१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
कैलालीमा सञ्चालित राष्ट्रिय गौरवको रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको बाँध । फाइल तस्बिर
Invalid date format o८:o८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ठूला आयोजनाको बजेट खर्च न्यून : कैलालीमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनामा बजेट खर्च गर्न सकेनन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:o८:oo

निर्माणमा भइरहेको ढिलाइले कैलालीमा सञ्चालित राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गत आर्थिक वर्षमा न्यून बजेट खर्च गरेको छ । आयोजनाले गत वर्ष ०८९/८० मा पुँजीगततर्फको एक अर्ब एक करोड ८७ लाख रुपैयाँ खर्च गर्न सकेन ।

रानीजमराका लागि दुई अर्ब ८४ करोड ८२ लाख बजेट विनियोजन भए पनि एक अर्ब ८२ करोड ९४ लाख रुपैयाँ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीले जनाएको छ । जुन कुल बजेटको ६४.२३ प्रतिशत हो । चिसापानीस्थित कर्णाली नदीमा आयोजनाको बाँध निर्माणको काम पूरा भए पनि नहर निर्माणको कामले तीव्रता पाउन सकेको छैन । निर्माणमा भएको ढिलाइले आयोजनाको अवधि लम्बिँदै गएको छ । 

रानीजमराकै कृषितर्फ ६९ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा ३० लाख ८१ हजार (४४.६६ प्रतिशत) मात्र खर्च भएको छ । राष्ट्रिय गौरवको आयोजना रानीजमराजस्तै यहाँका विकासका कतिपय ठूला आयोजनाहरूको गत वर्षको बजेट खर्च न्यून छ । 

मोहना पुल–अत्तरिया सडक योजनाको खर्च ६०.६५ प्रतिशत मात्र छ । योजनाको आठ करोड २० लाख बजेटमध्ये चार करोड ९७ लाख रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । योजनाअन्तर्गत ६ लेन सडक निर्माणको काम पूरा भएको छ भने तीनवटा पुल निर्माणको काम भइरहेको छ । निर्माण अवधि सकिएर म्याद थप भए पनि पुल निर्माणको कामले गति लिन नसक्दा बजेट खर्च पनि कम भएको हो ।

दुई अर्ब १८ करोड ७४ लाख बजेट पाएको क्षेत्रीय आयोजना कार्यान्वयन एकाइले ९८ करोड ७४ लाख (४५.१४ प्रतिशत) मात्र खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक नैनसिंह साउदले जानकारी दिए । एकाइले क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत कैलाली र कञ्चनपुरका चारवटा नगरमा सडकलगायत योजना निर्माण भइरहेका छन् । तर, योजनाहरूको काम सुस्त हुँदा गत वर्ष एक अर्ब २० करोड रुपैयाँ खर्च हुन सकेन ।

त्यस्तै, सघन सहरी विकास कार्यक्रम कार्यान्वयन गरिरहेको संघीय आयोजना कार्यान्वयन एकाइले ७५ करोड ३१ लाख ७५ हजारमध्ये ३३ करोड ३९ लाख ७० हजार (४४.३४ प्रतिशत) खर्च गरेको छ । सघन सहरीअन्तर्गत पनि सडकका योजना निर्माण भइरहेका छन् । स्थानीय पूर्वाधार विकास आयोजनाले २० करोड साढे १२ लाख बजेटमध्ये २९ प्रतिशत अर्थात् पाँच करोड ८३ लाख मात्र खर्च गरेको छ । आयोजनाले झोलुंगे पुलका योजना कार्यान्वयन गरिरहेको छ ।

राष्ट्रिय गौरवको हुलाकी राजमार्गले भने शतप्रतिशत बजेट खर्च गरेको कोष नियन्त्रक साउदले जानकारी दिए । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार राष्ट्रिय गौरवकै राष्ट्रपति चुरे कार्यक्रमले करिब ९५ प्रतिशत बजेट खर्च गरेको छ । त्यस्तै, भारतीय एक्जिम बैंकको ऋण सहयोगमा सञ्चालित सहजपुर–बोगटान–दीपायल सडक योजनाले पनि पूरै बजेट खर्च गरेको छ ।