१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १२:२५:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पूर्वाग्रही बनेको भन्दै प्रहरी कार्यालय घेराउ, धर्ना र नाराबाजी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:२५:oo

सिराहाको दक्षिणी सीमावर्ती नवराजपुर गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय बासिन्दाले प्रहरी पूर्वाग्रही बनेको आरोप लगाउँदै पछिल्लो दुई दिनदेखि इलाका प्रहरी कार्यालय महेशपुरपतार घेराउसहित नाराबाजी गरिरहेका छन्।

प्रहरी कार्यालयको मुख्य गेटमा जनप्रतिनिधिसहितका स्थानीय बासिन्दाले भूमाफियालाई कारबाही गर, कर्मचारीलाई हातपात गर्नेलाई कारबाही गर, झुटाे मुद्दा खारेज गरलगायतका नारासहित धर्ना र प्रदर्शन गरिरहेका छन्। 

गाउँपालिकाको १ देखि ५ नं. वडा क्षेत्रमा पर्ने नेपाल सरकारको स्वामित्वमा रहेको ७१ वटा सार्वजनिक पोखरी ठेक्का लगाउन टेन्डर बुझाउने अन्तिम दिन गत १५ साउनमा गाउँपालिकामा तोडफोडसहित कर्मचारीमाथि हातपात र दुर्व्यवहार, गाउँपालिका कार्यालय परिसरमा रहेका लाखौँ मूल्यका विद्युतका सामग्री लुटपाटमा संलग्न व्यक्तिविरुद्ध दिइएको किटानी जाहेरी प्रहरीले दर्ता गर्न नमानेको, उल्टै कर्मचारीसहित तीनजनाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेपछि पूर्वाग्रही प्रहरीविरुद्ध उत्रिनुपरेको नवराजपुर– २ का वडाध्यक्ष सुरेशकुमार यादवले आरोप लगाए।

गाउँपालिकामा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत नरहेको मौका छोपेर गाउँपालिका कार्यालयमा तोडफोड गर्नुका साथै कार्यालय परिसरमा रहेको अर्थिङ रड, इन्सुलेटर पिन, नटबोल्टलगायत करिब १५ लाख मूल्यका विद्युतका सामग्री लुटपाट गर्ने नवराजपुर– ३ फूलबरियाका शिवराम यादव र सिराहा नगरपालिकाका नवीन यादवविरुद्ध गाउँपालिका तोडफोड र सरकारी सामान लुटपाटसम्बन्धी जाहेरी दिए पनि प्रहरीले नलिएको वडाध्यक्ष यादवले गुनासो गरे।

‘प्रहरीले कर्मचारी सञ्जीव यादवसहित मुकेश यादव र रामदयाल यादवविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा तत्काल दर्ता गर्‍याे,’ नवराजपुर– ३ का वडाध्यक्ष वंशीलाल यादवले भने, ‘उक्त झुटाे मुद्दा खारेज हुनुपर्छ।’

लेटरप्याड, छापसहित किर्ते, प्रहरी मौन

गत १३ वैशाखमा स्थानीय खुसीलाल यादव वडा कार्यालयको लेटरप्याड, छाप, हस्ताक्षरहसहित किर्ते गरी साबिक मझौरा गाविस– ९ को कित्ता नं. १४९ को रामजानकी मन्दिरको तीन कट्ठा दुई धुर जग्गाको स्रेस्ता फिल्डबुक प्रमाणित प्रतिलिपि उपलब्ध गराउन लहानस्थित नापी कार्यालय पुगेको नवराजपुर– २ का वडाध्यक्ष यादवले सुनाए। 

‘नापी कर्मचारीले मलाई फोन गरेपछि खुसीलाल त्यहाँबाट भागेछन्,’ उनले भने, ‘महेशपुरपतार प्रहरीले सरकारी छाप दस्तखत किर्ते उद्योगसम्बन्धी जाहरीसमेत लिन नमान्नु पूर्वाग्रही व्यवहार होइन ?’

