१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १७:५५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विनोद शाही हत्या प्रकरण : मुख्य अभियुक्त धरौटीमा रिहा भएपछि प्रदर्शन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५५:oo

विनोद शाही हत्या प्रकरणका मुख्य अभियुक्त सज्जनबहादुर शाहीलाई अदालतले धरौटीमा रिहाइ गरेपछि मृतकका आफन्तले विरोध प्रदर्शन गरेका छन्।

मृतकका आफन्तले अछामको विनायक बजारस्थित मध्यपहाडी लोकमार्गमा टायर बालेर सडक बन्द गर्दै प्रदर्शन गरेका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका– ४ का १५ वर्षीय विनोद २०७९ जेठ २१ गते मृत अवस्थामा भेटिएका थिए।

घटनाका मुख्य अभियुक्त सज्जन यही साउन २२ गते काठमाडौंको धापासीबाट पक्राउ परेका थिए। पीडित परिवारले घटनाका मुख्य योजनाकारका रूपमा किटान गरेका शाही लामो समयपछि पक्राउ परे पनि अदालतले कमजोर स्वास्थ्य अवस्था र बृद्ध रहेकाले बाहिरबाटै अनुसन्धान गर्ने गरी धरौटीमा रिहा गरेपछि सोमबार मृतकका आफन्त प्रदर्शनमा उत्रिएका हुन्।

कक्षा १० मा अध्ययनरत विनोदको हत्यापछि किटानी जाहेरीमा परेका १३ जनामध्ये जिल्ला समन्वय समितिका उपप्रमुख दानमती शाहीसहित द्रोपती शाही, कर्ण शाही र शान्ति शाही अहिले पनि फरार रहेको प्रहरी निरीक्षक बिष्टले बताए।

अनुसन्धानका क्रममा भेटिएका प्रमाणको आधारमा जिल्ला अदालत अछामको ०७९ असार २४ गतेको इजलासले आरोपित देवेन्द्र शाही, महेन्द्र शाही, पृथ्वी शाही र वीरेन्द्र शाहीलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो।

किटानी जाहेरीमा परेका पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाही घटनामा संलग्न रहेको प्रमाण नभेटिएको भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा चलाएको थिएन। यो मुद्दा अछाम जिल्ला अदालतमा अहिले पनि विचाराधीन अवस्थामा छ।

यस्तो थियो विनोद हत्या प्रकरण
०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचनको मतदानका वेला कुच्ची स्वास्थ्य चौकी मतदान केन्द्रमा एमाले, एकीकृत समाजवादी र कांग्रेसका बीच ‘फेकभोट’का विषयमा झडप भएको थियो। कांग्रेसकी दुर्गाकुमारी शाहीले धेरैपटक अन्य व्यक्तिका नाममा मतदान गरेको एमाले, समाजवादीको आरोप छ भने एमाले, समाजवादीले मतदानमा अवरोध गरेको कांग्रेसको आरोप छ।

सोही विषयलाई लिएर १६ गते कुच्चीको एक चिया पसलमा दुई पक्षका युवाहरूबीच विवाद भएको थियो। सोही क्रममा महेन्द्र शाही, देवेन्द्र शाही र गंगाबहादुर शाहीको दुई समूहबीच झडप भयो। दुवै पक्षका केही युवा घाइते भए।

झडपमा संलग्नलाई पक्राउ गर्न १७ गते गाउँमा प्रहरी पुग्दा अधिकांश युवाहरू भागिसकेका थिए। केहीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसँग स्थानीयको हात हालाहालसमेत भएको थियो। प्रहरी पुग्दा भागेका सबै युवाहरू १९ गते सम्पर्कमा आए। तर, कुच्चीको रिठारुख टोलका बलबहादुर शाहीका १५ वर्षीय छोरा विनोद शाही सम्पर्कमा आएनन्। २१ गते बिहान गाउँनजिकैको भिरमा उनी मृत अवस्थामा भेटिए। टाउको फुटेको, घाँटी रेटिएको र दुवै खुट्टामा चोट लागेर आधा सडेको अवस्थामा शव भेटिएको थियो।

जेठ १७ गते राति नै स्थानीय रामबहादुर शाहीको घरभित्र विनोदको हत्या गरेर त्यसको तिनदिनसम्म उक्त घरमा ताला लगाई बन्द राखिएको पीडित परिवारको आरोप छ। घरको चाबी हराएको बहाना गरेर उनीहरूले घरभित्र शव लुकाएको र तेस्रो दिनको राति शव लगेर भिरमा खसालेपछि मात्रै ढोका खोलेको मृतकका बुबा बलबहादुर शाहीको भनाइ छ।