१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
समाचार डिजिटल संस्करण

यसकारण पक्राउ परे कांग्रेस सांसद शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १८:४९:oo

मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित कांग्रेस सांसद सुनीलकुमार शर्मा अहिले प्रहरी हिरासतमा पुगेका छन्। 

शर्मालाई सिआइबीले आज दिउँसो तीन बजेट गोल्फुटारस्थित निवासबाट पक्राउ गरेको हो। 

उनीमाथि शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको कसुरमा प्रचलित कानुनअनुसार अनुसन्धान गर्नुपर्ने भएकोले पक्राउ गरिएको सिआइबी स्पष्ट पारेको छ। 

सांसद शर्मामाथिको आरोप र पक्राउ गर्नुपर्नाको कारणबारे सिआइबीले लिखित रूपमै सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ। 

सभामुखलाई बुझाइएको सिआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘...शैक्षिक प्रमाणपत्र प्रमाणीकरण सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरको चलानी नम्बर १ मिति २०७९-०४-०५ गतेको पत्रबाट १९९६ सालमा रोल कोड ६५०४, रोल नम्बर १०११७, आइएस्सी तहको सुनीलकुमार शर्माको कैफियतमा अपुष्टित (नट भेडिफाइड) भनी लेखी आएको र सो सन्दर्भमा उक्त शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको कसुरमा प्रचलित कानुनबमोजिम अनुसन्धान गर्नुपर्ने भएकोले उक्त कसुरमा संलग्न जिल्ला मोरङ, क्षेत्र नं. ३ मा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फका निर्वाचित सांसद सुनीलकुमार शर्मा पक्राउ परेको’ उल्लेख छ। 

सिआइबीले कतिपय चिकित्सकहरूले भारतीय नक्कली प्रमाणपत्रहरू पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकोले कानुनबमोजिम गरी पाऊँ भन्नेसमेतको व्यहोरोको मेडिकल काउन्सिल, बाँसबारीबाट सूचना प्राप्त भएकोले अनुसन्धान अगाडि बढाइएको स्पष्ट पारेको छ। 

सिआइबी स्रोतका अनुसार मेडिकल काउन्सिलमा दर्ता भएका केही चिकित्सकको शैक्षिक योग्यतामाथि पनि अनुसन्धान भइरहेको छ।

ad
ad