Skip This
एकीकृत समाजवादी केन्द्रीय समिति बैठकमा नेपालको प्रतिवेदन- ‘प्रतिनिधिसभा खिचडी छ, गठबन्धन छोड्नुहुँदैन’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ६ बुधबार
  • Saturday, 05 October, 2024
प्रेम गौतम काठमाडाैं
२o८o भदौ ६ बुधबार o८:५४:oo
Read Time : > 4 मिनेट
समाचार प्रिन्ट संस्करण

एकीकृत समाजवादी केन्द्रीय समिति बैठकमा नेपालको प्रतिवेदन- ‘प्रतिनिधिसभा खिचडी छ, गठबन्धन छोड्नुहुँदैन’

Read Time : > 4 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ ६ बुधबार o८:५४:oo

एकीकृत समाजवादीले सरकारको स्थिरतामा प्रश्न उठिरहने अवस्था रहेको विश्लेषण गरेको छ । राजधानीमा मंगलबारदेखि सुुरु भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष माधवकुमार नेपालले संघीय संसद्को प्रतिनिधिसभा र प्रदेश सभा सबै त्रिशंकुु बनेका कारण सरकारको स्थिरतामा प्रश्न उठिरहने अवस्था रहेको औँल्याएका हुन् । 

प्रतिनिधिसभा खिचडी प्रकृतिको रहेको उनको ठहर छ । गणतन्त्रवादी र गणतन्त्रविरोधी, परिवर्तनकारी र प्रतिगमनकारी, अग्रगामी र यथास्थितिवादी, संघीयता पक्षधर र संघीयताविरोधी, धर्म निरपेक्षतावादी र धर्मसापेक्षतावादीबीच अनेक प्रकारले द्वन्द्व चलिरहेको नेपालले औँल्याएका छन् ।

‘प्रतिनिधिसभा र प्रदेश सभा सबै त्रिशंकु भएको हुनाले संघ र सबै प्रदेशमा गठबन्धन सरकार बनेका छन् । सरकारको स्थिरतामा प्रश्न उठिरहने अवस्था छ । प्रतिनिधिसभा त त्रिशंकु मात्र होइन, खिचडी प्रकृतिको समेत छ । त्यहाँ गणतन्त्रवादी र गणतन्त्रविरोधी, परिवर्तनकारी र प्रतिगमनकारी, अग्रगामी र यथास्थितिवादी, संघीयता पक्षधर र संघीयताविरोधी, धर्म निरपेक्षतावादी र धर्मसापेक्षतावादी आदि विभिन्न चरित्रका राजनीतिक शक्ति उपस्थित छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘यी शक्तिबीच अनेक प्रकारले द्वन्द्व चलिरहेको छ । यसरी चलिरहने द्वन्द्वले गर्दा मुलुकमा अस्थिरताका बादल घुमिरहन सक्ने अवस्था छ । अहिले प्रतिपक्षमा रहेका दलहरूले जस्तासुकै विषयमा पनि संसद् अवरोध गर्ने गरेबाट त्यस्तै संकेत पाइन्छ ।’ 

सरकारले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा प्रभावकारी ढंगले काम गर्नुपर्ने नेपालले औँल्याएका छन् । प्रदेश र स्थानीय सरकारले पनि जनसरोकार र विकासका काम प्रभावकारी ढंगले गर्नुपर्ने उनले उल्लेख गरेका छन् । पार्टी सरकारमा भएको स्थानमा सरकारबाट र सरकारमा नभएको तहमा छाया सरकारका रूपमा काम गर्नुपर्ने उनले बताएका छन् । 

एकीकृत समाजवादी र एमालेका सात भिन्नता
एकीकृत समाजवादीले दुई वर्षअघि विद्रोह गरेको एमालेसँग मुख्यतः सात भिन्नता रहेको औँल्याएको छ । नेपालले एमालेबाट विद्रोह गरेकै कारण संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा भएको, प्रतिनिधिसभा पुनस्र्थापित भएर पूर्ण कार्यकाल क्रियाशील रहेको र तीनै तहको निर्वाचन सम्पन्न भएको बताएका छन् । ‘हामीले विद्रोह नगरेको भए यी सब काम हुने थिएनन् । यस अर्थमा हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ,’ नेपालले प्रतिवेदनमा भनेका छन् ।

