवेलादेखि मीनाको मनमा चैन छैन । उनलाई दुई छोरी र एक छोराको गाँसको जोहो गर्नै धौ–धौ छ ।विद्यालयको शुल्क तिर्न नसक्दा दुई छोरीको त पढाइ नै छुटिसकेको छ । छिमेकीको डेढ धुर जग्गामा सानो घर बनाएर बसेकी मीनाले भनिन्, ‘श्रीमान् धर्मेन्द्रप्रसाद अरूको टेलर्समा सिलाइको काम गर्नुहुन्थ्यो । उहाँलाई पुलिसले लगेपछि धान रोप्ने, गोड्ने काम गर्छु । अरू वेला घरमै हुन्छु ।’ सिजनमा खेतमा काम गरेबापत उनले दैनिक पाँच किलो धान वा डेढ–दुई सय रुपैयाँ पाउँछिन्, त्यही पैसाले उनका छोराछोरीको जीविका चल्दै आएको छ ।

तीन सन्तानमध्ये जेठी छोरी कक्षा ६ र कान्छी छोरी कक्षा १ मा स्थानीय सरस्वती बाल वोधनी एकेडेमीमा पढ्दै थिए । उनीहरूको मासिक फी क्रमशः नौ सय र ६ सय गरी एक हजार पाँच सय भए पनि लामो समयदेखि नबुझाउँदा २१ हजार पुगेको छ । मीनाले उक्त शुल्क जुटाउन नसकेपछि गत चैतमा भएको परीक्षा उनीहरूले दिन पाएनन् । 

‘सामुदायिक विद्यालयमा पढाउने भनेको, तर साइकल भएन,’ मीनाले भनिन्, ‘सामुदायिक विद्यालय घरबाट पाँच किलोमिटर टाढा छ ।’ मीना श्रीमान्लाई भेट्न १२ दिनअघि मात्र कारागार पुगेकी थिइन् । भेटमा श्रीमान्ले जेलमा धेरै दुःख रहेको र बाहिर निकाल्न भन्दै रोएको सुनाइन् ।