
दोलखाका नौवटै स्थानीय तहमा व्यापक रूपमा फैलिँदै गएको ‘लम्पी स्किन’ रोगका कारण ६ सय ९६ पशुचौपाया मरेका छन् भने १९ हजार ६ सय २२ पशुमा संक्रमण देखिएको छ।
उक्त रोगका कारण धेरैजसो गाई, गोरु, पाडा र बाछा धेरै प्रभावित भएका छन्। पछिल्लो समय भैँसीमा पनि संक्रमण हुन थालेको पशु स्वास्थ्य प्राविधिकहरू बताउँछन् । कालिञ्चोक गाउँपालिकाको पशु स्वास्थ्य शाखाकी प्रमुख संगीता बस्नेतका अनुसार लम्पी स्किन सुरुवातदेखि नै गाईगोरुमा संक्रमण देखिएको र पछिल्लो समय भैँसीमा समेत सर्दै गएको छ। कालिञ्चोकमा मात्रै २९ सय पशुहरूमा उक्त रोगको संक्रमण भएको छ भने एक सय दुईवटा पशु मरिसकेका छन् ।
शाखा प्रमुख बस्नेतका अनुसार लेकमा पालिएका चौँरीसमेत उक्त रोगका कारण मर्न थालेका छन् । जिल्लाको भीमेश्वर नगरपालिकामा पनि उक्त रोगको संक्रमण तीव्र रूपमा फैलिएको छ । नगरपालिका कार्यालयका अनुसार हालसम्म दुई हजार तीन सय ४९ पशुमा संक्रमण फैलिएको र ५६ वटाको मृत्यु भइसकेको छ।
त्यस्तै, गौरीशंकर गाउँपालिकामा संक्रमित पशुहरूको संख्या चार हजार दुई सय १६ पुगेको छ भने मर्ने पशुको संख्या ६९ रहेको गाउँपालिकाको पशु स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर पूर्वछानेले जानकारी दिए। उनका अनुसार उक्त गाउँपालिकामा पहिलेको भन्दा संक्रमितको संख्यामा निकै कमी आएको छ।
यता, शैलुङ गाउँपालिकामा संक्रमित पशुहरूको संख्या चार सय ८५ छ भने उक्त रोगका कारण मरेका पशुहरू ३८ पुगेका छन् । जिल्लाको वैतेश्वर गाउँपालिकामा संक्रमित पशु एक हजार पाँच सय ३८ छन् भने मर्नेको संख्या ६४ पुगेको छ। त्यस्तै, जिरी नगरपालिकामा एक हजार ६ सय ११ पशुमा संक्रमण देखिएको र ३० वटा मरिसकेको तथ्यांक छ । विगु गाउँपालिकामा तीन हजार चार सय ९७ पशु संक्रमित भएको तथा एक सय ९७ पशुचौपाया मरिसकेको विगुका निमित्त प्रशासकीय अधिकृत पूजन अधिकारीले जानकारी दिए । मेलुङ गाउँपालिकामा एक हजार दुई सय १० पशुमा संक्रमण भएको र ६१ पशु मरेको गाउँपालिकाले जनाएको छ।
गोरुमा संक्रमण देखिएपछि खेती गर्नै समस्या
दोलखाका अधिकांश स्थानीय तहमा लम्पी स्किनका कारण गोरु बिरामी हुँदा र मर्दा किसानको खेतीपातीमा नराम्रो असर परेको छ । कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन सिवाकोटीले मध्यअसार साउनमा गोरु संक्रमित हुँदा सयौँ रोपनी खेतीयोग्य जग्गा बाँझै बसेको बताए।
उनले विकट गाउँमा बारी जोत्ने ट्याक्टर पुगिनसकेको र गोरु बिरामी हुँदा खेतबारी बाँझो छाड्न किसान बाध्य भएको बताए। कालिञ्चोकमा मात्र नभई जिल्लाका अधिकांश स्थानीय तहमा यो समस्या छ। लम्पी स्किनको दीर्घकालीन समाधान नगरे बेलैमा खाद्य संकट सिर्जना हुने जिल्लास्थित सरोकारवालाहरू बताउँछन्।