१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o९:३९:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

१० वर्षदेखि मेसीलाई पछ्याएका बेकह्याम

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:३९:oo

साउदी अरेबियाको प्रो लिगबाट विश्व कीर्तिमान रकमको प्रस्ताव आउँदा पनि मेसीले आफ्ना सन्तानको भविष्य सुरक्षित बनाउन अमेरिकाको मियामी क्लबलाई रोजे

वर्तमान समयकै महान् फुटबलर लियोनल मेसी अमेरिकन सकर लिगमा पुगेका छन् । यसै सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी) छाड्दै उनी इन्टर मियामीसँग आबद्ध भएका हुन् । मियामीमा इंग्लिस फुटबलकै आइकोनिक डेभिड बेकह्यामको लगानी छ । अर्जेन्टिनी विश्व च्याम्पियन कप्तान भित्रिएपछि मियामीले लगातार दुई खेलमा जित निकालेको छ । यसअघि मियामीले जित निकाल्न सकेको थिएन । अमेरिकामा पुगेलगत्तै मेसीले आफ्नो जादुमयी खेलको छनक मियामीमा देखाएका छन् । उनले तीन गोल मात्र गरेका छैनन्, एक असिस्ट पनि गरेका छन् । बेकह्यामले अर्जेटाइन खेलाडी भित्र्याउने सार्थकता पूरा गरेका छन् । मेसी नै किन मियामीलाई आवश्यकता पर्‍यो ? 

फुटबल करिअरकै उत्तराद्र्धमा रहेका मेसीले पनि मियामी माया गर्नुको कारण के थियो ? यी प्रश्नका उत्तर अहिले बिस्तारै बाहिर निस्किरहेका छन् । उनलाई साउदी अरेबियन प्रो लिगअन्तर्गत अल हिलालले विश्व कीर्तिमान रकम प्रस्ताव नपठाएको होइन । साउदी क्लबमा जाँदा मेसी यति मालामाल हुन्थे कि उनलाई सर्वाधिक कमाइ गर्ने खेलाडीमा कसैले पनि भेट्टाउन सक्दैनथे । यद्यपि, फ्रान्सका केलियन एम्बाप्पे र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसमेत मेसीको वार्षिक कमाइमा फिक्का पर्थे । तर, मेसी करोडौँ मिलियन डलरको पछि लागेनन् । उनले आँखा चिम्लिँदै मियामीसँग सम्बन्ध गाँसे । 

जुन वेला मियामी आउने स्वयं मेसीले घोषणा गरेका थिए, सबैभन्दा धेरै खुसी बेकह्याम नै भए । बेकह्यामले जीवनकै महत्वपूर्ण सपनामध्ये एक पूरा हुँदा निःशब्द नै भएको बताए । मियामीबाट डेब्यु खेलमै मेसीले गोल गरेको क्षणमा बेकह्याम भिआइपी प्यारापिटमा भावुक बने । मैदानबाट फर्किरहेका मेसीलाई अँगालो हाल्दा बेकह्यामले आँसु लुकाउन सकेनन् ।

सन् २०१४ मा इन्टर मियामीमा व्यवस्थापकीय रूपमा प्रवेश गरेपछि बेकह्यामले अमेरिकामा फुटबलको क्रेज बढाउन लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई एकैसाथ अनुबन्ध गर्ने घोषणा गरेका थिए 

अन्तर्राष्ट्रिय मिडियाहरूले त्यो क्षणलाई मीठो तरिकाले कैद गर्न सफल भए । मियामीका प्रमुख लगानीकर्ता बेकह्याम किन भावुक बने ? सन् २०१४ मा फुटबल करिअर समाप्त गरेका बेकह्याम मियामीमा व्यवस्थापकीय रूपमा प्रवेश गरेका थिए । अमेरिकामा फुटबलको क्रेज बढाउन चर्चित खेलाडीको आवश्यकता पर्ने उनलाई राम्रोसँग थाहा थियो । बेकह्यामले सुरुदेखि नै मेसी र रोनाल्डोलाई एकैसाथ अनुबन्ध गर्न योजना बनाए । केही वर्षअगाडि बेकह्यामले भनेका थिए, ‘म मियामीमा मेसी र रोनाल्डोलाई एकैसाथ खेलाउनेछु ।’ बेकह्यामको यो टिप्पणीलाई सबैले दिवास्वप्नका रूपमा दिए । 

