Skip This
सपना अमेरिकाको, श्रीलंका र जाम्बियामा बन्धक 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ९ मंगलबार
  • Saturday, 27 July, 2024
नवराज मैनाली काठमाडाैं
२o८o श्रावण ९ मंगलबार o८:५o:oo
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सपना अमेरिकाको, श्रीलंका र जाम्बियामा बन्धक 

Read Time : > 4 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण ९ मंगलबार o८:५o:oo

अमेरिका पठाउने सपना बाँडेर दर्जनौँ नेपाली युवालाई विभिन्न देशमा पुर्‍याएर फिरौती असुल्ने गल्फ खेलाडी पक्राउ 

दाङका सञ्जय शर्मा (नाम परिवर्तन) क्यानडाको रंगीन सपना बोकेर १६ जेठ ०७९ मा थाइल्यान्ड उड्छन् । थाइल्यान्ड हुँदै उनलाई क्यानडा लैजाने आश्वासन दिइएको हुन्छ । त्यसका लागि दलालले ३६ लाख लाग्ने बताएका हुन्छन् । १२ कक्षा पढेर बेरोजगार रहेका उनी क्यानडा पुग्न सके आरामदायी जीवन बिताउने सपनामा ऋण गरेर भए पनि त्यति पैसा तिर्न तयार हुन्छन् । दुईपटक गरेर नेपालमै २० लाख २४ हजार तिरेपछि उनलाई थाइल्यान्ड लगिएको थियो । 

सुरुमा मेक्सिको लैजाने भन्दै थाइल्यान्डमा एक महिना राखिन्छ । त्यसपछि प्रक्रिया नमिलेको भन्दै लाओस हुँदै फिलिपिन्स लगिन्छ । त्यहाँबाट जाम्बियाको भिसा प्रक्रिया अघि बढेको जानकारी दिइन्छ । तर, काम हुँदैन । क्यानडाका लागि भनेर नेपालबाट उडेका उनको दक्षिणपूर्वी एसियाली देशमा तीन महिना बित्छ । दलालहरूले आफूलाई ठग्न खोजेको आशंका उनलाई हुन्छ । 

अमेरिकामा मानवतस्करीको अवस्था डरलाग्दो छ  : एसएसपी जीवनकुमार श्रेष्ठ निर्देशक, मानव बेचबिखन अनुसन्धान ब्युरो
अमेरिका लैजाने भन्दै विदेशमा पुर्‍याएर बन्धक बनाई लाखौँ असुलेको घटनामा पाँच उजुरी परेका छन् । अमेरिका पुर्‍याउने लोभलालचमा मानवतस्करी र ओसारपसारका घटना व्यापक छन् । थोरैले मात्र प्रहरीमा उजुरी गर्नुहुन्छ । ठूलो मिहिनेतपछि हामीले यस्तो गिरोहका एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालेका छौँ । अमेरिका जान दलालको विश्वासमा परेका धेरै नेपालीहरू अहिले पनि विभिन्न देशमा समस्यामा परेका छन् ।

तर, विश्वासमा पारी उनलाई श्रीलंका लगिन्छ । श्रीलंकामा २८ दिन बस्दा पनि अर्काे देशको भिसा लाग्दैन । त्यसपछि दलालहरू एकाएक सम्पर्कविहीन हुन्छन् । पछि सोही गिरोहका अर्का एक दलालले उनलाई ह्वाट्सएपमा फोन गरी भन्छन्– भारत जानु त्यहाँबाट भिसा लाग्छ । लाखौँ सिध्याइसकेकाले उनी त्यत्तिकै स्वदेश फर्कन सक्दैनन् । दलालकै विश्वासमा पर्छन् । नयाँदिल्लीको पहाडगन्जको होटेलमा राखेर विश्वासमा पारिन्छ । पछि क्यानडा होइन, अब अमेरिका पठाउने भन्दै दलालले काठमाडौं बोलाउँछन् । 

काठमाडौैंको नयाँ बसपार्कको एक गेस्ट हाउसमा बसेर सञ्जय अमेरिकाको सपना देख्न थाल्छन् । त्यसका लागि उनीसँग थप १० लाख मागिएको हुन्छ । त्यसमध्ये एक लाख नयाँ बसपार्कको होटेलको खर्चबापत हुन्छ । अमेरिका जाने सपनामा परिवारलाई ऋण गर्न लगाएर १० लाख रुपैयाँ दलालमध्येका एक कमल तामाङको खातामा हालिदिन्छन् । 