गत १० जेठमा नवराजपुर– ३ मझौरा गाउँमा बाटो विस्तारको क्रममा अवरोध गर्नेहरूको निशानामा परेका स्थानीय बिल्टु मेचीसहित तीनजनाको हात भाँचिए पनि प्रहरीले जाहेरी लिनसमेत आलटाल गर्नु प्रहरीले पूर्वाग्रही व्यवहार देखाएको नवराजपुर– ५ का वडाध्यक्ष जयप्रकाश यादवले बताए।

‘प्रहरीको पक्षपातपूर्ण व्यवहार सच्याई गाउँपालिकाले कानुनसम्मत ढंगले गरेको काममा अवरोध गर्नेहरूविरुद्ध कानुनी कारबाहीको प्रक्रिया अगाडि नबढाएसम्म चरणबद्ध आन्दोलन जारी रहनेछ,’ उनले भने।

इलाका प्रहरी कार्यालय महेशपुरपतारका प्रमुख प्रहरी निरीक्षक केशव कटुवालले गाउँपालिका अध्यक्षसँग कुराकानी गरी स्थानीय प्रहरीको कामकारबाहीप्रति चित्त नबुझे तालुकदार माथिल्लो निकायमा जाहेरी दिन सक्ने जानकारी दिएको बताए।

‘जिल्लामा पनि मुद्दा दर्ता हुन्छ नि,’ उनले भने, ‘तालुकदार निकायसँग समन्वय गरेर ज्यान मार्ने उद्योगसम्बन्धी जाहेरी दर्ता गरिएको हो, चित्त नबुझे जिल्लामा कुरा गर्दा हुन्छ।’ 

सार्वजनिक पोखरीमा बलमिच्याइँ

गाउँ कार्यपालिकाको १२ असोज ०७९ को निर्णयको आधारमा गाउँपालिकाले गत ९ माघमा साजर्वजनिक सूचना जारी गर्दै गाउँपालिका क्षेत्रमा पर्ने सार्वजनिक पोखरी ठेक्का लगाइने व्यहोरा  जानकारी गराउँदै पोखरीमा कसैको दाबी पुग्ने भएमा आवश्यक कागजातसहित गाउँपालिकाको प्रशासन शाखामा निवेदन दिन आग्रह गरिएको गाउँपालिका अध्यक्ष शिवउदगार यादवले बताए।

त्यसपछि मालपोत कार्यालय सिराहाले गत १९ वैशाखमा गाउँपालिका कार्यालयलाई सार्वजनिक पोखरी यकिनसम्बन्धी पत्र लेख्दै गाउँपालिकाको १ देखि ५ नं. वडा क्षेत्रमा पर्ने ८३ कित्ता पोखरीमध्ये मिन्हा, नेपाल सरकार, व्यक्तिको निजी स्वामित्व, रेकर्ड फेला नपरेको, इन्ट्री नभएको पोखरी खुलाएको अध्यक्ष यादवले उल्लेख गरे। 

मालपोतले गाउँपालिका क्षेत्रमा मिन्हा १९, व्यक्ति नौ, नेपाल सरकार ४७, इन्ट्री नभएको सात र रेकर्ड फेला नपरेको एक कित्ता गरी ८३ कित्ता यकिन गरेकोमध्ये गाउँपालिकाले ७१ कित्ता पोखरी आ.व. ०८२/८३ सम्म तीन वर्षका लागि ठेक्कामा दिन टेन्डर आह्वान गरेको उनले बताए।

‘गाउँपालिकाले कानुनबमोजिम पोखरीको दाबी विरोधसम्बन्धी निवेदन, टेन्डर नहाल्ने अनि जबर्जस्ती हकभोग गर्छु भन्दै गाउँपालिकामा तोडफोड गर्ने गुण्डा प्रवृत्ति र बलमिच्याइँ हो,’ उनले भने।  

ad
ad