एमालेमा देखापरेको दक्षिणपन्थी विसर्जनवादविरुद्ध विद्रोह गरेको अध्यक्ष नेपालले स्पष्ट पारेका छन् । उनले एमालेसँगका सात भिन्नता पनि औँल्याएका छन् । नेपालको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘हामी ०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिमार्पmत सामन्ती राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना भएपछि नेपाली जनवादी क्रान्ति आधारभूत रूपमा सम्पन्न भएको मान्दछौँ भने एमाले यो मान्दैन, हामी वर्तमान नेपाली समाज आधारभूत रूपमा पुँजीवादी चरित्रको छ भन्छौँ भने एमाले यो मान्दैन, हामी अब हुने नेपाली क्रान्तिलाई समाजवादी क्रान्ति भन्छौँ भने एमाले यो मान्दैन, हामी मार्क्सवाद–लेनिनवादलाई मात्र मार्गदर्शक सिद्धान्त मान्छौँ भने एमाले जनताको बहुदलीय जनवादलाई समेत मार्गदर्शक सिद्धान्त मान्दछ, हामी समाजवादी क्रान्तिको कार्यक्रम अँगालेर अगाडि बढ्ने भन्छौँ भने एमाले यो मान्दैन, हामी समाजवादी कार्यदिशा अँगाल्ने भन्छौँ भने एमाले यो मान्दैन, हामी प्रतिगामी पुनरुत्थानवादी तत्वका विरुद्ध प्रहार केन्द्रित गर्ने भन्छौँ भने एमाले त्यस्ता तत्वसँग सहकार्य गर्न चाहन्छ ।’

नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरण गर्ने काम भने पूरा हुन नसकेको नेपालले औँल्याएका छन् । संगठनात्मक पुनर्गठन, विचारधारात्मक पुनर्गठन, आचरण र शैलीको पुनर्गठन गर्न बाँकी रहेको उनले उल्लेख गरेका छन् । नेपाली कम्युनिस्ट आन्दोलनमा भित्रिएका अनेकन विकृति र विसंगतिका विरुद्ध मात्रै नभई आफैँभित्रका नकारात्मक पक्षविरुद्ध समेत लामो समय कठोर संघर्ष चलाएर पूरा गर्नुपर्नेमा उनले जोड दिएका छन् । ‘नथाकीकन गर्नुपर्दछ । हामीले आँट गर्‍यौँ भने पक्कै पनि यो काम पनि पूरा गर्न सकिन्छ,’ नेपालले भनेका छन् ।

अस्थिरता रोक्न समाजवादी मोर्चा
नेपालले वर्तमान गठबन्धनलाई बलियो बनाउन र राजनीतिक अस्थिरतालाई रोक्न समाजवादी मोर्चाले मद्दत गर्ने बताएका छन् । साथै, समाजवादी ध्येय भएका राजनीतिक दलहरूका बीच सहमति र सहकार्यको आधारसमेत मोर्चाले तयार पार्ने नेपालको दाबी छ । ‘वामपन्थी तथा समाजवादी शक्तिहरूका बीचको सहकार्यले संविधानको रक्षा र विकास गर्दै पुनरुत्थानवादी तथा दक्षिणपन्थी शक्तिका विरुद्ध एउटा शक्तिका रूपमा काम गर्छ । त्यस अर्थमा यो मोर्चाको निर्माण महत्वपूर्ण छ । जनसाधारणका लागि समेत यसको महत्व कति छ भन्ने कुरा यस मोर्चाको घोषणामा देखिएको उत्साहले स्पष्ट पार्दछ । अहिले यसलाई प्रदेश र जिल्लास्तरसम्म विस्तार गर्ने निर्णय भएको छ । भविष्यमा समाजवादी कार्यक्रम निर्माण गर्न र मुलुकलाई त्यसतर्फ अगाडि बढाउन मोर्चाले योगदान गर्नेछ भन्ने अपेक्षा गरिएको छ,’ प्रतिवेदनमा भनिएको छ ।