१० लाख बुझाएपछि २८ माघ ०७९ मा उनी भिजिट भिसामा दुबई उड्छन् । दुबईबाट टर्की हुँदै अमेरिका पठाइदिने आश्वासन दिइएको हुन्छ । तर, दुबईमा दुई महिना बस्दा पनि कुनै काम हुँदैन । त्यहाँ सुरुमै उनको पासपोर्टलगायत कागजपत्र नियन्त्रणमा लिइएको थियो । पछि नेपाल फर्कन्छुभन्दा पनि पासपोर्ट थिएन, दलालहरूले थप पाँच लाख मागिरहेका थिए, तर उनी पैसा तिर्न नसक्ने अवस्थामा पुगिसकेका थिए । त्यहाँ उनलाई बन्धक बनाएर राखिएको थियो । ‘पासपोर्ट फिर्ता लिन पनि दलालहरूलाई एक हजार डलर तिर्नुपर्‍यो,’ उनले प्रहरीसँग भनेका छन्, ‘पाकिस्तानी समूहलाई एक हजार डलर तिरेपछि बल्ल पासपोर्ट दिए, त्यसपछि घरबाट टिकट काट्न लगाएर दिल्ली हुँदै नेपाल आइपुगे ।’ 

गत १४ चैतमा उनी विभिन्न देश पुगेर अनेक हन्डर खाँदै नेपाल आइपुगेका हुन् । नेपाल आएयता कुनै पनि दलाल उनको सम्पर्कमा आएका छैनन् । अमेरिका र क्यानडाको सपनामा उनले ३० लाख ५५ हजार गुमाए । पैसा मात्र गुमेन र एक वर्षको अवधिमा उनले अनेक यातना भोगे । विभिन्न देशमा पुगेर बन्धकसमेत बने । आफूलाई यसरी विदेश पुर्‍याएर बन्धक बनाउनेविरुद्ध कारबाहीको माग गरी उनले दुई साताअघि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा अनुसन्धान गरी ब्युरोले आइतबार कास्कीको पोखरा–२७ घर भई काठमाडौं बस्ने कमल तामाङलाई पक्राउ गरेको छ । 

नेपाली युवाहरूलाई अमेरिकाको सपना देखाएर मानव बेचबिखन तथा ओसारपसार गर्ने गिरोहका एक प्रमुख सदस्य भएको ब्युरोका एसएसपी जीवनकुमार श्रेष्ठ बताउँछन् । उनलाई पक्राउ गरी गिरोहमाथि विस्तृत अनुसन्धान सुरु गरिएको उनको भनाइ छ । ‘पक्राउ परेका तामाङविरुद्ध हालसम्म चारजनाले जाहेरी दिएका छन्,’ श्रेष्ठले भने, ‘यो समूहले धेरैलाई अमेरिकाको सपना देखाई विभिन्न देश पुर्‍याएर त्यहाँ बन्धक बनाउने तथा फिरौती माग्ने गरेको पाइएको छ । कतिपय पीडित १६ वर्षका समेत छन् ।’ पीडितमध्ये धेरै दाङ, रुकुम र सल्यानका युवा भएको र त्यसमध्ये थोरैले मात्र प्रहरीमा उजुरी गरेको उनको भनाइ छ । पक्राउ परेका तामाङ गल्फ खेलाडीसमेत हुन् । उनले काठमाडौंको जयबागेश्वरीमा एटलान्टिक माइग्रेसन सेन्टर नामको कार्यालय खोलेका छन् । सोही कार्यालयमा विदेश जानेहरूलाई बस्ने सुविधासमेत छ । यो गिरोहमा संलग्न कतिपय व्यक्तिहरू विदेशमा रहेको खुलेको छ । 

फसाउँदै, थप पैसा असुल्दै 
यो समूहबाट पीडित दोस्रो व्यक्ति पोखराका हुन् । उनी एक एयरलाइन्सको टिकट काट्ने काम गर्दथे । तलबले धान्न गाह्रो भएपछि उनी पोखराको पृथ्वीचोकस्थित एक मेनपावर पुगेका थिए । मेनपावरअगाडि चियापसलमा बसिरहेका व्यक्तिसँग उनको भेट हुन्छ । ती व्यक्तिले आफ्ना एक साथी अमेरिका लगेको र उनले अमेरिका लैजान सक्ने बताउँछन् । अमेरिकामा रहेका भनिएका व्यक्तिले उनलाई फेसबुक म्यासेन्जरमा आफैँ फोन गर्छन् । विश्वासमा परेर ती व्यक्ति तिनै दलालको पछि लाग्छन् । उनलाई दुबई हुँदै अमेरिका लैजाने सपना देखाइएको हुन्छ । त्यहीअनुसार १८ माघ ०७९ मा भिजिट भिसामा दुबई पुग्छन् । त्यहाँ हप्तौैँ बस्दा पनि थप प्रक्रिया अघि बढ्दैन । त्यहाँबाट सिंगापुर लगिन्छ । सिंगापुरमा ६ दिन बसेपछि उनीसँग तिर्ने पैसा हुँदैन । आफन्तको सहयोगमा सहयोगमा स्वदेश फर्कन्छन् । विदेशमा रहँदा पैसा थप्न लगाउँदै ३४ लाखभन्दा धेरै तिराइएको उनी बताउँछन् । अहिले दलालहरू सम्पर्कविहीन भएपछि उनी पनि प्रहरीकहाँ पुगेका हुन् । ३४ लाख ५० हजारमध्ये केही पैसा उनले कमल तामाङको बैंक खातामा हालेका थिए । 

