Skip This
काजलको दर्दनाक पीडा– बोक्सी भनेर कुटे, रातभर श्मशानघाट राखे
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १८ बिहीबार
  • Tuesday, 23 July, 2024
रञ्जन भण्डारी महाेत्तरी
२o८o श्रावण १८ बिहीबार o७:३o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काजलको दर्दनाक पीडा– बोक्सी भनेर कुटे, रातभर श्मशानघाट राखे

Read Time : > 1 मिनेट
रञ्जन भण्डारी, महाेत्तरी
नयाँ पत्रिका
२o८o श्रावण १८ बिहीबार o७:३o:oo

मेरो माइती भारत उत्तरप्रदेशको बहराइच जिल्लास्थित प्रतापपुर गाउँमा हो । १० वर्षकी छँदा आमाबुबाको सडक दुर्घटनामा मृत्यु भयो । त्यसपछि आफन्तले स्थानीय अनाथालयको जिम्मामा छाडिदिए । केही समयपछि त्यहाँबाट निकालेर काठमाडौंस्थित माइती नेपालमा पुर्‍याएर छाडिदिए । माइती नेपालले मलाई हुर्काउँदै आत्मनिर्भर बन्न सीप पनि सिकायो । नेपाली पनि बोल्न सिकेँ । जनकपुरमा विवाह पञ्चमी मेला घुम्ने भनेर साथीसँगै आएका वेला विनोद (श्रीमान्)सँग भेट भयो । उनले हामीसँगै बस, नाचगान गर भनेर फकाए । अनि म पनि विनोदको नाच गर्ने समूहसँगै लागेँ । सोही क्रममा विनोदसँग प्रेम भएर बिहे गरेँ ।

त्यतिखेर मेरो उमेर १५ वर्षको थियो होला । विवाहपछि पनि विनोदले मलाई धेरै दिन आर्केस्ट्रामा नचाए । मेरो वास्तविक नाम यशोदा हो, विनोदले नै पछि काजल राखिदिएका हुन् । तर, उनको घरमा अर्की श्रीमती पनि रहिछिन् । पछि गाउँ लगेर उनले मेरा लागि ब्युुटीपार्लर खोलिदिए, माइती नेपालबाट सीप सिकेकै थिएँ । केही समयसम्म ठीकै चलेको थियो, तर क्रमशः यातना दिन थाले । कहिले बोक्सी भन्दै, कहिले काम बिगारेको भनेर दिनदिनैजसो कुटपिट गर्न थाले ।

कुटपिटबाट काजलकुमारी देवीको आँखामा नीलडाम

श्रीमान्सँगै सौताले पनि कुट्न थालिन् । तीनपटक त श्रीमान्ले झुक्याएर गर्भपतन गराइदिए । पहिलो सन्तान हुँदा त ‘मरेको भनेर’ बच्चाको अनुहारसमेत देखाएनन् । बच्चा फालेको वा मारेको हो थाहा छैन । त्यसपछि गर्भवती हुँदा सात महिनाको बच्चा अप्रेसन गरेर फालियो । त्यसपछि पनि बच्चा फाल्न लगाए । अहिले त परिवार नियोजन गराइएको छ । 

धनुषा जिल्लाको फचहामा हनुमानजीको मन्दिर छ, त्यहाँ ‘बोक्सी लागेको’लाई झारफुक गर्न ल्याइन्छ । विनोदले मलाई त्यहाँ वैशाखमा १० दिन राखे । राति–राति मसानघाटमा लगिन्थ्यो । मेरो हातबाट मसानघाटमा दुई दिन परेवाको बलि दिन लगाए र एक दिन कुम्हर (तरकारी)को बलि दिन लगाए, तर केही भएन । पूजा गर्ने भगताले भने– यसमा बोक्सी छैन । तर, श्रीमान् र सौताले ‘यो बोक्सी नै हो’ भनिरहे । त्यहाँबाट घरमा ल्याएर पनि निरन्तर कुटपिट गरिरहन्थे । 

कुटपिटबाट काजलकुमारी देवीको ढाडमा नीलडाम

गएको ३१ असारको राति त बोक्सी भनेर मर्ने गरी नै कुटपिट गरियो । शरीरमा नीलडाम नभएको ठाउँ रहेन । ‘तिमी डायन हौ, फाँसी लगाएर मारिदिन्छु’ भन्दै हनुमानजीको पूजा गर्न थालेपछि उम्किएर भागेँ । जिल्ला प्रहरीमा सबै घटनाक्रम बताएँ । तर, प्रहरीले ‘बोक्सी आरोप लगाएको भनेपछि श्रीमान्लाई मुद्दा चल्छ, छलफलपछि मात्र त्यो उजुरी दिनू’ भन्यो । त्यसपछि कुटपिटको निवेदन दिएँ । साउन ४ गते प्रहरीमा छलफल भयो । दिनदिनैको यातना खेप्नुभन्दा विनोदसँग बस्दिनँ, पिपरामै बसेर कमाएर खान्छु, मलाई पैसा दिइयोस् भनेँ । मेरो हक चाहियो भनेँ ।

कुटपिटबाट काजलकुमारी देवीको पाखुरामा नीलडाम

प्रहरीले छलफल गर्न बाहिर पठायो, बाहिर केही गरिखान क्षतिपूर्तिस्वरूप पैसा दिने भने । मैले पनि हुन्छ भनेँ । तर, बाहिरै लेख्ने मान्छे (लेखनदास) बोलाएर कागज बनाएर मलाई औँठाछाप लगाउन लगाए । मैले अघि भएको सहमतिअनुसार पैसाको कागज भनेर छाप लगाएँ । अनि रिता दिदी (वडासदस्य)सँगै उहाँको घर फर्केँ । घर आएर रिता दिदीका छोराले कागज पढेर सुनाएपछि मात्र मलाई धोका दिएर कागजमा सही गराएको थाहा भयो । त्यसमा श्रीमान्सँग मेरो सम्बन्ध नरहने, अंशमा हक पनि नलाग्ने र गाउँ छाडेर जानुपर्ने लेखिएको रहेछ । पीडामाथि झन् ठूलो पीडा दिए, ठूलो अन्याय भयो ममाथि । मसँग न नेपाली नागरिकता छ, न विवाह दर्ता । गाउँ छाडेर कहाँ जाउँ ? मलाई न्याय चाहियो ।