१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o८:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

अवैध बालगृह सञ्चालकबाट बालिकामाथि निरन्तर यौन दुर्व्यवहार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:४१:oo

उच्च शिक्षा दिने प्रलोभनमा ल्याइएका बालिकामाथि बालगृह सञ्चालकले यौन दुर्व्यवहार गरेको खुलेको छ । घटनामा संलग्न मनाङका ५५ वर्षीय सोनाम ग्यात्से घले (लामा धुन्डुप) लाई प्रहरीले पक्राउ गरेको छ । यस्तै, बालगृहमा राखिएका ५६ बालिकालाई उद्धार गरिएको छ ।

बालिकामाथि यौन दुर्व्यवहार भएको सूचनापछि राष्ट्रिय बाल परिषद्को समन्वयमा प्रहरी वृत्त स्वम्भूले बुधबार बालगृहमा छापा मारेको थियो । सोही क्रममा घलेलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध ११ बालिकाले यौन दुर्व्यवहार भएको भन्दै प्रहरीमा जाहेरी दिएका छन् । उजुरी दिने बालिका ११ देखि १४ वर्ष उमेर समूहका छन् । घलेविरुद्ध काठमाडौं जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको छ । जिल्ला प्रहरीपरिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले यौन दुर्व्यवहार गरेको अभियोगमा बालगृह सञ्चालक पक्राउ परेको जानकारी दिए । ‘यौन दुर्व्यवहार गरेको अभियोगमा बालगृह सञ्चालक पक्राउ परेका छन् । उनीविरुद्ध ११ बालिकाको जाहेरी दर्ता भएको छ । अनुसन्धानका लागि अदालतले पाँच दिनको म्याद दिएको छ । घटनामा सूक्ष्म अनुसन्धान जारी छ,’ उनले भने ।

प्रहरीका अनुसार घलेले अनाथ बालबालिकालाई उच्च शिक्षा दिने उद्देश्यले स्वयम्भूमा ४ पुस ०७० मा ‘स्नो मञ्जुश्री स्कुल’ नामक कम्पनी कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरेका थिए । सोही कम्पनीको नाममा उनले स्वयम्भूस्थित आनन्दकुटी विद्यालयपरिसरमा बालगृह खोलेका थिए । बालगृहमा राख्न उनले मनाङ, लमजुङ, मकवानपुरलगायत जिल्लाबाट बालबालिका ल्याउने गरेका थिए । बालबालिकाको शिक्षादीक्षाका लागि भनेर विभिन्न विदेशी दातृ निकायबाट रकम संकलन गर्थे । र, सबै बालकालिकालाई परिसरभित्रै रहेको आनन्दकुटीमा भर्ना गरेका थिए । बालक र बालिकालाई छुट्टाछुट्टै कोठामा राखेका थिए ।

जब रात पर्थ्यो, घले बालिका बस्ने कोठामा छिर्थे । कपडा खोलेर नांगिन्थे । र, उनले बालिकाहरूलाई पनि त्यसै गर्न भन्थे । त्योसँगै उनले बालिकाको शरीर छुने, चलाउने पनि गर्दैै आएको प्रहरीले जनाएको छ । घलेको हर्कतबारे बालिकाहरूले उनकी श्रीमतीलाई पनि पटक–पटक भनेका थिए । तर, घलेको हर्कत रोकिएको थिएन । हदै भएपछि गत मंगलबार पीडित बालिकाहरूले होस्टेलमा आएका एक विदेशी दातालाई यौन दुर्व्यवहारमा परेको बताएका थिए । दाताले बालिकाको सन्देश प्रहरी कार्यालयमा पुर्‍याएका थिए । त्यसपछि मात्रै घलेको कर्तुत बाहिरिएको थियो । 

राष्ट्रिय बाल परिषद्की अधिकृत नमुना भुसालले घलेले दिएको पीडा व्यक्त गर्न नसकेर पीडितमध्येकी एक बालिका बेहोस नै भएको बताइन् । ‘उजुरी परेपछि हामी बालगृह पुग्यौँ । पीडितसँग सोधपुछ गर्‍यौँ । ११ बालिकाले पीडा सुनाए । जसमध्ये एक बालिका पीडा व्यक्त गर्न नसकेर बेहोस भइन् । यसैबाट बुझिन्छ कि  घलेले बालिकाहरूलाई कुन हदसम्म गिरेर यौन दुर्व्यवहार गर्दा रहेछन्,’ उनले भनिन् ।

परिषद्का अनुसार घलेले सञ्चालन गरेको बालगृहसमेत अवैध हो । उनको बालगृह सञ्चालनका लागि स्थानीय तहसँग स्वीकृति लिएका छैनन्, न परिषद्सँगै उनले बालगृह सञ्चालनका लागि अनुमति लिएका छन् । उनले वर्षौंदेखि कम्पनीको नाममा दर्ता भएको फर्मबाट बालगृह सञ्चालन गर्दै आएको देखिएको परिषद्की अधिकृत भुसालले बताइन् । ‘घलेले सञ्चालन गरेको बालगृहले कानुनी मापदण्ड उल्लंघन गरेको छ नै, बालगृह सञ्चालनका लागि कतैबाट पनि स्वीकृति लिइएको छैन । उनले वर्षौंदेखि अवैध रूपमा बालगृह सञ्चालन गर्दै आएको देखिन्छ,’ उनले भनिन् । परिषद्का अनुसार बालगृहमा बालक पनि छन् । उनीहरूलाई अहिले सोही गृहमा राखिएको छ । बालिकाहरूलाई भने उद्धार गरिएको छ । 

ad
ad