समाजवादी मोर्चाका कारण पार्टी कमजोर नहुने नेपालले दाबी गरेका छन् । मोर्चामा रहेको वेलामा पनि पार्टीको स्वतन्त्र अस्तित्व रहिरहने उनले स्पष्ट पारेका छन् । ‘समाजवादी मोर्चामा रहँदा पार्टी कमजोर हुन्छ भन्ने होइन । मोर्चामा रहनु भनेको त्यसैमा विलय हुने भन्ने होइन । मोर्चामा रहँदैमा पार्टीको स्वतन्त्र अस्तित्व समाप्त हुने होइन । मोर्चामा रहेको वेलामा पनि पार्टीको आफ्नो स्वतन्त्र अस्तित्व रहिरहन्छ र पार्टीले आफ्ना कार्यक्रम र क्रियाकलाप स्वतन्त्र रूपमा सञ्चालन गरिरहन्छ । साझा कार्यक्रम मोर्चाबाट गरिन्छ भने पार्टीका आफ्ना कार्यक्रम स्वतन्त्र रूपमा चलिरहन्छन् । त्यसैले मोर्चामा रहँदैमा पार्टी कमजोर हुँदैन बरु पार्टीलाई बलियो बनाउन सहयोग नै पुग्दछ,’ नेपालले भनेका छन् । उनले आन्तरिक कमजोरीलाई इमानदारपूर्वक स्वीकार गरेर हटाउँदै अगाडि बढ्दा क्रान्तिकारी तथा प्रगतिशील शक्तिहरूको ध्रुवीकरणमा एकीकृत समाजवादीले नेतृत्व गर्न सक्ने दाबी पनि गरेका छन् ।

सत्तागठबन्धन कार्यगत एकता मात्रै
नेपालले सत्तागठबन्धन दीर्घकालीन नभई कार्यगत एकता मात्रै भएको बताएका छन् । सत्तागठबन्धन वर्तमान संसद्को संरचनाअनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको उनले स्पष्ट पारेका छन् । तात्कालिक राजनीतिक परिस्थिति बदलियो भने तात्कालिक राजनीतिक गठबन्धन वा कार्यगत एकता पनि बदलिन सक्ने नेपालले बताएका छन् । यद्यपि, तत्काल वर्तमान राजनीतिक परिस्थिति र गठबन्धन बदलिने र एकीकृत समाजवादी गठबन्धनबाट बाहिर निस्कने अवस्था नभएको पनि नेपालले बताएका छन् । 

‘सत्तागठबन्धन वर्तमान संसद्को संरचनाअनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको गठबन्धन हो । यो दीर्घकालीन होइन, तात्कालिक राजनीतिक कार्यगत एकता मात्र हो । त्यसैले तात्कालिक राजनीतिक परिस्थिति बदलियो भने यस्तो तात्कालिक राजनीतिक गठबन्धन वा कार्यगत एकता पनि बदलिन सक्छ । तर, अहिले तत्काल वर्तमान राजनीतिक परिस्थिति र गठबन्धन बदलिने र हामी गठबन्धनबाट बाहिर निस्कने अवस्था छैन,’ नेपालले भनेका छन् ।

