Skip This
अंगदानमा महिला उदार : मिर्गौला फेर्ने ७९% पुरुष, दिने ७१% महिला
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २ शनिबार
  • Saturday, 27 July, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८o भदौ २ शनिबार o६:२७:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अंगदानमा महिला उदार : मिर्गौला फेर्ने ७९% पुरुष, दिने ७१% महिला

Read Time : > 5 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ २ शनिबार o६:२७:oo

- १९ हजारले कुरिरहेका छन् मिर्गौला प्रत्यारोपण 
- हरेक वर्ष तीन हजारको मिर्गौला र एक हजारको कलेजो फेल
कुन सरकारी अस्पतालमा कति मिर्गौला प्रत्यारोपण ?

- मानव अंग प्रत्यारोपण केन्द्र : १०९७ जना
- त्रिवि शिक्षण अस्पताल : ८०० जना
- पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा : ८ जना
- कलेज अफ मेडिकल साइन्सेस, चितवन : ४  जना
- कर्णाली प्रादेशिक अस्पताल, सुर्खेत : २ जना

आफन्तको जीवन जोगाउन गरिने अंगदानमा पुरुषको तुलनामा महिलाले उच्च योगदान गर्ने गरेका छन् । नेपालमा सबैभन्दा बढी प्रत्यारोपण हुने अंग मिर्गौलाको हकमा १५ वर्षयताको सरकारी तथ्यांक हेर्दा प्रत्यारोपण गर्नेमध्ये ७९ प्रतिशत पुरुष छन् भने दान दिने ७१ प्रतिशत महिला छन् । 

देशभर पाँचवटा सरकारी स्वास्थ्य संस्थामा मात्रै मिर्गौला प्रत्यारोपण हुने गरेको छ । भक्तपुरको मानव अंग प्रत्यारोपण (सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र), महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) र सुर्खेतको कर्णाली प्रादेशिक अस्पतालमा प्रत्यारोपण सेवा छ ।

यी अस्पतालमा कुल एक हजार नौ सय ११ जनाले मिर्गौला फेरेकोमा एक हजार पाँच सय नौ पुरुष (७९%) र चार सय दुई महिला (२१%) छन् । तर, मिर्गौला दान दिने भने कुल एक हजार नौ सय ६ जनामा पुरुष जम्मा पाँच सय ५४ (२९%) र महिला एक हजार तीन सय ५२ (७१%) छन् । पाँचजनामा भने ब्रेनडेथ भएका व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको छ ।

देशभर हुने कुल प्रत्यारोपणको ९० प्रतिशत यिनै पाँच अस्पतालमा हुने गर्छ । बाँकी १० प्रतिशतको प्रत्यारोपण निजी स्वास्थ्य संस्थामा वा विदेश गएर हुने गरेको छ ।

सरकारी पाँच अस्पतालमध्ये पनि हालसम्म सबैभन्दा धेरै प्रत्यारोपण भएको मानव अंग प्रत्यारोपणमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ यो तथ्यांक कुनै संयोग मात्र नभएको बताउँछन् । वर्षौँ सेवा दिने क्रममा विभिन्न अनुभव सँगालेका उनले महिलालाई अंग दिन पुरुषले अनिच्छा गर्ने, तर महिलाले भने अंगदानमा अग्रसरता देखाउने गरेको बताए । ‘श्रीमतीले मिलेसम्म आफ्नै अंग श्रीमान्लाई दिन्छिन्, मिलेन भने माइती पक्षबाट भए पनि अंगदान गर्न माग गर्छिन्, छोरीले पनि बुबाआमालाई सहजै अंगदान दिन्छिन्,’ उनले भने, ‘तर, श्रीमान्ले श्रीमतीलाई अंग दिन मान्दैनन्, कमाइ गरेर खानुपर्छ भन्नेजस्ता बहाना बनाएर पन्छिन्छन् ।’

मानव अंग प्रत्यारोपण केन्द्रले सेवा सुरु गरेयता १० वर्षमा (०६९/७० असारदेखि ०७९/८० साउनसम्म) एक हजार ९७ व्यक्तिको मिर्गौला प्रत्यारोपण गरेको छ, जसमा आठ सय ६३ पुरुष (७९%) र २३४ महिला (२१%) छन् । यहाँ मिर्गौला दान दिनेमा भने एक हजार ९२ मध्ये पुरुष तीन सय एक (२८%) र महिला सात सय ७९१ (७२%) छन् । केन्द्रले वार्षिक दुई सयको मिर्गौला प्रत्यारोपण गर्दै आइरहेको छ ।