आलोचकहरूले भनेका थिए, ‘बेकह्यामको सपना यो युगमा पूरा हुन नै सक्दैन ।’ फुटबल जगत्मा समानान्तर रूपमा मेसी र रोनाल्डोको प्रदर्शन उत्कर्षमा थियो । यस्तो लाग्थ्यो कि मेसी र रोनाल्डोले तत्काल अनुबन्धित क्लबबाट सन्न्यास लिनेछन् । यस कारण पनि यी दुवै खेलाडी मियामीमा जान नसक्ने अनुमान गरिएको थियो । तर, प्रत्येक दिनको नयाँ बिहानीसँगै सकारात्मक ऊर्जा र सन्देश लिएर आउँछ भनेझैँ मेसी र रोनाल्डोले स्पेनिस क्लब नै छाडे । नदीका दुई किनारामा उभिएका यी दुवै फुटबलर पछिल्लो समय फरक–फरक क्लबमा लागे । 

मेसी पिएसजी र रोनाल्डो म्यानचेस्टर युनाइटेडसँग अनुबन्ध भएपछि बेकह्यामले १० वर्षअघि देखेको सपना ब्युँतिन लागेको महसुस गरे । संयोग कस्तो रह्यो भने बेकह्यामले आफ्नो फुटबल करिअरमा पिएसजी र युनाइटेडबाट खेलेका थिए । अझ बेकह्यामलाई अहिलेसम्म पनि युनाइटेडका समर्थकले महान् खेलाडीकै रूपमा लिने गर्छन् । 

रोनाल्डो धेरै आर्थिक लाभ लिने उद्देश्यका साथ साउदी क्लब अल नासरमा आबद्ध भए । त्यही वेला नै मेसीले पिएसजीमा थप नवीकरण नगर्ने जनाए । यही मौकामा बेकह्याम मेसीसँग निरन्तर संवादमा रहे । अन्ततः उनले मेसीलाई फकाउन सफल भए । ‘१० वर्षअगाडिको सपना पूरा हुँदा निःशब्द भएको छु,’ बेकह्यामले शुक्रबार ब्रिटिस मिडियालाई दिएको एक अन्तर्वार्तामा भनेका छन्, ‘सबैले मलाई पागल भनेका थिए, मेसी कुनै पनि हालतमा मियामी आउन नसक्ने बताएका थिए, तर सपनाको पछाडि लाग्दा एक दिन अवश्य पूरा हुँदो रहेछ ।’ 

जापानमा वार्ता
मेसीले मियामीमा आउने कुरा सामान्य रूपमा चलाएका थिए । यी दुवैबीचको सम्बन्ध निकै राम्रो छ । केवल उनीहरूले सम्बन्ध बाहिर दुनियाँमा नखुलाएको मात्र हो । सुरुमा मेसीले नै बेकह्यामलाई फोन गरेका रहेछन् । बेकह्याम भन्छन्, ‘जब मैले मेसीको फोन पाएँ, त्यसवेला यस्तो लागेको थियो कि निकै तनावबीच ओल्ड ट्राफोर्ड छाडेको जस्तै लागेको थियो ।’ अर्जेन्टिनी खेलाडीले निकै सरल रूपमा मियामी आउने बताएका रहेछन् । यसमा के किसिमको सम्झौता हुने ? कति पारिश्रमिक लिने खासै कुराकानी नै भएन । फोनवार्तामा केवल मेसीले मियामी आउने पक्कापक्की बेकह्यामलाई गरेका थिए । ‘संसारकै उत्कृष्ट खेलाडीलाई अनुबन्ध गर्न पाउँदाको क्षणको अनुभव बताउन सक्ने अवस्थामै छैन,’ ४८ वर्षीय बेकह्यामले भने, ‘मैले यो कुरा श्रीमतीलाई सुनाएको थिएँ, उनी पनि एक दशकअगाडिको योजना सफल हुन लाग्दा निकै भावुक बनिन् ।’ बेकह्याम जापानमा रहँदा मेसीले फोन गरेका थिए । 

