१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
केदारनाथ शर्मा, अध्यक्ष शिव शिखर सहकारी
Invalid date format o८:५३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

शिव शिखरका सञ्चालकविरुद्ध काठमाडौंमा दुई अर्बको मुद्दा दायर हुने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:५३:oo

१९ जनालाई मुद्दा चलाउनुपर्ने निष्कर्षसहित प्रहरीद्वारा अनुसन्धान पूरा गरी सरकारी वकिलमा प्रतिवेदन पेस 

शिव शिखर सहकारीको संगठित ठगीसम्बन्धी घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान पूरा गरी सोमबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा प्रतिवेदन पेस गरेको छ । १९ जनाविरुद्ध करिब दुई अर्ब बिगो दाबी गरी मुद्दा दायर गर्नुपर्ने सिआइबीको निष्कर्ष छ । 

हालसम्मकै ठूलो सहकारी ठगी प्रकरणमा सिआइबीले काठमाडौंका शाखामा भएको कारोबारका जाहेरी लिई अभियोजन प्रक्रिया अघि बढाएको छ । काठमाडौंका सेयर सदस्यहरूले ८५ करोड रुपैयाँबराबरको रकम ठगी भएको भन्दै जाहेरी दिएका थिए । काठमाडौंका शाखामा दुई अर्ब बचत देखिएकाले सम्पूर्ण बचतलाई बिगो कायम गरी मुद्दा चलाउनुपर्ने सिआइबीको राय छ । 

सिआइबीले संगठित अपराध र ठगी मुद्दामा यस प्रकरणको अनुसन्धान गरेको हो । अनुसन्धान पूरा गरी सोमबार प्रतिवेदन बुझाइएको सिआइबीका एसपी नवराज अधिकारीले बताए । १९ जना प्रतिवादीमध्ये नाइके केदारनाथ शर्मासहित सातजना थुनामा छन् भने १२ जना फरार छन् । बाँकेका शर्माले सहकारीका पैसा आफ्ना निजी कम्पनीमा लगानी गरी सहकारी संस्था डुबाएका हुन् । शर्मालाई सिआइबीले गत १२ असारमा भारतको मुम्बईबाट पक्राउ गरी नेपाल ल्याएको थियो । 

शर्माका विभिन्न कम्पनीको नाममा सम्पत्ति रहेको र त्यसलाई रोक्का राखेको सिआइबीले जनाएको छ । उपत्यकाका शाखाको हकमा सिआइबी र उपत्यकाबाहिरको सम्बन्धित जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ । यसअघि उनीहरूविरुद्ध भक्तपुर जिल्ला अदालतमा भने मुद्दा पनि दायर भइसकेको छ । जसमा शर्माकी श्रीमती गीता शर्मा तथा सञ्चालकद्वय अमिश राजभण्डारी र पुष्कर मल्ल पक्राउ परेकोमा उनीहरूलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । काठमाडौंमा पनि उनीहरूलाई प्रतिवादी बनाउन लागिएको छ । 

०७० मा स्थापना भएको सहकारीले अन्य सहकारीभन्दा धेरै ब्याज दिएर निक्षेप संकलन सुरु गरेको थियो । पैसा संकलनसँगै कृषिसम्बन्धी व्यवसायमा लगानी गर्दै गयो । देशभरि शाखा पनि विस्तार गर्दै गयो । मार्टदेखि जग्गा कारोबारसम्म लगानी गरेको पाइएको छ । शिखरदीप सहकारीलाई समेत मर्ज गरेपछि संस्था अझै ठूलो भयो । जब कोभिड महामारी सुरु भयो, त्यसपछि सहकारीमा समस्या आउन सुरु भएको हो । लगानी गरेको ठाउँबाट ब्याज त आएन नै, साँबा पनि फिर्ता भएन ।

सहकारीमा एकैपटक पैसा निकाल्ने बढ्न थाले । फिर्ता दिने पैसा नभएपछि सहकारीमै ताला लागेको हो । पूर्वअध्यक्ष शर्मा भारत भागेका थिए । उपत्यकाको हकमा सिआइबीले अनुसन्धान गरेकोमा अन्य जिल्लामा सम्बन्धित जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ । सो सहकारीले ३६ वटा शाखा कार्यालयबाट करिब १४ अर्ब रुपैयाँ ठगी गरेको सिआइबीको निष्कर्ष छ ।