मिर्गौला प्रत्यारोपण धेरै हुने त्रिवि शिक्षण अस्पताल (टिचिङ)को पनि ट्रेन्ड उस्तै छ । १५ वर्षयता टिचिङमा आठ सयजनामा मिर्गौला प्रत्यारोपण भएकामा ६ सय ३५ पुरुष (७९%) र एक सय ६५ महिला (२१ प्रतिशत) प्रतिशत छन् । जब कि यहाँ पनि दान गर्ने भने महिला पाँच सय ५६ (७०%) र पुरुष दुई सय ४४ (३०%) छन् । टिचिङमा महिनामा कम्तीमा दुई व्यक्तिको मिर्गौला प्रत्यारोपण हुने गरेको अस्पताल निर्देशक डा. निदेश काफ्लेले बताए ।

यसबाहेक स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा हालसम्म आठजनामा प्रत्यारोपण भएकोमा पाँच पुरुष (६२%) र तीन महिला (३८%) छन् । यहाँ भने दिने पनि पाँच पुरुष र महिला तीनजना नै छन् । चितवनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)मा पनि हालसम्म चारजानमा प्रत्यारोपण भएकामा पनि लिने र दिने चारै पुरुष (शतप्रतिशत) पुरुष छन् । त्यस्तै, कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा दुईजनाको प्रत्यारोपण भएकोमा दिने दुवै महिला (शतप्रतिशत) र लिने दुवै पुरुष (शतप्रतिशत) छन् । 

परम्परागत मानसिकता, अप्रेसनले शरीर बिग्रिने डर, घरमा पुरुषले नै कमाउनुपर्ने भन्दै अंग दिँदा परिवारमा आर्थिक समस्या पर्नेजस्ता कारण देखाएर पुरुष अंगदानबाट पन्छिने गरेको डा. श्रेष्ठको अनुभव छ । तर, यस्तो सोच गलत भएको पनि उनी बताउँछन् । ‘अंगदान दिँदैमा आयु घट्दैन, बरु स्वास्थ्य झन् राम्रो हुन्छ । अंगदान गर्ने व्यक्तिले हरेक वर्ष स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्यप्रति बढी चासो दिने, खानपानमा ध्यान दिने भएकाले स्वस्थ जीवन बाँच्न झन् सघाउने चिकित्सा विज्ञानले नै प्रमाणित गरेको छ,’ उनले भने, ‘तर, अंग दिँदा पनि महिला र पुरुष भनेर विभेद भइरहेको छ, यसको अन्त्य हुनुपर्छ । अन्य देशमा यस्तो विभेद छैन ।’

डा. श्रेष्ठले नेपालमा भएका अंग प्रत्यारोपणमध्ये ९९ प्रतिशत सफल हुने गरेको बताए । विशेषज्ञ र विदेशकै गुणस्तरको उपचार विधि भएकाले स्वदेशमै प्रत्यारोपण सफल भए पनि भौतिक संरचना सुधारको खाँचो रहेको उनको भनाइ छ । 

हरेक वर्ष तीन हजारको मिर्गौला र एक हजारको कलेजो फेल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हरेक वर्ष तीन हजारको मिर्गौला र एक हजारको कलेजो फेल हुने गरेको छ । कलेजो फेल भएकामध्ये दुई–तीन सयको मात्रै प्रत्यारोपण आवश्यक हुने चिकित्सकहरू बताउँछन् । 

मिर्गौला तथा अंग प्रत्यारोपणसम्बन्धी विशेषज्ञ डा. सञ्जय यादव नेपालबाट कलेजो प्रत्यारोपणका लागि वार्षिक ५० जनासम्म भारत जाने गरेको बताउँछन् । नेपालमा कलेजो प्रत्यारोपणका लागि १५ लाख लाग्नेमा विदेश जाँदा ५० लाखदेखि एक करोडसम्म खर्च हुने उनले बताए । 

कलेजोमा अत्यधिक बोसो जम्नु, पित्तको नलीसम्बन्धी रोग लाग्नु, पित्त तथा कलेजोमा क्यान्सर हुनु कलेजो बिग्रिनुका मुख्य कारण हुन् । अत्यधिक मदिरा सेवनले कलेजो बिग्रिने दर उच्च हुने चिकित्सकहरू बताउँछन् । 

