१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
कमल खत्री म्याग्दी
Invalid date format १२:५५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले बस्तीकै उठीवास, सुवाका दुई दर्जन घर जोखिममा

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
Invalid date format १२:५५:oo

बेनी–जोमसोम सडकखण्डदेखि नै बग्न थालेको पहिरोले म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ सुवा गाउँकै उठीवास लगाएको छ। साउन ३२ गते रातिको अविरल वर्षाले गाउँको शिर र पुछारको कालीगण्डकी नदी तीरको खामभित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि सुवा गाउँमा पहिरोले स्थानीयवासीको उठीवास लगाएको हो।

गाउँको पुछारबाट बग्न थालेको पहिरोले विकराल रूप लिएर गाउँ हुँदै बस्तीमाथिसम्म पुगेपछि सुवा गाउँ नै पहिरोको जोखिममा परेको छ। पहिरोको कारण १० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ। कालीगण्डकीको तीरबाट सुरु भएको पहिरो गाउँघर फिँजिएकले ठूलो जोखिम बढाएको अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवा तिलिजा पुनले जानकारी दिइन्।

पहिरोको जोखिममा रहेका घरका नागरिकलाई सुरक्षित स्थानमा सारिएको र रातमा कसैलाई पनि जोखिम मोलेर नबस्न आग्रह गरिएको उनको भनाइ छ। गाउँपालिकाले जिल्ला विपत् व्यवस्थापन समितिसँग समन्वय गरेर पहिरोको उच्च जोखिममा रहेका १० घरधुरीका ४० जनालाई सुरक्षित स्थानमा सारेको गाउँपालिकाले जनाएको छ।

अहिले सुवामा सुकेबगर र द्वारीखोलाबाट गाउँ जोड्ने पदमार्गको अधिकांश भाग पहिरोले बगाएको छ। पहिरोले सुवा गाउँमा एक घर पूर्ण रूपमा क्षति भएको छ। स्थानीय सतवीर पाइजाको घरमाथिबाट आएको पहिरोले घरमा पूर्ण रूपमा क्षति पुर्‍याएको वडाध्यक्ष रमेश पुर्जाले जानकारी दिए। उनका अनुसार पहिरोले करिब दुई दर्जन घर जोखिममा परेका छन्। दाना प्रहरी चौकी, वडा कार्यालय र गाउँपालिकाले पहिरोको जोखिमयुक्त ठाउँको स्थलगत निरीक्षण गरेर आवश्यक सतर्कता अपनाएका छन्।

दानाको सुवासँगै पुलिबाङ, फगाम, कमेरेडाँडा, तितरलगायतका ठाउँमा समेत पहिरोको जोखिम बढेको छ। विभिन्न ठाउँमा पहिरोको जोखिममा परेका स्थानीयवासीलाई गाउँपालिकाले त्रिपाल, टेन्ट, खानेपानीको पाइपलगायतका अत्यावश्यक सामग्रीसमेत वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए।

यसैबीच, सुवा गाउँको पहिरोको जोखिमको अवस्थाबारे गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारी, गाउँपालिकाकी उपाध्यक्ष पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडाध्यक्ष रमेश पुर्जा, सामाजिक विकास समितिका संयोजक ओमप्रसाद फगामीलगायतको टोलीले स्थलगत निरीक्षण गरेकाे छ।