बिहानको पाँच बजे मेसीको कल
बेकह्याम परिवारका साथ जापानमा एक साताको भ्रमणमा थिए । एकाबिहानै बेकह्यामको मोबाइल घन्टी बज्यो । मोबाइल साइलेन्समा थियो । भिक्टोरियाले भाइब्रेसन भइरहँदा बेकह्यामलाई फोन दिइन् । फोनमा ‘लियो मेसी’ नाम देख्दा बेकह्यामको होसहवास नै उड्यो । तत्कालै श्रीमती भिक्टोरियाले बेकह्यामलाई के भयो भनी प्रश्न गरिन् । बेकह्याम केही बोलेनन् । उनी केवल टोलाएर बसे । बेकह्याम भन्छन्, ‘जब मैले फोनमा लियो मेसीको नाम देखेँ, त्यो वेला पत्याउन नै सकिनँ, उनीसँग फोनमा वार्ता गरेँ ।’ बेकह्याम र मेसीबीचको फोनवार्ता भएको समय बिहानको पाँच बजेको थियो । 

‘बिहान–बिहानै मेसीले मलाई खुसी पार्ने सन्देश सुनाए, उनले मियामी आउने बताए,’ बेकह्याम भन्छन्, ‘हामी दुवैले एक–अर्कालाई बधाई दियाैँ ।’ बेकह्यामले मेसीको निर्णयलाई आफूसँगै तुलना गरेका छन् । मेसी आर्थिक लाभभन्दा पनि अमेरिकामा फुटबल कल्चर विकास गर्नका लागि आएको बेकह्यामको भनाइ छ । सन् २००७ मा बेकह्याम युरोपियन फुटबल चटक्कै छाडेर एलए ग्यालेक्सीमा अनुबन्ध भएका थिए । त्यसवेला उनी रियल म्याड्रिडमा अनुबन्ध थिए । ग्यालेक्सीले बेकह्यामलाई २५ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । त्यसवेला बेकह्याममाथि कीर्तिमानी रकम खर्चन जो कुनै पनि युरोपियन क्लब तयार थिए । तर, उनी पनि अमेरिकाको फुटबललाई विश्वसामु प्रस्तुत गर्न ग्यालेक्सीसँग अनुबन्धित भए । 

मेसी परिवारको अमेरिका मोह

मेसी अमेरिका आउनुपछाडि परिवारको दबाब भएको एजेन्सीहरू मान्छन् । मेसीकी श्रीमती एन्टोनेला रोकुजा युरोपियन लाइफ स्टाइलबाट दिक्क भइसकेकी थिइन् । बार्सिलोनामा १७ वर्ष बिताउँदा आधाजसो समय रोकुजाले पनि स्पेनमै बिताएकी थिइन् । पिएसजीमा मेसी र उनका परिवारलाई भाषाको समस्या देखियो । फेरि स्पेनको जीवनशैली भर्खर छाडेका मेसी र रोकुजालाई फ्रान्समा घुलमिल हुन खासै समय लागेन । पिएसजीमा भनेको जस्तो केही नभएपछि मेसीले पेरिस छाडेका हुन् । साउदी अरेबियामा आर्थिक रूपमा सबल हुने भए पनि त्यहाँको मुस्लिम धर्मअनुसारको जीवनशैली अपनाउन नसक्ने रोकुजाले बताएकी थिइन् । अमेरिकाको शैलीसँग अभ्यस्त भएकी रोकुजाले त्यहीँकै चर्चित क्लबमा जाने सुझाव मेसीलाई दिइन् । मेसीले पनि बेकह्यामको प्रस्तावलाई सहजै स्वीकार गरे । अर्को पक्ष भनेको रेकुजाले आफ्ना सन्तानलाई अमेरिकामै हुर्काउन चाहन्छिन् । यसले पनि मेसी मियामीमा पुगेको एजेन्सीहरूको भनाइ छ । – एजेन्सीको सहयोगमा

ad
ad