१९ हजारले कुरिरहेका छन् मिर्गौला प्रत्यारोपण 
हाल नेपालमा कलेजो तथा अंग प्रत्यारोपणका लागि विदेशी चिकित्सकसमेत ल्याउने गरिएको छ । नेपालका चिकित्सकलाई यसबारे अनुभव कम भएकाले पहिलो चरणमा विदेशी चिकित्सकलाई ल्याएर भए पनि प्रत्यारोपण सुविधा दिने गरिएको हो । हाल नेपालका सरकारी अस्पतालमा १९ हजारभन्दा धेरै बिरामीले मिर्गौला प्रत्यारोपणका लागि पालो कुरिरहेका छन् । डायलाइसिसको भरमा बाँचिरहेका बिरामीले यो सेवा पनि आवश्यकताअनुसार पाएका छैनन् । 

अंगदानप्रति जनमानसमा सकारात्मक धारणा विकास नभएकाले पनि समस्या भइरहेको डा. श्रेष्ठको बुझाइ छ । ‘मिर्गौला र कलेजोमा भारत, अमेरिका, युरोपलगायतमा जसरी प्रत्यारोपण हुन्छ हामीले पनि त्यसरी नै गर्दै आइरहेका छौँ,’ उनले भने, ‘स्वस्थ र मृत व्यक्तिबाट अंगदान दिन–लिन सकिन्छ । एक मृत व्यक्तिको अंगदानबाट आठ बिरामीको ज्यान बाँच्ने भएकाले अंगदानबारे जनचेतना फैलाउन आवश्यक छ ।’ 

कलेजो दिने पनि महिला नै बढी
मिर्गौला मात्रै होइन अन्य अंगदानमा पनि महिला नै अग्रसर छन्, पुरुष पन्छिने गरेका छन् । मानव अंग प्रत्यारोपण केन्द्रमा हालसम्म ११ जनाले कलेजो दान गरेकामा सात महिला, एक पुरुष र मस्तिष्कघात भएर मृत्यु भएकाहरू तीनजना छन् । जब कि लिनेमा भने महिला एकजना मात्रै र पुरुष १० जना छन् । त्रिवि शिक्षा अस्पतालमा हालसम्म १० जनाले कलेजो प्रत्यारोपण गराएका छन् । सबै पुरुष नै छन् । जसमा दान दिने भने महिला सातजना र पुरुष तीनजना छन् । विश्वभर नै सबैभन्दा जटिल अंग प्रत्यारोपण मानिएको कलेजो प्रत्यारोपण नेपालमा पहिलोपटक २३ मंसिर ०७३ मा गरिएको थियो । मानव अंग प्रत्यारोपण केन्द्रमा बलराम नागको आठ घन्टा लगाएर सफल प्रत्यारोपण भएको थियो । त्यसपछि १८ जेठ ०७६ देखि टिचिङ अस्पतालले पनि कलेजो प्रत्यारोपण थाल्यो । 

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले कलेजो प्रत्यारोपण अन्य सरकारी अस्पतालमा पनि विस्तार गर्ने तयारीमा रहेको बताए । प्रदेशस्तरका अस्पतालमा पनि अंग प्रत्यारोपण सुविधा लैजाने र केन्द्रको भिडलाई कम गर्ने उनको योजना छ । ‘अहिले नेपालबाट कलेजो तथा अंग प्रत्यारोपण गर्न विदेश जानेको संख्या पनि ठूलो छ, कलेजो प्रत्यारोपण झन् कठिन भएको छ, यसलाई सरकारले सहज बनाउँछ,’ उनले भने, ‘वीरलगायत अन्य अस्पतालमा पनि यो सेवा सुरु हुन्छ, अन्य ठाउँको बजेट तानेर भए पनि यसमा लगानी गर्छौँ ।’

कलेजो प्रत्यारोपणका बिरामीले पाउँदैनन् सरकारको सहयोग
सरकारले अन्य अंग प्रत्यारोपण र कलेजो प्रत्यारोणका बिरामीलाई दिने सहुलियतमा  विभेद गरेको छ । अन्य प्रत्यारोपणमा सहुलियत दिने भए पनि कलेजोमा नदिँदा बिरामी मारमा परेका छन् । भारत गएर कलेजो प्रत्यारोपण गरेकी दीक्षा डंगोलले झन्डै एक करोड खर्च भएको सुनाइन् । ‘नेपालमा कोही सर्वसाधारणले जटिल किसिमको रोग लाग्यो भने निकै दुःख पाउँछ, अझ कलेजो प्रत्यारोपणमा सरकारले सहयोगसमेत गर्दैन, अर्को कुरा यो सीमित अस्पतालमा मात्रै हुँदो रहेछ,’ उनले समस्या सुनाइन्, ‘मैले भारतमा गएर कलेजो प्रत्यारोपण गराउँदा झन्डै एक करोड खर्च भएको थियो ।’ 

