१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १७ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण १७ बुधबार १५:४३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुदूरपश्चिममा एक हजार ६ सयमा डेंगु संक्रमण, तीनको मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण १७ बुधबार १५:४३:oo

सुदूरपश्चिम प्रदेशमा डेंगुबाट एक हजार ६ सयभन्दा बढी संक्रमित भएका छन्। सन् २०२२ र २०२३ मा गरेर एक हजार ६ सय १४ जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले जनाएको छ।  

यस प्रदेशमा सन् २०२३ को सुरुवातदेखि हालसम्म तीन सय २५ जनामा संक्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। 

उनका अनुसार सबैभन्दा बढी पहाडी जिल्ला दार्चुलामा एक सय ९१ जनामा संक्रमण पुष्टि भइसकेको छ। यस्तै कञ्चनपुरमा ५७, अछाममा ३१, कैलालीमा २४, बझाङमा ६, बैतडीमा पाँच, डोटीमा पाँच, बाजुरामा चार र डडेल्धुरामा दुईजनामा संक्रमण देखिएको हो। संक्रमणका कारण यस वर्ष मृत्यु भने शून्य छ।

यसअघि गत वर्ष यस प्रदेशमा एक हजार दुई सय ८९ जनामा संक्रमण देखिएकामा तीनजनाको मृत्यु भएको थियो। लामखुट्टेको टोकाइबाट हुने डेंगु गर्मी र बर्सातकाे समयमा हुने भएकाले बिरामीको संख्या बढ्दै गएको जोशीले बताए। 

जोखिम कम गर्न निर्देशनालयले प्राविधिक सहजीकरण, किट आपूर्ति र बिरामी व्यवस्थापनमा सहयोग गर्ने गरेको छ। स्थानीय तहहरूले उक्त रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान  सञ्चालन गरिरहेका जोशीले बताए।   

तराईका जिल्लामा बढी हुने डेंगु संक्रमण पछिल्लो समय पहाडमा पनि फैलिँदै गएको छ।  निर्देशनालयको तथ्यांकले पहाडी जिल्लामा पनि डेंगुको जोखिम बढेको देखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। 

तराईबाट लामखुट्टे पहाड उक्लिएकाले पहाडमा पनि जोखिम बढेको छ। उनले भने, ‘लामखुट्टे पहाडमा पनि देखिन थालेपछि पहाडी जिल्लामा पनि संक्रमण बढ्दै गएको छ, पहाडी जिल्लामा पनि संक्रमितलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था छ।’

बर्सातमा दैनिक रूपमा डेंगुका बिरामी बढ्दै गएपछि प्रदेशभरि डेंगु संक्रमण फैलाउने लामखुट्टे नष्ट गर्ने र सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ। डेंगु भएमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेंगुका लक्षण देखापर्ने गर्दछन्।

यसका साथै गम्भीर प्रकृतिको डेंगु संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट तथा खुट्टा सुन्निनेजस्ता लक्षण देखापर्ने निर्देशनालयले जनाएको छ। रासस