यही गिरोहका पीडित अर्का व्यक्ति दाङको घोराहीका हुन् । उनी लामो समय कतार बसेर फर्किएका व्यक्ति हुन् । घोराहीकै एक छिमेकी महिलामार्फत उनी गिरोहसम्म पुगेका थिए । दिल्लीबाट अमेरिका पठाइदिने भन्दै उनलाई सुरुमा दिल्ली र पछि कोलकाता बोलाएर त्यहाँ राखिएको थियो । पछि उनलाई फिलिपिन्स भन्दै एयरपोर्ट पठाइन्छ । तर, विमानस्थलको अध्यागमनले शंकास्पद भन्दै उनलाई फर्काउँछ । पछि दुबई हुँदै पठाउने भन्दै त्यहाँ लगिन्छ । जहाँ करिब दुई महिना बसेपछि नेपाल फर्कन्छन् । उनी पनि दुबईमा पाकिस्तानी समूहलाई एक हजार डलर तिरी आफ्नो पासपोर्ट फिर्ता लिई स्वदेश फर्किएका हुन् । यसरी दलाल समूहले पटक–पटक गरेर उनीसँग ३० लाख ९८ हजार रुपैयाँ थुतेको थियो । चौथो व्यक्तिलाई भारतमा बोलाएर बन्धक बनाइएको थियो । चार वर्ष साउदी अरब तथा चार वर्ष कतारमा मजदुरी गरेर स्वदेश फर्किएका ती युवक अमेरिका जान सके राम्रो कमाइ हुने सपनामा सो समूहको पछि लागेका थिए । तर, कतार र साउदीमा कमाएको ११ लाख रुपैयाँ उनले गुमाए । भारतमा लगेर आफूलाई सो समूहले बन्धक बनाएको बताएका छन् । 

अजरबैजानमा २८ नेपाली थुनामा 
अमेरिका जान हिँडेका २८ जना नेपाली अजरबैजानमा एक महिनादेखि थुनामा छन् । उनीहरूको उद्धार गरिदिन परिवारले प्रहरीदेखि परराष्ट्र मन्त्रालयलाई गुहारेका छन् । अमेरिका मानवतस्करी गर्ने गिरोहले उनीहरूलाई त्यहाँ पुर्‍याई बन्धक बनाएको थियो । बन्धक बनाउने गिरोहले पासपोर्टसमेत लिएर बेपत्ता भएपछि उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकालाई ट्राभल डकुमेन्ट पठाएर नेपाल फर्काउने प्रयास भइरहेको रसियास्थित नेपाली दूतावासले जनाएको छ । नेपाली युवाहरूलाई अजरबैजान पठाउने गिरोहमाथि पनि प्रहरीले छानबिन गरिरहेको छ । 

एकै व्यक्तिले गुमाए एक करोड १८ लाख 
प्रहरीका अनुसार अर्का एक व्यक्तिले अमेरिकाको सपनामा एक करोड १८ लाख गुमाएका छन् । उनलाई अमेरिका लैजाने भन्दै कहिले थाइल्यान्ड, कहिले दुबई तथा कहिले जाम्बिया लगिएको थियो । महिनौ विभिन्न देशमा राखिएपछि उनी स्वदेश फर्किएका हुन् । आफन्तलाई समेत अमेरिका पठाउने सर्तमा उनले पटक–पटक गरेर एक करोड १८ लाख बुझाएका हुन् । पछि दलालहरू सम्पर्कविहीन भएपछि उनी पनि उजुरी लिएर मानव बेचबिखन ब्युरोमा पुगेका छन् । उनको उजुरीमा भने हालसम्म कोही पनि पक्राउ परेका छैनन् ।

अमेरिकाको सपना देखाएर मानवतस्करी र ओसारपसारका घटनामा धेरैपछि हालै मात्र उजुरी आउन थालेको मानव बेचबिखन ब्युरोका एसएसपी श्रेष्ठले बताए । तर, मानवतस्करीसम्बन्धी कानुन नेपालमा नभएको र बेचबिखन तथा ओसारपसारको कानुन पनि प्रस्ट नहुँदा समस्या भएको उनको भनाइ छ । अवैध बाटोबाट लाखौँ खर्च गरेर अमेरिका जान खोज्नेहरू अहिले पनि विभिन्न देशमा अलपत्र परेको र उद्धारको पहल भइरहेको श्रेष्ठले बताए । मेक्सिको, ब्राजिल, अजरबैजान, बेलारुसलगायत देशमा नेपालीहरू अलपत्र परेका छन् । अमेरिका लैजाने भन्दै कतिपयलाई अफ्रिकी देशहरू इथियोपिया तथा घाना पुर्‍याउने गरिएको छ । ती देशमा लगेर बन्धक बनाई थप फिरौती माग्ने गरेको प्रहरी अधिकारी बताउँछन् ।