हाल सरकारले मिर्गौला, क्यान्सर, हेपाटाइटिस बी, एचआइभी एड्सजस्ता जटिल रोगका बिरामीको उपचारमा सहुलियत र अनुदान दिँदै आएको छ । तर, कलेजोका बिरामी भने यो सेवाबाट वञ्चित छन् । सरकारले मिर्गौलालगायत घातक रोगका बिरामीलाई वार्षिक एक लाखदेखि दुई लाख ५० हजारसम्म उपचार खर्च दिँदै आएको छ । मिर्गौला प्रत्यारोपणका लागि थप पाँच लाख दिने गरेको छ । मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ भन्छन्, ‘कलेजो फेल भएका बिरामीले उपचारमा ठूलो खर्च गर्नुपर्छ, गरिबलाई यस्तो रोग लाग्यो भने मर्नुको विकल्प नहुने अवस्था छ, तर सरकार यसमा अनुदान शुल्क दिँदैन ।’ 

कमाइ गरेर खानुपर्छ भन्नेजस्ता बहाना बनाएर पुरुष श्रीमतीलाई समेत अंग दिन मान्दैनन् : डा. पुकारचन्द्र श्रेष्ठ, कार्यकारी निर्देशक, मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर
श्रीमतीले मिलेसम्म आफ्नै अंग श्रीमान्लाई दिन्छिन्, मिलेन भने माइती पक्षबाट भए पनि अंगदान गर्न माग गर्छिन्, छोरीले पनि बुबाआमालाई सहजै अंगदान दिन्छिन् ।

तर, श्रीमान्ले श्रीमतीलाई अंग दिन मान्दैनन्, कमाइ गरेर खानुपर्छ भन्नेजस्ता बहाना बनाएर पन्छिन्छन् । अंगदान दिँदैमा आयु घट्दैन, बरु स्वास्थ्य झन् राम्रो हुन्छ ।

अंगदान गर्ने व्यक्तिले हरेक वर्ष स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्यप्रति बढी चासो दिने, खानपानमा ध्यान दिने भएकाले स्वस्थ जीवन बाँच्न झन् सघाउने चिकित्सा विज्ञानले नै प्रमाणित गरेको छ । तर, अंग दिँदा पनि महिला र पुरुष भनेर विभेद भइरहेको छ, यसको अन्त्य हुनुपर्छ । अन्य देशमा यस्तो विभेद छैन ।

महिलाको उदार भावनाले आफन्तभित्रका कैयौँको ज्यान बचेको छ : पवनराज चालिसे, विभागीय प्रमुख, युरोलोजी तथा मिर्गौला प्रत्यारोपण सर्जरी विभाग, त्रिवि शिक्षण अस्पताल 
अंग बिग्रिएकाहरूलाई सबैभन्दा बढी महिलाहरूले अंगदान गरेका छन् । उनीहरूमा भएको उदार भावनाले आफन्तभित्रका कैयौँको ज्यान बचेको छ । महिलाले नै अंग दिनुपर्छ भन्ने मान्यता हाम्रो समाजको रिफ्लेक्सन नै हो, यसलाई अन्त्य गर्न जरुरी छ ।

यसबारे पर्याप्त जनचेतना प्रवाह गर्न सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षामा लगानी गर्नुपर्छ । अर्को, राजनीतिक प्रतिबद्धता भयो भने पनि जटिल रोगका बिरामीले केही सहजता महसुस गर्न सक्छन् ।

नेपालमा मिर्गौला, कलेजोलगायत अंगदानबारे बनेको कानुनले नातामा मात्रै दिन सकिने भनेको छ । यसबाहेक मस्तिष्कघातपछि मृत्यु भएकाको अंग लिएर जीवित व्यक्तिमा प्रत्यारोषण गर्न सकिने कानुनी प्रावधान बनिसकेको छ ।

तर, यसको कार्यान्वयनमा सरकारी निकायले चासो दिएको देखिँदैन । मस्तिष्कघातबाट मृत्यु भएकाको अंग निकाल्न कतिपय ठाउँमा प्रहरी पनि बाधक बनेको पाइन्छ । मस्तिष्कघातबाट मृत्यु भएका व्यक्तिबाट अंग लिनेबारे सरकारी निकाय नै जिम्मेवार हुनुपर्छ र सोहीअनुसारको मेडिकल संरचना तयार पार्नुपर्छ ।