जबजको सान्दर्भिकता बाँकी नै छ
जनताको बहुदलीय जनवाद (जबज)को सान्दर्भिकता अझै बाँकी रहेको नेपालले औँल्याएका छन् । यद्यपि, जबज समाजवादी क्रान्तिको मार्गदर्शक सिद्धान्त नभई मार्क्सवाद–लेनिनवाद भएको उनले स्पष्ट पारेका छन् । ‘जबजले केवल राज्यसत्ताको मात्र होइन, कम्युनिस्ट आन्दोलन र पार्टीको लोकतान्त्रीकरणको मान्यता पनि राखेको छ । साथैै, प्रतिस्पर्धा र पहलकदमीद्वारा श्रेष्ठता एवं अगुवाइ हासिल गर्ने मान्यता पनि जबजले राखेको छ । यी सन्दर्भमा जबजको सान्दर्भिकता छ । तथापि जबज समाजवादी क्रान्तिको मार्गदर्शक सिद्धान्त भने होइन । समाजवादी क्रान्तिको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हो । यसमा हाम्रो पार्टी प्रस्ट छ,’ उनले भनेका छन् । जबजमा सामन्तवादविरुद्ध अगाडि सारिएका राजनीतिक माग, नारा र मूल्य–मान्यता संविधानमा संस्थागत भएको, तर जबजले अगाडि सारेका आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका कार्यक्रम व्यवहारमा लागू भइनसकेको नेपालले बताएका छन् । 

माघमा महाधिवेशन 
नेपालले माघमा महाधिवेशन गर्ने कार्ययोजना बैठकमा प्रस्तुत गरेका छन् । संगठनात्मक, विचारधारात्मक, प्रचारात्मक, आर्थिक, सांस्कृतिक सबै काम महाधिवेशन केन्द्रित हुने उनले बताएका छन् । ‘पार्टी कामलाई व्यवस्थित ढंगले सञ्चालन गर्नका निम्ति स्पष्ट कार्ययोजनाको खाँचो पर्दछ । कार्ययोजना पार्टीले तत्काल गर्ने कामहरूको खाका हो । कार्ययोजनामा जहिले पनि संगठनात्मक, विचारधारात्मक र प्रचारात्मक काम मुख्य रूपमा रहने गर्दछन् । हामी अबको करिब पाँच महिनापछि पार्टी महाधिवेशन गर्न गइरहेका छौँ । त्यसैले उक्त अवधिका लागि हाम्रो कार्ययोजना महाधिवेशन केन्द्रित हुनेछ । संगठनात्मक, विचारधारात्मक, प्रचारात्मक, आर्थिक, सांस्कृतिक सबै काम महाधिवेशन केन्द्रित हुनेछन्,’ उनले प्रतिवेदनमा भनेका छन् ।

संगठित सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गरी १० मंसिरसम्म प्रमाणीकरणका लागि केन्द्रीय संगठन विभागमा पठाउन नेपालले निर्देशन दिएका छन् । महाधिवेशनको प्रक्रियामा सहभागी हुन कात्तिक मसान्तभित्र नवीकरण र वितरण भई १० मंसिरभित्र प्रमाणीकरणका लागि केन्द्रीय संगठन विभागमा पठाइएका सदस्यहरूले मात्र पाउनेछन् । 

महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजको मस्यौदा भदौ र असोजमा तयार पारेर कात्तिक र मंसिरमा पार्टीव्यापी रूपमा छलफल चलाउने प्रस्ताव नेपालको छ । प्रतिक्षण पनि महाधिवेशन केन्द्रित हुनेछन् । दुई वर्षअघि एमालेबाट विद्रोह गरेर स्थापना भएको एकीकृत समाजवादीका अध्यक्ष नेपालले पार्टीको १०औँ महाधिवेशन भनेका छन् । पार्टी पुनर्गठन अभियान भएकाले १०औँ महाधिवेशन भनिएको नेताहरूले बताएका छन् ।

‘खुला र खुलस्त भएर बैठकमा विचार मन्थन गरौँ र नेपाली विशेषताको समाजवादी क्रान्ति र निर्माणका लागि दृष्टिकोण, सिद्धान्त र विचारको सवालमा एकरूपता कायम गरी पार्टीलाई सैद्धान्तिक तथा वैचारिक जगमा एकताबद्ध गरौँ । पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न गरौँ,’ नेपालले भनेका छन् ।